तिहारमा माइतीलाई स्वागत गर्न आतुर रानीपोखरीलाई कोरोना बाधक!

धनकुमार कार्की
२५ कार्तिक २०७७ १३:३६

काठमाडौँ। चारैतिर कोलाहल र धुवाँधुलोले छपक्कै छोपेको छ। रापोखरीको वरिपरी सानासाना बुट्यानहरु अनि चौरमा गलैचा बिछ्याझैँ लाग्ने हरियो दुबो।

पोखरीमा निलो पानी टलपलाइरहँदा माछाहरु पनि फाटफुट उफ्रँदै छन्। बीचमा ग्रन्थकुट शैलीको सेतो बालगोपालेश्वरको मन्दिर ठडिएको छ । राजधानीको ऐतिहासिक धरोहरमध्येको रानीपोखरीले पुनर्जीवन पाएको छ ।

चारैवटा छेउमा रंगीबिरंगी फूलहरु फुलेर रानीपोखरीको सौन्दर्यतामाथि सुगन्ध दिइरहेको छ। निलो रंगको टिलपिल टल्कीरहेको पानी, पानीमा तैरिएको लेउ अनि लेउ नभएको कञ्चन पानीमा बालगोपालेश्वर मन्दीरको आकृति देख्दा कुन चाँही सक्कली कुन चाँही नक्कली छुट्याउनै गाह्रो।

पश्चिमपट्टिको सडक पेटीमा हिँडिरहेका मानिसहरु टक्क रोकिँदै बारबाट चिहाएर हेरिरहेका थिए। रत्नपार्कपट्टि केही व्यक्तिहरु पार्कमा बसेर त्यहाँका गतिविधि नियालीरहेका थिए।

कोरोनाको जोखिम कायमै रहेका कारण यो वर्ष रानीपोखरीमा भाइटीका लागउने जानकारी अहिलेसम्म आएको छैन, सँधै एक हप्ताअघि नै जानकारी आउथ्यो।’

यस्ता दृष्यहरु आजकल दिनहुँ देखिन्छ रानीपोखरीमा। २०७२ बैशाख १२ गत्तेको महाभूकम्पमा परी अस्तव्यस्त बनेको रानीपोखरी केही दिनअघी प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीले र केपी शर्मा ओलीले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

रानीपोखरी प्रताप मल्लले वि.सं. १७२७ मा बनाएका हुन्। पुत्र वियोगको शोकमा डुबेकी रानीलाई भुलाउन बनाएकाले यसलाई शोकको प्रतीकसमेत मानिन्छ । यहाँ प्रताप मल्लले विभिन्न तीर्थस्थलका जल ल्याएर पोखरी बनाएको इतिहासमा उल्लेख छ ।

रानीपोखरीमा तिहारको भाइटीकामा कुनै सहोदर दिदीबहिनी नहुने दाजुभाइहरूको भावनात्मक सम्बन्धमा भाइटीका लाउने पनि गरिन्छ। बिगतका वर्षहरुमा रानीपोखरीमा भाइटीका लाउनेहरुको भिड नै हुने गर्दथ्यो।

२०७२ पछि भूकम्पले ध्वस्त पारेको रानीपोखरीमा बाहिर भए पनि भाइटीकाको बन्दोबस्त मिलाइएको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाल, काठमाडौँ महानगरपालीकाका मेयर विद्याशुन्दर शाक्यलगायतले उद्घाटनका क्रममा यसपाली भाइटीकामा बालगोपालेश्वरको मन्दीर खुल्ने बताएका थिए। हरेक वर्ष सामूहिक भाइटीका हुँदै आएको रानीपोखरीमा अहिलेसम्म कुनै वर्ष छैन्, जहाँ टीका रोकिएको होस्।

यसपाली तिहारमा नखुल्ने संकेत

प्रत्येक साल भाइटीकामा आफ्ना चेलीहरु नहुनेहरुले रानीपोखरीमा आएर भाइटीका मनाउने गर्दथे। यो वर्ष रानीपोखरीले माइती नपाउने संकेत देखिएको छ।

केही दिनअघी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्दाखेरी यसपाली तिहारमा बालगोपालेश्वरको मन्दिर खुलाउने भनिएको थियो।

विश्व माहामारीको रुपमा रहेको कोरोना भाइरसका कारण यसपाली खुलाउन सम्भव नभएको काठमाडौँ नगरपालीकाकी रत्नपार्क र रानीपोखरी हेर्ने जिम्मेवारी पाएकी रकी रिमालले बताइन्।

उनले यसअघिको वर्षमा जस्तै यस वर्षको भाइटीकाको दिन बालगोपालेश्वरको मन्दीरमा भाइटीका हुने/नहुने महानगरपालिकाबाट कुनै जानकारी आइनसकेको पनि उनले बताइन्।

‘कोरोनाको जोखिम कायमै रहेका कारण यो वर्ष रानीपोखरीमा भाइटीका लागउने जानकारी अहिलेसम्म आएको छैन’, उनले भनिन्,‘सँधै एक हप्ताअघि नै जानकारी आउथ्यो।’

तिहारमा रानीपोखरी खुलाउने बारेमा रानीपोखरीको हेरचार गर्ने कान्छा दाईलाई पनि कुनै जानकारी आएको छैन। उनका अनुसार निर्माण पक्षले रानीपोखरी महानगरपालीकालाई पूर्णरुपमा हस्तान्तरण भइसकेको छैन। औपचारिकता पूरा गर्न हस्तानतरण गरिएको भएपनि अझ केही काम बाँकी रहेको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *