सर्वोच्चको आदेश आफ्नो पक्षमा आएपछि गौतमले व्यक्त गरे आभार

डिसी नेपाल
२६ कार्तिक २०७७ १७:४०

काठमाडौं। नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेको विषयमा परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले उनकै पक्षमा आदेश दिएपछि उनले खुशी व्यक्त गरेका छन्।

उनले यो प्रकरणमा आफूलाई साथ दिनेप्रति आभारसमेत प्रकट गरेका छन्। सर्वोच्चले यसअघि गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन दिएको अन्तरिम आदेश खारेज गर्दै उनलाई मन्त्री हुने बाटो खुला गरेको छ।

नेता गौतमले आफू संविधान, विधि र पद्धतीका पक्षमा दृढ भएर उभिने बताएका छन्।

गौतमको स्टेटमेन्ट

सबैप्रति आभार
राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलास ले खारेज गरेको छ ।

यसबीचमा मप्रति शुभेच्छा र सद्भाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु । मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान कानुन व्यवसायी मित्रहरु प्रति म कृतज्ञ छु ।

वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन । हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए । फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु ।

वामदेव गौतम
उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *