शिक्षाकर्मीका लागि गीता: सिकाउने शैली

कोभिड–१९ को सकसपूर्ण बन्दाबन्दीको अवस्थामा घरमै बस्नुपर्ने परिवेश र नयाँ नयाँ पुस्तक पढ्ने चाहनामा यस पटक सिकाउने शैली पढ्ने मेसो मिल्यो । पुस्तकको नामले मलाई निकै आर्कषण गरेपछि पुस्तकको खोजी गरेँ । पुस्तक पनि सजिलै प्राप्त गरेँ । शिक्षा क्षेत्रमा निरन्तर कलम चलाइरहने खगराज बरालद्वारा लिखित, साङ्ग्रीला बुक्स प्रकाशनद्वारा प्रकाशित, पहिलो संस्करण २०७५ रहेको पुस्तक सिकाउने शैलीअद्योपान्त पढेँ । शिक्षा क्षेत्रको अध्ययन र अनुभवलाई अत्यन्त सरल, सरस भाषाशैलीमा व्यवहार उपयोगी सूक्ष्म विषयवस्तुलाई स्पष्ट चिरफार पारेर पस्किने लेखकप्रति आभार व्यक्त गर्दछु । विभिन्न एकतीस शीर्षकका दुई सय एकचालीस पृष्ठमा फैलिएर शिक्षा क्षेत्रका जुनसुकै पद शिक्षक, निरीक्षक, प्रशिक्षक, नीतिनिर्माता लगायत सबै अभिभावकहरूलाई आआफ्नो कामको साङ्गोपाङ्गो जानकारी दिलाउने पुस्तक हो सिकाउने शैली ।

विद्यालयमा विद्यार्थी भर्ना गराउँदाको सूक्ष्म विवरणदेखि एसइई परीक्षाको नतिजा प्रकाशन गर्दासम्मका चरणमा सफल हुन ध्यान पु¥याउनुपर्ने सतर्कता छर्लङ्ग गरिएका पाइन्छन् । विद्यालयका हेरक कक्षाका प्रत्येक विषयमा सिकाउने शैली स्पष्ट गरिएका छन् । विषयको प्रस्तुतिगत शैलीले सबैलाई उत्प्रेरित गर्दछ । अङ्ग्रेजी शिक्षणको महŒव उल्लेख गर्दै वेद, पुराण र गीताका उपदेशहरू अङ्ग्रेजी माध्यमबाट विश्वभर फररर बुझाउने इच्छा राखेका कक्षा ६ अध्ययनरत गलेश्वर आश्रमका विद्यार्थीको चाहनालाई सलाम गर्न मन लाग्छ ।

हाम्रा समाजमा बालक जन्मदैदेखि कहीं न कहीं बुलिङमा परिरहेका हुन्छन् र हामी पनि त्यो भोगरै आएका हौं भन्दै आफ्नै जीवनका पीडादायी कारुणिक घटना उल्लेख गरेका लेखकले बुलिङकै कारण विद्यार्थी विद्यालय छाड्ने(ड्रपआउट हुने), नियमित उपस्थित नहुने उदाहरण प्रस्तुत गरेका छन् । शिक्षाकर्मीले बुलिङको समस्यामात्र हटाउन सके विद्यायलका आधा समस्या समाधान हुने निश्चित छ ।

विद्यायलमा अध्यापन गरिने विषयहरू विद्यालयले तोक्ने होइन, विषय छनौट गर्न विद्यार्थीहरूलाई नै उनीहरूको रुचिअनुसार दिइनु पर्नेमा लेखकले जोड इिएका छन् । विद्यालय चलाउनका लागि सजिलो हुने विषय विद्यार्थीलाई पढ्न लगाउने परिपाटीले नै देशमा शैक्षिक बेरोजगारको अवस्था आएको विचार व्यक्त गर्दै सबै विषयको महŒव उत्तिकै छ, आफूले जेमा उत्कृष्टता ल्याउन सकिन्छ त्यहीं पढ्ने वातावरण निर्माण गर्न पुस्तकमा सुझाइएको छ । पाठ्यक्रम निर्माण गर्ने प्रक्रिया बारेमा उल्लेख गर्दै प्राविधिक शिक्षालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने र सफल बनाउने उपाय विभिन्न जिल्लाका विद्यालयहरूको अनुगमनको अनुभवबाट उल्लेख गरिएका छन् ।

गणित विषयका सामान्य अवधारण पनि विद्यार्थीले बुझ्न नपाउँदा गणित विषय विद्यार्थीका लागि टाउको दुखाइ भएको छ । शिक्षकले विद्यार्थीको आधारभूत ज्ञानमा विचार नगरी वा गणितीय धारणा व्यावहारिक ढङ्गले नसिकाउँदा सरल र सरस विषय निरस र जटिल बनाइएको विचार व्यक्त गर्दै लेखकले वास्तविक शिक्षकको कक्षा अवलोकनका विभिन्न विषयका उदाहरण प्रस्तुत छन् । ‘स्तर अनुसार सिकाइ’ (पृष्ठ ६८) र ‘पाइको मान सँधै समान’(पृष्ठ ७७) का शीर्षकहरूमा विषयवस्तुलाई कसरी स्पष्ट पार्ने भन्नु कुरा उल्लेख गर्दै यी शीर्षकमा व्यक्त विचार शिक्षकका लागि मन्त्र बाँडिदिएको झैं लाग्दछ ।

रूपन्देही भगलपुरका शिक्षक राम नरेश प्रसाद पालले ‘सजीव र निर्जीव’ अध्यापन गराएको कक्षा, चन्द्र सरले कक्षा १० को विज्ञान विषयको ‘उत्तेजना र प्रतिक्रिया’ बारेको शिक्षण गर्दाको शैली, कालिका माध्यमिक विद्यालय, बुटवलकी डमर कुमारी पुनको ‘ढाड नभएका प्राणीहरूको परिचय’ जस्तै शिक्षण गरिएमा वा ! वा ! शिक्षक भनेर स्वर गुञ्जने निश्चित छ । यस्तै विभिन्न शिक्षकहरूको उत्कृष्ट कक्षाको प्रस्तुति नै पुस्तककै शीर्षक रहेको सिकाउनै शैली रहेको सजिलै अनुमान गर्न सकिन्छ ।

देशका विभिन्न जिल्लाका विद्यालयका कक्षा अवलोकनका क्रममा प्राप्त विलक्षण प्रतिभा युक्त शिक्षकहरूमा रूपन्देहीका रामचन्द्र थापा सिर्जनात्मक तथा अभिव्यक्तिशील कला अन्तर्गत मूर्तिकलाका पारखी, मुस्ताङ मार्फाका सूर्य घताने शिक्षण, गीत, संगीत, नृत्य, चित्रकला, खेलकुद धेरै कलामा विलक्षण, कास्की ढिकुरपोखरी सिर्जना माध्यमिक विद्यालयका बलराम अधिकारी चित्रकला, नृत्यकला, सिलाइबुनाइ, गायन जस्ता विषयमा र घाँसीकुवाकी मसिना वयलकोटी कागजको काम (ओरिगामी) मा विलक्षण प्रतिभा पाइएको उल्लेख छ । देशका धेरै प्रतिभावान शिक्षकहरूको विवरण तयार गर्न र उनीहरूको संरक्षण गर्ने कार्य बाँकी नै रहेकोमा ढिलो गर्न नहुने लेखकको सल्लाह पाइन्छ ।

तालिम कक्षामा प्रश्नपत्र निर्माण गर्ने समूह कार्य दिंदा शिक्षकहरूले साह्रै सजिलो काम भनेर व्यक्त गर्नु भएकामा प्रश्न निर्माण भइसकेपछि प्रश्नमा हुनुपर्ने आवश्यक तालमेल नै नभएको अवस्था (पृष्ठ ३७–४२) छर्लङ्ग बनाइएकोछ । मानौं हजाम कुटाइ छ यहाँ । हजामले कपाल बनाउँदा जति धेरै पिट्छ, उति धेरै सञ्च हुन्छ, प्रस्तुति त्यस्तै मिठास पूर्ण लाग्दछ । आफू प्रशिक्षक हुँदा लागू गरिएको दैनिक सिकाइ परीक्षण अनुशरण गरिरहेमा निरन्तर विद्यार्थी मूल्याङ्कनका लागि उपयोगी हुने अपेक्षा गर्दै शिक्षण गर्दा परिभाषा थुपार्दै निगमन विधिबाट अगाडि बढाउनुभन्दा उदाहरण दिएर आगमन शैलीमा बढाउँदा प्रभावकारी हुने राय छ ।

लेखकले तालिमप्रति शिक्षकहरूको उत्साह कम भएको र तालिम लिनैका लागि मात्र आउने शिक्षकप्रति चासो दिदै तालिमलाई गम्भीरतापूर्वक लिएर कक्षाकोठामा पु¥याउन जोड दिइएको पाइन्छ । धेरैजसो विद्यालयको अवलोकनमा गणित र अङ्ग्रेजी विषय बाहेक अरू विषय एउटै ढङ्गले पढाउने, शिक्षकले पहिले भन्ने त्यसपछि विद्यार्थीलाई भन्न लगाउने, विषय शिक्षण प्रयोजनको कुनै प्रभाव नराख्ने ‘जिरोजिले कसाहारी पहिरालो’ (पृष्ठ–७९) जस्तै अध्यापन गर्ने शिक्षकहरूका लागि गतिलो उर्जा हो पुस्तक सिकाउने शैली ।

शिक्षाशास्त्र अध्ययनमा सिद्धान्त बढी अभ्यास कम हुने गरेको, अभ्यास शिक्षण केवल औपचारिकताका लागि मात्र हुने गरेको, आन्तरिक सुपरिवेक्षकको रायलाई बाह्य सुपरिक्षकले अङ्क प्रदान गर्दा गौणरूपमा लिने गरेकाले शिक्षाशास्त्रकै औचित्य समाप्त हुने सम्भावनामा ध्यान पु¥याउन लेखकले आग्रह गरेका छन् ।

एउटा भौगोलिक परिवेशको शिक्षक अर्को भौगोलिक परिवेशमा गएर अध्यापन गर्दा विद्यालयमा भर्ना हुने विद्यार्थीलाई शिक्षककै परिवेश अनुसारको नाम लेखिदिंँदा पछि गएर अनेकता र आक्रोस समेत ल्याएको अनुभव आफू परीक्षा नियन्त्रक भएर जिम्मेवारी सम्पादन गर्दा अनुभूति भएको उल्लेख गर्दै अङ्ग्रेजीको स्पेलिङ र नेपालीको डिकोले पार्ने असरबारे सम्बेदनशील प्रस्तुति गरिएको छ ।

हामी सभ्य हुँदै जाँदा बाल सुलभ सिकाइ र जिज्ञाशा भुल्दै गएकाछौं । हामी शौचालयको सट्टा प्रयोग हुने शब्द बाथरुम, वासरुम, रेष्टरुम प्रयोग गरेर बालबालिकाहरूलाई शब्द भण्डार सिकाइमा शब्द घटाइरहेकाछौं । जिज्ञासा नै ज्ञानको स्रोत हुँदाहुँदै पनि हाम्रो पुरानो संस्कार र मनोवृत्तिले जिज्ञासा निमोठ्ने गरेको पाइन्छ । बालबालिकाले साञ्चो बोल्छन्, छलछाम जान्दैनन् भन्ने उदाहरण शैक्षिक तालिम केन्द्रको अवलोकन भ्रमणमा आएका विद्यार्थीहरूले होस्टलमा चाहिं महिला र पुरुष एउटै घरमा बस्न किन नहुने ? जिज्ञाशा राखेका, नरहरि सरले छोराको परीक्षाका दिन बिहान हप्काएकाले परीक्षामा बाबुको नाम लेख भनेको प्रश्नमा कट्टा गरिदिएका, लेखकले आफ्नै छोरालाई परीक्षामा के सोधे भन्ने सवालमा सोधेनन् लेख्न मात्र दिए भन्ने जस्ता विभिन्न उदाहरण दिँदै उल्लेख गरेका छन् ।

भाषा र अर्थले बुझाइमा फरक पार्दछ, हरेक शिक्षकले ख्याल राख्न जरुरी उदाहरण दिंदै रूपन्देहीका विद्यार्थीहरूलाई पखला लागेमा के गर्नु पर्छ ? प्रश्नको जवाफमा स्थानीय तराईका विद्यार्थीहरूले मैदान जानु पर्छ भनेका थिए भने अन्य बसाईं आएकाहरूले नून, चिनी, पानी पिउनु पर्छ भनेका थिए । यस सम्बन्धी प्रस्तुति पनि निकै रोचक छ ।

शिक्षक तालिमकेन्द्रको प्रशिक्षणका क्रममा स्वर वर्ण र व्यञ्जन वर्णका बारेमा शिक्षण सन्दर्भमा अङ्ग्रेजीमा स्वर वर्ण कति ? भन्दा ५ र व्यञ्जन कति त ? २१ ओटा भनेर उत्तर आउँदा प्रशिक्षक तिरमिराउनु परेको र प्रशिक्षकले स्वर वर्ण २०, व्यञ्जन वर्ण २४ छन् नि भन्दा सहभागी तिरमिराएको रोचक प्रस्तुति शिक्षाकर्मी सबैले पढ्न अनिवार्य लाग्दछ । नेपालीमा संयुक्त वर्ण कसरी बनेका छन् भन्ने सन्दर्भमा र नेपाली शब्दकोशमा क्षयरोग, त्रिकोण र ज्ञान जस्ता शब्द खोज्दा शिक्षकहरू अलमलिएको प्रसङ्ग निकै रोचक छ । ह वर्णपछि शब्दकोशमा क्ष, त्र, ज्ञ का शब्दहरू नराखिएको होला भन्ने प्रश्नमा शिक्षकहरूमा खासखुस भए पनि शिक्षकहरूले जवाफ दिन नसकेको अवस्थामा वर्ष दिनमा कति, वटा पुस्तक किन्नुहुन्छ ? तपाईंँहरू कतिसँग नेपाली शब्दकोश छ ?भन्ने प्रश्नको जवाफमा सबैले एक स्वरमा शब्दकोश छैन भनेको जवाफ (पृष्ठ १०८) उल्लेख गर्दै नेपाली वर्ण निर्माणमा संयुक्त वर्ण क्ष, त्र र ज्ञ को अवस्था स्पष्ट गरिएको छ ।

शिक्षकहरूले मसिना कुरा पनि सिक्न बाँकी रहनुको कारण सामग्री जोहो नगर्ने ठान्दै सिकर्मी टेकबहादुर भुजेलसँग आफूलाई चाहिने सबै सामग्री आफैंले खरिद गरेर साथमा हुनु, हाम्रा शिक्षकसँग न्यूनतम शैक्षिक सामग्री नहुनु दुःखद् र गम्भीर विचारणीय कुरा हो भन्ने कुरा पुस्तकमा उल्लेख भएको पाइन्छ । सिकाउने शैलीमा शिक्षक स्रोतपूर्ण हुनुपर्नेमा जोडदिंदै शिक्षकले आफूसँग सम्बन्धित ऐन, नियमावली, पाठ्यक्रम, पाठ्यपुस्तक, सन्दर्भ सामग्री जस्ता पुस्तक आफैंले खरिद गरेर अध्ययन गर्दा मात्र स्रोतपूर्ण हुने स्पष्ट धारणा राखिएको छ । शिक्षकमा नै पठन संस्कृति भएन भने कसमा हुने ? पढेर बुझिने र पढ्दा पाइने विषयमा ताजा रहनु पर्ने सुझाव देखिन्छ ।

सामाजिक शिक्षा नपढाउने शिक्षकले धूम्रपानको ख्याल नराखे पनि हुने, नेपाली पढाउनेले मात्र शुद्धाशुद्धि प्रयोग गर्ने भन्ने शिक्षकहरूलाई शाब्दिक औषधि यस पुस्तकमा भेटिन्छ ।

शिक्षक, प्रशिक्षकले पनि सबै जानेका हुँदैनन्, स्रोत खोज्नु पर्छ, स्रोत हामी भित्रै छ भन्ने उदाहरणमा तनहुँकी शिक्षक सिमरानी मियालाई बकर ईद बारेमा प्रशिक्षण गर्न लगाउँदा विलक्षण क्षमता रहेको उल्लेख गर्दै कतिपय शीर्षकमा विद्यार्थीलाई र समुदायका व्यक्तिलाई प्रशिक्षक बनाउन सकिने उपाय सुझाइएको छ ।

तालिमलाई कक्षाकोठामा प्रयोग गरिए नगरिएको बारेमा अवलोकन गर्ने क्रममा म्याग्दी जिल्लाको एक विद्यालयको कक्षा ४ मा नेपाली विषयको शिक्षण गर्ने शिक्षकले राम्रो गर्नु भए पनि के, के कमी कमजोरी रहे भन्ने बारेमा एकपटक यस पुस्तक अध्ययन गर्नु भएमा अन्य कक्षा र विषयका शिक्षकलाई समेत सिकाउने शैली बारेमा धेरै सुधार हुने स्पष्ट छ ।

पुस्तकमा पश्चिम बझाङको चैनपुर र आसपासको भौगोलिक जानकारी, आबाबाट सन्देश पाउने तरिका, विजुली बत्तीको सट्टा टुकी, एटेच बाथरुमको सट्टा कोपराको प्रयोगको जानकारी पनि पुस्तकमा भेट्न सकिन्छ । दुर्गम क्षेत्रमा फलफूल, दूधदही, माछामासु हरेक सामानको अभाव हुन्छ । बझाङमा दूध नतताइ दही बनाउने छुट्टै तरिका र नक्कली बसाई सराई गर्ने कारण थाहा पाउन यस पुस्तक सहयोग गर्दछ । बझाङमा जयराम जोशी जस्ता इमान्दार शिक्षक छन्, कसरी भन्ने थाहा पाउन र बझाङमा राज्यले शैक्षिक क्षेत्रमा गरेको लगानी कास्की जिल्लाको लगानी सरह भए पनि शैक्षिक उपलब्धि दुई अङ्कको प्रतिशतमा पुग्न नसक्नुका कारण पुस्तकको अध्ययनबाट जानकारी पाइन्छ ।

विकटमा रहेका फुटेका गाला, भोको पेटले, खाद्यको चामलमा बस्ने लामो लाइनले पूरै नेपालका विकट गाउँको प्रतिनिधित्व गर्दै परिचय गराएको जस्तो लाग्दछ । दुर्गममा शिक्षकको अभाव, परीक्षा सञ्चलनमा अस्तव्यस्तता र द्वन्द्वकालीन सामाजिक अवस्थाको परिचय समेत यस पुस्तकमा पाइन्छ ।

लेखक आफू परीक्षा नियन्त्रक भएपछि २०६९ सालबाट एसएलसी परीक्षा (हाल एसइई)को नतिजा प्रकाशन भएको केही क्षणमै आ आफ्नो मोबायलबाट नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको हो । मीठो फल दिने वृक्षले नै ढुङ्गाको चोट धेरै सहनु पर्छ भन्ने सन्दर्भ यस कामका लागि लेखकमा लागू भएको देखिन्छ । ठूलो सङ्ख्यामा परीक्षा सञ्चालन, व्यवस्थापन र नतिजा प्रकाशन गर्दा त्रुटि हुन सक्ने भए पनि पुनर्योगका माध्यमबाट सच्चिने हुँदा हतास बन्न हुँदैन भन्ने मार्मिक र कारुणिक उदाहरण दिइएका छन् ।

लेखक आफू पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशक रहेको समयमा पाठ्यक्रम सम्बन्धी गोष्ठीमा सबै क्षेत्रकाहरूले आआफ्नो क्षेत्रका विषय विद्यालयमा समावेश गराउन सुझाएका अझ कानून समावेश नभएर नै देशमा भ्रष्टचार बढेको भन्ने सन्दर्भमा लेखकले पाठ्यक्रम विज्ञहरूको सल्लाहमा विद्यार्थीको आवश्यकता र विश्व परिवेशअनुसार लागूू गरिने, कानून विभिन्न विषयमा समावेश गरेर अध्ययन हुने गरेको र कानूनको अभावमा भ्रष्टाचार बढेको नभई नियम, कानून जान्नेले मिचेर र नियम कानून मिलाएर भ्रष्टचार गरेको जवाफ रहेको छ । बाल विवाहले पुर्याउने क्षति, कक्षा १० अध्ययनरत विद्यार्थीको विद्यालय स्थानान्तरण हुने र नहुने अवस्था स्पष्ट गरिएको छ ।

विद्यालयको परिवर्तन सरकार वा राज्यले गरिदिने होइन, अभिभावकको चाहना बुझेर मङ्गलोदय माध्यमिक विद्यालय, थानकोटका प्रधानाध्यापक लीलानाथ सरले गरे झैं गर्दा सुधार हुने, प्राविधिक शिक्षा सफल बनाउनका लागि सुर्खेत कुनाथरीको जनज्योति माध्यमिक विद्यालयमा पुगेर अवलोकन गर्ने सल्लाह राख्दै सूक्ष्म विषयहरूसमेत उल्लेख गरेर विषयलाई छर्लङ्ग्याइको छ ।

यस पुस्तकका सबै शीर्षक लेखकका आफ्नै प्रत्यक्ष अनुभवबाट आएका छन् । विद्यालय तथा क्याम्पसमा अध्यापनपश्चात निजामती सेवाको विद्यालय निरीक्षकमा सेवा प्रवेश गरेर विभिन्न पद सम्हाल्दै शिक्षा मन्त्रालयको सचिवसम्मका प्रशासकीय जिम्मेवार निभाएका लखेक बरालले विश्वका विभिन्न मुलुकहरूमा अध्ययन भ्रमण गर्दाका अनुभव समेटिएको यस पुस्तकभित्र पाइने मेन्डलको सिद्धान्त, उद्धीपक र प्रतिक्रिया, पाइको मान, सजीव र निर्जीव, कविता शिक्षण, स्वर वर्ण र व्यञ्जन वर्ण, संयुक्त वर्णको उत्पत्ति, अभ्यास शिक्षण, सामाजिक शिक्षण, परीक्षा प्रणालीमा डफ्टी, हिमोफिलिया जस्ता विषयमा शिक्षाकर्मीले जान्नैपर्ने कुरा औषधिका रूपमा पाइन्छन् । यो पुस्तक सबैका लागि पठनीय छ । शिक्षक, अभिभावक, विद्यार्थी, शिक्षाकर्मी, प्रशासक, नीति निर्माता सबैका लागि खुराक भएको यो पुस्तक शिक्षाकर्मीका लागि त गीता जस्तै छ । सागरको पानी जस्तै पाठकले कत्रो भाँडो लिएर जान्छन् उति नै खुराक पाउँछन् यो पुस्तक पढेपछि । लेखकका यस्तै अन्य कृतिले निरन्तरता पाइरहून् हार्दिक शुभकामना !

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो