आफ्नो भाषालाई शुद्ध लेख्न सकिएन भने हाम्रो मौलिकता सिद्धिन्छ [अन्तर्वार्ता]

नेपाली भाषा र साहित्यमा डा. हेमनाथ पौडेल नयाँ नाम होइन। त्रिभुवन विश्व विद्यालयमा ३१ वर्ष भन्दा बढी भाषा साहित्यको प्राध्यापन गरेका पौडेलँकवि, समालोचक र निवन्धकार समेत हुन्। हाल नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य समेत रहेका उनले काव्य विभाग प्रमुखको जिम्मेवारीमा पनि रहेका छन्।

उनीसँग समकालीन नेपाली कविता र प्रज्ञा प्रतिष्ठानले गरेको कार्य लगायतका विषयमा डिसी नेपालका तर्कबहादुर थापाले गरेको कुराकानीको संवादित अंश :

यहाँ त नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य र काव्य विभागको प्रमुख पनि हुनुहुन्छ। अहिले प्रज्ञा प्रतिष्ठानले के कस्ता कार्यहरू गर्दै छ?

नेपाल प्रज्ञा प्रतिष्ठान नेपालको प्राज्ञिक क्षेत्रको एउटा उच्च संस्था हो। यसले विगतदेखि नै अध्ययन अनुसन्धान र प्रकाशनका कार्यहरू गर्दै आएको छ। पहिले सबै विधाहरू यहीभित्र थिए। अहिले ललित कला र सङ्गीत नाट्य छुट्टै एकेडेमी भएपछि यसले वाङ्मयका ५ ओटा क्षेत्रमा काम गर्र्छ। भाषा, साहित्य, दर्शन, सामाजिकशास्त्र, संस्कृति यी पाँच क्षेत्र हुन्।

वाङ्मयका यी विधा र क्षेत्रको उन्नयन र विकासका निम्ति यसले काम गरिरहेको छ। यसमा गोष्ठी, सेमिनार, अध्ययन, अनुसन्धान र प्रकाशनका काम पर्दछन्। अहिले कोरोना भाइरसका कारण गोष्ठी सेमिनाहरु गर्न पाइरहेका छैनौँ तर अध्ययन अनुसन्धान र प्रकाशनका काम प्रशस्त भइरहेका छन्। अहिले समग्र नेपाललाई चिनाउने कुनै एउटा सामग्री पनि छैन।

विदेशीहरु आएर नेपालमा तपाईँको देश चिनाउने कुनै सामग्री दिनुस् भन्दा हामीसँग उपलब्ध छैन। त्यसैले अहिले हामी सातै प्रदेशको प्रादेशिक प्रोफाइल लेखाउने काम गर्दै छौँ। त्यसलाई नेपाल दर्पणका नाममा प्रकाशन गरिने छ र अङ्गे्रजीमा अनुवादन गरेर विदेशीहरूलाई समेत उपलब्ध गराइने छ। यो ठूलो योजना हो। अहिले २ नं. प्रदेशको काम लगभग सकिएको छ र अरू प्रदेशको पनि अध्ययन र लेखनको काम अगाडि बढिरहेको छ।

नेपाली भाषाका बारेमा आइरहने यस्ता विवाद र आक्रमणका सम्बन्धमा सतर्क रहनुपर्छ तर यसलाई नै लिएर अनावश्यक कोकोहोलो मच्चाउने र आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्ने काम चाहिँ कतैबाट पनि हुनु राम्रो होइन।

त्यस्तै अहिलेसम्म नेपालमा उत्पत्ति भएका दर्शनहरुलाई पनि हामीले भारतीय दर्शनको रूपमा लिदै आयौँ। नेपालमा थुप्रै दर्शनहरूको उत्पत्ति भएको छ तिनको अध्ययन गराएर हामी त्यसलाई नेपाली दर्शनका रूपमा प्रकाशित गर्दैछौँ। त्यसमा करिव १०० जना विज्ञहरुले लेख्दै हुनुहुन्छ। अर्को भनेको बृृहत् साहित्यिक सङ्ग्रालय निर्माणको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषाका साहित्यकारदेखि सम्पूर्ण साहित्यकारहरुको अभिलेख राख्ने गरी अहिले काम गरिरहेको छ। यसमा अडियो भिडियो र पुस्तकहरू सबै सङ्कलित हुन्छन्। अब एक वर्षभित्रमा १५० हजार शब्दको प्रज्ञा बृहत् नेपाली शब्दकोशको सम्पादन भएर प्रकाशित हुँदैछ। यी विभिन्न कार्यहरू अहिले भइरहेका छन्।

गतवर्ष हामीले चीन र एसियाका साहित्यकारहरूलाई सहभागी गराएर भाषा साहित्यसँग सम्बन्धित तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्यौँ। त्यस्तै दुई दिने राष्ट्रिय गजल महोत्सव पनि सम्पन्न गर्यौँ। त्यो राष्ट्रिय गजल महोत्सवले गजलका क्षेत्रमा भएका विवादहरुलाई केहीहदसम्म समाधान पनि गरेको छ। अब हामी भानुजयन्तीको अवसर पारेर नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजनामा छौँ।

त्यसमा संसारभर छरिएर बसेका नेपाली साहित्यकारहरूको सहभागिता रहने छ। अहिले हामीले सातै प्रदेशको कविताको प्रादेशिक इतिहास लेखाइरहेका छौँ। त्यस्तै गरेर अन्तर्देशीय नेपाली कविताको सङ्कलनको कार्य पनि भइरहेको छ। उत्तर अमेरिकी नेपाली कविता, युरोपेली नेपाली कविता, भारतेली नेपाली कविताका सङ्कलनहरू भइरहेका छन्।

हामी प्रवासमा रहेर सहित्य साधना गरिरहेका साहित्यकारहरूलाई पनि प्रज्ञामा जोड्न चाहन्छौँ। त्यी सबै काम भएपछि हामीले नेपाली कविताको इतिहासलाई पनि अध्यावधिक गर्छौँ। यसअघि नेपाली कविताको इतिहास खासै लेखिएको छैन। यसरी नै कविता मात्र नभएर वाङ्गमयका सबै विधाको इतिहासलाई अध्यावधिक गर्ने काम पनि प्रतिष्ठानले गर्दैछ।

अहिले प्रज्ञा– प्रतिष्ठानले कोरानाका कारणले रोकिएको राष्ट्रिय कविता महोत्सलाई यही मंसिरको २९ गते सम्पन्न गर्दै छ। यसको पुरस्कारको राशिमा बृद्धि गरेको छ भने पुराना विविध विधामा दिइँदै आएका पृथ्वी पुरस्कार लगायतका विभिन्न पुरस्कारका साथै यस वर्षदेखि नेपालका सन्दर्भमा अध्ययन गर्ने विदेशी विद्वान्लाई दिइने तीनहजार डलरको प्रज्ञालङ्कार पुरस्कार र दुईदुई लाखका नेपाली भाषा र साहित्यका क्षेत्रमा गरिएको अनुवादलाई सम्मान गर्न अनुवाद पुरस्कार र विदेशमा बसेर नेपाली भाषा र साहित्यमा योगदान गर्ने नेपालीलाई प्रदान गर्न अन्तर्देशीय भानु साहित्य पुरस्कार गरी तीनवटा पुरस्कार पनि थपिएको छ।

अहिले नेपाल प्रज्ञा प्रतिष्ठानको दश एघार मुलुकका एकेडेमी र लेखक संस्थासँग दौत्य सम्बन्ध पनि कायम भएको छ र अनुवादका कार्यहरू आदान प्रदान भइरहेका छन्। यसरी विविध गतिविधिका माध्यमबाट प्रज्ञा प्रतिष्ठान सक्रियताका साथ अगाडि बढिरहेको छ।

नेपाल दर्पण कहिलेसम्म बजारमा आउँछ ?

कोरोनाका कारण केही असर परेको छ। यो स्थलगत अनुसन्धान गरी लेख्नुपर्ने विषय भएकाले केही व्यवधान पनि सृजन भएका छन्। अरु काम त भइ नै रहेका छन्। कोरोनाको महामारी कम भएपछि अधुरा रहेका कामहरू सकेर छिटै प्रकाशन गरिसक्ने तयारी गरिरहेका छौं।

२ नं. क्षेत्रको सामग्री चाहिँ यसभन्दा पहिला नै आएकाले त्यसको लेखन सकिन लागेको छ। अन्य प्रदेशहरुको बाकीँ छ। ठूलो परियोजना भएकाले यो आर्थिक वर्षमा त नभनौैं अब २ वर्षमा पूरा हुन्छ।

यहाँले नेपाली कवितामा नै विद्यावारिधि गर्नुभएको छ र कविता समालोचनाका निकै पुस्तक पनि लेख्नुभएको छ। अहिले समकालीन नेपाली कविताको अवस्था कस्तो छ?

समकालीन नेपाली कविता नेपाली समाज र युगका यथार्थहरूलाई अभिव्यक्त गर्ने कुरामा निकै सक्षम देखिन्छ। यो सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले समृद्धिको बाटोमा छ। अहिले थुप्रै कविहरुले स्तरीय कविता लेखिरहेका छन्। देवकोटा जस्ता कविहरूले नै यसलाई उचाइमा पुर्याएका हुन्। अहिले पनि कविता चर्चाको शिखरमै छ।

नेपाली साहित्यमा सबैभन्दा बढी लेखिने र पढिने विधा पनि कविता नै बनेको छ। कोरोनाको महामारी सुरु भएपछि त यसको लेखन र वाचन दुवैमा अत्यधिक वृद्धि भएको छ। यसमा घरदेश र परदेश दुवैतर्फका कविहरूको उत्तिकै सक्रियता छ। नेपाली समाजको रूपान्तरण गर्नमा समकालीन नेपाली कविताको महत्वपूर्ण भूमिका रहिआएको छ।

यहाँले कविता रचनाका बारेमा धेरै अनुसन्धान गर्नुभएको छ। रचनाको परिकल्पना कहाँबाट सुरु हुन्छ र रचना गर्दा के के कुरामा ध्यान पु-याउनु पर्दछ?

कुनै पनि रचना गर्नका निम्ति पहिला त त्यो रचनाकारमा कल्पना र भावना हुनुप्यो अनि दृष्टिकोण चाहियो। म यो विषयमा लेख्छु भन्ने सोच आउनुपर्यो। त्यो विषय मनमा आएर त्यसप्रति आफ्नो विचार बनेपछि उसले शब्दको चयन गर्छ र त्यसलाई आफ्नै शैलीमा व्यक्त गर्छ।

वस्तुलाई हेर्ने दृष्टिकोण र शैली व्यक्ति पिच्छे फरक–फरक पनि हुन्छ। विचार निर्माण बिना कुनै पनि रचना र सिर्जना हुन सक्दैन। विचार निर्माण गरेपछि मात्र त्यो विषय भाषाशैलीका माध्यमबाट बाहिर अभिव्यक्त हुन्छ।

नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली कविताको त घरदेश र परदेश दुवैतिरको विवरणको खोजी गरिरहेको छ भन्ने थाहा पाइयो । अरू मातृभाषा र साहित्यका बारेमा चाहिँ के गर्दै छ?

नेपाल प्रज्ञा प्रतिष्ठानमा मातृभाषा साहित्य विभाग भन्ने छ। यसले सबै मातृभाषाका साहित्यका बारेमा अध्ययन अनुसन्धान गराउने कार्य गरिरहेको छ। हरेक वर्ष मातृभाषा साहित्य महोत्सव नै हुने गरेको छ। यस सम्बन्धमा पनि थुप्रै अध्ययनहरू भएका छन् हाम्रो नेपालमा बोलिने जति पनि मातृभाषा छन्।

तस्वीर : तर्कबहादुर थापा

ती मातृभाषाका साहित्यमा कुन कुन पक्षमा अध्ययन भयो र कुन कुन पक्षमा अध्ययन बाकीँ छ भन्ने कुराको निक्र्यौल गर्न तत् क्षेत्रका विद्वानहरुलाई हामीले अध्ययन अनुसन्धान गर्न दिएका छौँ र उहाँहरुले त्यो गरिरहनु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान सम्पूर्ण भाषाभाषीहरूको साझा संस्था भएकाले सबै मातृभाषाका साहित्यको संरक्षण गर्नु हाम्रो कर्तव्य पनि हो।

यहाँ कवि, समालोचक र भाषाविद् पनि हुनुहुन्छ । नेपाली शब्दभण्डार र यसको उत्पत्तिका बारेमा केही बताइदिनु न !

नेपाली भाषा भारोपेली परिवारको शतम वर्गमा पर्ने संस्कृतबाट प्राकृत र अपभ्रंश हुँदै विकसित भएको भाषा हो। पछि यसमा आगन्तुक शब्दहरू पनि प्रशस्त थपिएका छन्। यी शब्दहरूले नै नेपाली भाषाको शब्दभण्डार बनेको छ।

ती मध्येमा सबैभन्दा बढी तद्भव शब्दहरू र त्यसपछि तत्सम शब्दहरू छन्। तद्भव भनेका संस्कृतबाट परिवर्तन हुँदै आएका शब्द हुन् भने संस्कृतबाट जस्ताको त्यस्तै आएका तत्सम शब्दहरू हुन्।

संस्कृतबाहेकका अरू स्वदेशी र विदेशी भाषाबाट आएका शब्दहरूलाई चाहिँ आगन्तुक शब्द भनिन्छ। नेपाली भाषाको हजुरआमै भाषा संस्कृत हो भने आमा चाहिँ प्राकृत हो। संस्कृतबाट विकसित हुँदै एघाराैँ  शताब्दीतिरबाट नेपाली भाषाको जन्म भएको हो। अहिले यिनै शब्दहरूले नेपाली शब्दभण्डार बनेको छ।

एउटै नेपाली भाषामा पनि उच्चारणमा किन फरक हुन्छ ?

भाषा सामाजिक वस्तु हो । भाषामा धर्म, संस्कृति, समाज र भूगोलको प्रभाव परेको हुन्छ। त्यसमा व्यक्तिको आफ्नै बोली पनि हुन्छ। खासगरी हाम्रो नेपाली भाषामा भूगोलको प्रभाव बढी छ। भूगोलमा हुने हावा, पानी र वातावरणले गर्दा विभिन्न ठाउँमा बोलिने नेपालीको उच्चारणमा भेदहरू देखिएका छन्। जसलाई हामी भाषिका भन्छौँ।

नेपालको जनगणना २०६८ मा नेपालीका यी भाषिकालाई पनि छुट्टै भाषा भनेर नेपालमा बोलिने भाषाको सङ्ख्या १२३ पु-याइएको छ तर यो त्रुटिपूर्ण छ। ती भाषा नभएर भाषिका हुन्। भाषिकाको उच्चारणमा केही भिन्नता हुन्छ। जस्तै पूर्वमा बोलीने नेपाली र पश्चिममा बोलिने नेपालीमा केही फरक छ। भौगोलिक कारणले गर्दा हरेक ठाउँमा बोलिने भाषाको लवजमा फरक हुन्छ।

जस्तो स्तरीय नेपालीमा जाउँ भन्ने शब्दलाई पूर्वतिर जुमजुम भनिन्छ भने पश्चिमतिर जामजाम भनिन्छ। अर्को उदाहरण पनि दिऊँ। भौगोलिक कारणले गर्दा पहाडमा बसेका मान्छेको उच्चारण अलि कसिलो, सुरिलो हुन्छ भने तराईतिर बसेका मान्छेहरुको उच्चारण अलि धोद्रे किसिमको खुलेको हुन्छ।

यसको कारण हावा पानी र वातावरण नै हो । पहाडको प्रकृति र तराईको प्रकृतिमा फरक छ । पहाडतिर चिसोका कारण उच्चारण अङ्गहरू कम खुलेका हुन्छन् भने तराईतिर गर्मी भएका कारण बढी खुलेर स्वर धोद्रो भएको हुन्छ । यस्तै कारणले गर्दा भाषाको उच्चारणमा फरक आएको हुन्छ ।

यहाँले त्रिभुवन विश्वविद्यालयमा ३१ वर्षभन्दा बढी भाषा साहित्य प्राध्यापन गर्नुभयो। हाल नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य र काव्य विभागको प्रमुख हुनुहुन्छ। नेपाली भाषाको वर्णविन्यासका सम्बन्धमा पहिले केही विवादहरू पनि सुनिएका थिए। अहिले के भइरहेको छ ?

त्रिभुवन विश्वविद्यालयमा रहँदा मैले भाषाविज्ञान पढाएँ र अन्य विषयहरू पनि। अहिले पनि म नयाँ बन्दै गरेको प्रज्ञा नेपालीे बृहत् शब्दकोशको सम्पादन कार्यमा पनि संलग्न छु । नेपाली भाषाको प्रकृति र स्वरूपका बारेमा जानकार हुनका निम्ति यसको भाषावैज्ञानिक ज्ञान आवश्यक छ।

कतिपय व्यक्तिलाई यसका बारेमा जानकारी नै छैन। जानकारी नहुनेले अज्ञानवस विवादका कुरा गरेका छन् भने जानकारी हुने कतिपयले चाहिँ विवादका निम्ति विवाद पनि गरेका छन् अनि कतिपयले चाहिँ सही कुरा पनि उठाएका छन्। नेपाली भाषाको वर्णविन्यासका बारेमा पहिलेदेखि नै विवाद, छलफल र विमर्श हुँदै आएको हो।

अंग्रेजी भाषामा पनि लामो समयको विवाद र छलफलपछि हिज्जे स्थिर भएको हो र त्यहाँ पनि बेलायती र अमेरिकाली अङ्ग्रेजीमा भिन्नता नै छ । नेपाली भाषाका सन्दर्भमा पनि पटक पटक विज्ञहरुका बिचमा छलफल भई टुङ्गोमा पुग्ने काम पनि भइरहेको छ । भाषा विकसित वस्तु हो । भाषा कुवाको पानी जस्तो जम्ने विषय हैन, बग्ने पानी जस्तो हो।

बग्ने पानी सङ्लिदै गएजस्तै भाषामा शुद्धता र परिष्कार आउँदै जान्छ। यसले गर्दा यसका नियमहरूमा पनि परिवर्तन हुँदै जान्छ। यसै कारण प्राचीन नेपाली जस्तो थियो, मध्यकालीन र आधुनिक नेपाली त्यस्तो छैन। भानुभक्तकालीन नेपाली भाषा र अहिलेको भाषामा फरक छ। यही कारण त हो नि।

त्यसकारण भाषा विकसित हुँदै जाँदा त्यसका नियमहरू पनि परिवर्तित हुँदै जान्छन्। तिनलाई अद्यावधिक गर्दै जानुपर्छ। अद्यावधिक गर्दा केही विवादहरू पनि जन्मन्छन्। केही वर्ष पहिला नेपाली भाषाको वर्णविन्यासलाई लिएर केही विवादहरु आए र अलि चर्कै पनि भए।

यसपछि नेपाल प्रज्ञा प्रतिष्ठानले एउटा सुझाव कार्यदल बनाएर त्यसले दिएको सुझावका आधारमा नेपाली बृहत् शब्दकोशको दसौँ संस्करण प्रकाशित गरेपछि विवादमा रहेका सबै पक्षहरूले त्यसको स्वागत गरे, सहमति जनाए र अहिले त्यो समाधान भइसकेको छ । प्राज्ञिक वहस भइरहे पनि अब यसमा विवादको विषय भने छैन।

अङ्ग्रेजी भाषाको हिज्जे लेख्दा शुद्ध लेख्नुपर्ने, नेपालीको हिज्जे लेख्दा चाहिँ नेपाली पढ्ने, पढाउने र नेपालीमै काम गर्नुपर्ने बाहेकका व्यक्तिले बाहेक अरूले जस्तो लेखे पनि हुने भन्ने मनोविज्ञान छ । यस्तो किन भएको हो ?

एकदमै सान्दर्भिक प्रश्न गर्नुभयो। अङ्ग्रेजीमा सानैदेखि शुद्ध लेख्न सिकाइन्छ। एउटा हिज्जे नमिलेको खण्डमा विद्यार्थी फेल नै हुन्छ तर नेपालीमा त्यस्तो भएको पाइँदैन। नेपाली भाषा जस्तो लेखे पनि हुन्छ भन्ने छ तर नेपालीको पनि प्रत्येक हिज्जे लेखनमा शुद्धता आवश्यक छ। जो नेपाली हो उसले आफ्नो भाषा शुद्ध लेख्नुपर्छ। आफ्नो भाषालाई शुद्ध लेख्न सकिएन भने हाम्रो आफ्नो मौलिकता नै सिद्धिन्छ। हाम्रो पहिचान नै गुम्छ। हामीले विद्यार्थीलाई तलका कक्षाबाट नै शुद्धलेख्न सिकाउनु पर्छ।

त्यो सिकाउनका लागि शिक्षकहरु जान्ने हुनुपर्छ। शिक्षकहरुले हेलचेक्र्याँई गर्नुभएन। सानैदेखि नेपाली शुद्धाशुद्धिमा ख्याल गर्नुप-यो। पठनपाठनमा पनि कक्षा ११ र १२ सम्म अनिवार्य नेपाली अनि स्नातकमा मानविकी र शिक्षामा मात्र बीएसम्म अनिवार्य नेपाली अन्य सङ्कायमा त नेपाली पढ्नै पर्दैन।

विद्यार्थीलाई पनि के भयो भने यति पार गरेपछि त नेपाली पढ्नु पर्दैन भन्ने भयो र नेपालीप्रतिको मोह घट्यो । कम्तीमा पनि स्नातक तहका सबै सङ्कायहरूमा अनिवार्य नेपाली राख्नुपर्छ । यसमा विश्वविद्यालयहरू र राज्यले सोच्नुपर्छ।

नेपाली भाषा अहिले अप्ठ्यारोमा छ भनिन्छ नि यहाँलाई कस्तो लाग्छ ?

अप्ठ्यारोमा भनेर तपाईंले केलाई भन्न खोज्नुभएको हो। नेपाली भाषा ११औं शताब्दीबाट संस्कृतबाट प्राकृत हुँदै हिन्दी, बङ्गाली भोजपुरी, मैथली, अवधि लगायतका आर्य भाषासँगै समानान्तर रूपमा विकसित भएर आएको हो र यो अब निकै समृद्ध भाषाका रूपमा विकसित पनि भइसकेको छ।

यसका केही पक्षमा विवादहरु होलान् तर यतिमै यो सङ्कटमा छ, अप्ठ्यारामा छ भन्न मिल्दैन। यसको लेखन पक्षमा भएका विवाद मात्र हुन् ती। समग्र भाषाका सम्बन्धमा होइन। तपाईंले गाडीहरूमा प्रयोग गरिने इबोस्ट नम्बरमा रोमन लिपिको प्रयोगको सम्बन्धलाई लिएर यो कुरा भन्न खोज्नुभएको हो भने त्यो पनि नेपाल प्रज्ञा प्रतिष्ठानले प्रधानमन्त्री र सम्बन्धित मन्त्रीलाई लिखित ध्यानाकर्षण गराएपछि सरकारले त्यसमा नेपाली लिपि नहटाउने बताइसकेको छ।

नेपाली भाषा ११औं शताब्दीबाट संस्कृतबाट प्राकृत हुँदै हिन्दी, बङ्गाली भोजपुरी, मैथली, अवधि लगायतका आर्य भाषासँगै समानान्तर रूपमा विकसित भएर आएको हो र यो अब निकै समृद्ध भाषाका रूपमा विकसित पनि भइसकेको छ।

नेपाली भाषाका बारेमा आइरहने यस्ता विवाद र आक्रमणका सम्बन्धमा सतर्क रहनुपर्छ तर यसलाई नै लिएर अनावश्यक कोकोहोलो मच्चाउने र आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्ने काम चाहिँ कतैबाट पनि हुनु राम्रो होइन।

याहाँले पनि माथि नेपाली भाषाको जननी संस्कृत भाषा नै हो भन्नुभयो । अहिले वैज्ञानिकहरुले अन्तरिक्षमा संस्कृत भाषाको प्रयोग गर्न थालेको कुरा आइरहेको छ । नेपालमा भने संस्कृतभाषा विस्तापित नै हुने अवस्थामा छ नि । त्यस विषयलाई प्रज्ञाले कसरी लिएको छ ?

संस्कृत भाषा जस्तो लेखिन्छ त्यस्तै बोलिन्छ। त्यसैले अहिले वैज्ञानिकहरुले पनि अरू भाषाभन्दा संस्कृत भाषालाई उपयुक्त ठानेका हुन् । अङ्ग्रेजीमै जस्तो लेखिन्छ त्यस्तो बोलिदैन। जस्तै, हामीले अंग्रेजीमा फुटुरे लेखेर फ्युचर, लिघ्ट लेखेर लाइट उच्चारण गर्छौँ। यी र यस्ता समस्याहरु संस्कृत भाषामा नआउने भएकाले वैज्ञानिकहरुले यही भाषा छानेको हुनुपर्छ । अहिले संस्कृत भाषाका वक्ता छैनन्। यो अहिले कसैको मातृभाषा छैन।

यो अभिलेखको भाषा, सम्पदाको भाषा भयो तर यसमा अथाह ज्ञान छ । त्यस कारण यसलाई पुनः जागृत गराउनु जरुरी छ । संस्कृत भाषाको पठनपाठनलाई अझै व्यवस्थित गर्नु आवश्यक छ । यसमा प्रज्ञा प्रतिष्ठान एकदम सकारात्मक छ ।

यस सन्दर्भमा एउटा प्रसङ्ग जोडौँ । पहिले चलाएको झर्रोवादी आन्दोलनले नेपाली भाषालाई कत्तिको सहयोग गरेको थियो ?

झर्रोवादी आन्दोलन २०१४ सालमा वनारसमा पढ्ने बालकृष्ण पोखरेल, बल्लमणि दाहाल, तारानाथ शर्मा, कोशराज रेग्मी लगायतकाले सुरु गरेको आन्दोलन हो । त्यो बेला के थियो भने एकथरी बनारसमा गएर संस्कृत पढेर आएका हुन्थे।

अर्कोथरी कलकत्तातिरबाट अंग्रेजी पढेर आएका हुन्थे अनि संस्कृत भाषा पढेर आएकाले नेपाली भाषामा संस्कृतका शब्दहरु अत्यधिक प्रयोग गर्ने, अंग्रेजी पढेर आएकाले अंग्रेजी भाषाका शब्दहरु प्रयोग गर्ने । यसो हुँदा नेपाली भाषाको मौलिकपन नै समाप्त हुने स्थिति आएको थियो।

त्यसैले नेपाली भाषाको मौलिकताको रक्षाका लागि झर्रोवादी आन्दोलन भनेर चलाइयो । यो आवश्यक पनि थियो । त्यो लामो समयसम्म चल्यो । त्यसले नेपाली भाषाको संरक्षणका लागि धेरै काम पनि ग-यो ।

नेपाली भाषामा आफ्नै शब्दहरु छन् भने अरु भाषाका शब्द ल्याइरहनु पर्दैन, सकेसम्म आफ्नै शब्दहरु प्रयोग गरेर नेपाली भाषाको मौलिकता बचाऊँ भनेर त्यो आन्दोलनको सुरुवात भएको थियो । नेपाली भाषाको मौलिकता जोगाउन त्यसले धेरै महŒवपूर्ण भूमिका खेल्यो ।

अब भाषाविद् बालकृष्ण पोखरेल यस संसारमा हुनुहुन्न । उहाँसँगको एउटा अन्तर्वार्तामा भारतमा उहाँलाई कुनै भाषा विज्ञले नेपाली र हिन्दी त उस्तै उस्तै भाषा हो भनेपछि उहाँले नेपाली भाषामा आफ्नै मौलिक शब्दहरूको निर्माण गर्न सुरु गर्नुभएको भनिन्छ नि । मौलिक नेपाली शब्दहरु निर्माण गर्ने कुरामा ककसको भूमिका रहेको देख्नु भएको छ ?

नेपाली र हिन्दी समान रूपमा विकसित भाषा हुन् । हिन्दी र नेपाली भाषाको पुर्खौली एउटै हो । नेपाली, हिन्दी, मैथली, भोजपुरी, अवधि, मागधि, बङ्गाली सबै दिदी बहिनी भाषा हुन् । यी सबै भारोपेली परिवारबाट विकसित हुँदै आएका हुन् र ११औं शताब्दीमा नै सबै समान रूपमा विकसित भएका हुन्।

नेपाली र हिन्दीका धेरै शब्दहरु मिन्छन पनि । मिले पनि नेपाली भाषा छुट्टै हो । हिन्दी भाषा छुट्टै हो। नेपाली भाषा हाम्रो राष्ट्र भाषा हो। हिन्दी भाषा भारतको राष्ट्र भाषा हो। नेपाली भाषा नेपालको मातृभाषा पनि हो, साझा माध्यम भाषा पनि हो र प्रशासनिक भाषा पनि हो।

नेपाली भाषासँग हाम्रो राष्ट्रियता जोडिएको छ। जहाँसम्म बालकृष्ण पोखरेको कुरा छ उहाँहरूले त्यसबेला नेपाली मौलिक शब्दहरूको निर्माण गर्नुभएको थियो । सम्पादकीयका सट्टा सम्पादक्यौली, लेखकीयका सट्टा लेखक्यौली जस्ता शब्दहरू बनाउनु भएको थियो तर त्यति चलेनन्।

लक्ष्मीप्रसाद देवकोटाले पनि आफ्ना रचनामा धेरै स्वनिर्मित शब्दको प्रयोग गरेका छन् । त्यो बेलामा नेपाली भाषाको संरक्षणका लागि उहाँहरूले गरेका केही प्रयत्नहरु हुन् यी । बास्तबमा अहिले हामीले लेखिरहेको देवनागरी लिपी पनि हिन्दी लिपि हो । नेपाली लिपि त सिंजाली लिपि थियो। त्यो लोप भयो। नेपालमा प्रेसमा कम्पोज गर्ने फलामका अक्षर भारतबाट ल्याउनु पर्ने भएकाले हिन्दी लिपि प्रवेश ग-यो र नेपाली हरायो।

भाषामा शब्द बनाउँछु, अरूको प्रयोग गर्दिनँ भनेर पनि हुन्न। बनाउँदैमा चल्दैनन् पनि। कुनै पनि भाषामा वस्तुसँगै शब्दहरु पनि आउँछन् । कम्युटर, क्याल्कुलेटर आदि आए । हामीले तिनलाई सुसाङ्ख्य र गणक यन्त्र भन्यौँ तर प्रयोगमा आएनन्। वस्तुसँगै भाषा पनि उही आउँछ र त्यही नै चल्छ । त्यसलाई आत्मसात गर्नैपर्छ।

यहाँको विद्यावारिधिले दिएको नयाँ कुरा के हो ?

मैले नेपाली कवितामा विद्यावारिधि गरेको हुँ। नेपाली कवितामा पनि २०४६ सालदेखि २०६३ सालसम्म र त्यसमा पनि प्रगतिवादी कविताको मैले अध्ययन गरेको हुँ। नेपाली कविताले तत्कालीन समाजका कुरूप यथार्थहरुलाई, अभिव्यक्त गरेका छन्। साहित्यले जहिले पनि समाजका यथार्थहरुलाई अभिव्यक्त गर्दछ । साहित्य समाज सापेक्ष हुन्छ । समाजभन्दा बाहिरको विषय हैन साहित्य। त्यसैले यस अवधिका कविताको पनि परिवर्तनकारी भूमिका छ।

नेपालमा भएका सबै परिवर्तनहरुमा कविता साहित्यले महत्वपूर्ण भूमिका खेलेको छ। कवि जहिले पनि आलोचक हुन्छ र उसले समाजका कुरुप यथार्थहरुको आलोचना गर्छ अनि सुन्दर समाजको अपेक्षा गर्छ। उसले समाजका विकृति र विसङ्गतिमाथि प्रहार गर्छ र समाज सही मार्गमा अगाडि बढोस् भन्ने चाहन्छ। यो पक्ष यस अवधिमा कवितामा कतिको सशक्त रूपमा प्रकट भएको छ भन्ने कुरालाई मैले अध्ययन गरेको छु र निष्कर्ष निकालेको छु।

रचना गर्न चाहनेका लागि कुनै नयाँ टिप्स छन् कि यहाँसँग ?

रचना गर्नेहरूले सबैभन्दा बढी अरूको रचना पढ्नु्पर्छ। अरूका रचना धेरैभन्दा धेरै पढेर, अध्ययन गरेर अनि सम्बन्धित विषयप्रतिको सैद्धान्तिक ज्ञान हासिल गरेर मात्र राम्रो रचना सृजना गर्नसकिन्छ। यसका लागि आफ्नो विचार र शैलीको निर्माण गर्नु पनि आवश्यक छ।

आफ्नो विचार र शैलीको निर्माण गर्न सकिएन भने रचना गरे पनि त्यो नक्कल मात्र हुन्छ, मौलिक बन्दैन । समाज र कुनै पनि वस्तुलाई हेर्ने आफ्नो दृष्टिकोण हुनु जरुरी छ । यसो भयो भने मात्र त्यो रचना मौलिक हुन्छ र सही पनि हुन्छ अनि वैचारिक पनि हुन्छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो