मेरी छोरीको बेलामै लभ परोस् !

डिसी नेपाल
९ मंसिर २०७७ ९:२१

‘बिष्णु ल यो भ्यालेन्टाइन डेमा चाहिँ गुलाब, पोस्टकार्ड, र क्याडबरी दिएर तैले राधा (नाम हल्का परिवर्तित) लाई प्रपोज हान्नै पर्छ है’, मेरो साथी शैलेन्द्रले उत्साहित हुँदै भन्यो। ‘हुन त हो यार तर मास्टर्नीकी छोरी हो, चस्मा लाउँछे, पढन्दास छे त्यस्तीलाई कसरी प्रस्ताव राखूँ ?’ , मैले आफ्नो अन्तद्र्वन्द्व पोखेँ।

हैट ‘प्यार किया तो डर्ना क्या’? आई लभ यु भनी दे न आए आँप गए झटारो अर्को भाइ विनोदले उक्सायो। करिब दुई दशकअघि जोरपाटी काठमाडौँको शान्ति आदर्श विद्यालयमा ५, ६ कक्षा पढ्दाखेरिको कुरा हो ! राधा र म एउटै क्लासमा पढ्दै थियौँ। मेरो अलमल देखेर केटाहरूले मलाइ धकेले धकेली नजिकैको स्टेस्नरी लगी एउटा गुलाबको तस्बिर भएको पोस्टकार्ड किनेर रङ्गिन साइनपेनले लेखेः—

रोज इज रेड, स्काई इज ब्लु
माई ट्रू लभ इज ओन्ली फर यु!
उही तिम्रो प्यारो बिष्णु

अनि दोबाटोमा धेरै बेर कुरेर राधा आउँदा हात कमाई, मुटुको धड्कन सम्हाल्दै मैले उनलाई पोस्टकार्ड र क्याडबरी डेरी मिल्क दिएँ। राधालाई अनपेक्षित आश्चर्य भयो तर बीच बाटोमा हुनाले हतारले पोस्टकार्ड र क्याडबरी लिएर अलि लजाउँदै, अलि डराउँदै भागिन्।

‘ल बधाई छ, पक्कै हुन्छ भन्छे’ मेरा साथीहरूले बधाइ दिए! तर मलाइ मनमा अलि उत्साह र अलि डर पनि लागिरहेको थियो। अर्को दिन स्कुल जाँदा मनमा द्विविधा थिए। राधा भेटिए के भन्ने होला? तर त्यो दिन उनी देखिइनन्।

बेलुका प्रिन्सिपलले स्कुल नजिकै रहेको उनको कोठामा बोलाए। प्रिन्सिपल राधाका ‘मामा’ परेछन्। उनकी मास्टर्नी आमाले आफ्नै स्कुलको प्रिन्सिपललाई भाइटीका लगाउँदी रहिछिन्। छोरीले रुँदै आमालाई, आमाले रिसाउँदै मामालाई उजुरी गरेकी रहिछन्।

दुई दशकअघिको नेपालको प्रिन्सिपललाई ‘बालअधिकार’ हनन त के स्कुलबाहिर उनको कार्य क्षेत्र हैन भनी कसले सम्झाई दिने? आफ्नी भान्जीलाई आई लभ यू भन्ने ‘उत्छृङ्खल’ केटोले त्यो बेलुका प्रिन्सिपल मामाको हात र लाठीद्वारा राम धुलाइसँगै स्कुलबाट निष्कासन गरिने धम्की पनि पायो।

मलाइ त्यो रात झल्झल्ती आमा बाको अनुहार याद आयो। मेरा बा आमाले दुर्गम बझाङ–बाजुरामा दुख गरेर आफ्नो सबै कमाइ काठमाडौँ पठाई छोरा पढाउन पठाएको खेर त जाने हैन? मलाइ विद्यालयबाट निष्कासन गरे कहाँ जाउँला?  म अर्को दिन विद्यालय गइनँ।

म झोक्रिएको देखेर राजले गाँजाको पात र गेडा केलाउँदै सोध्यो , ‘के भो तँलाईं?’ मैले सबै बेली विस्तारमा सुनाएँ। मेरो वृत्तान्त सुन्दै गर्दा उनीहरूले केही चिलिम चढाइसकेका थिए।

दिउँसोतिर मभन्दा ठूला दुई साथी राजकुमार र सुनिलसँग बाग्मतीको किनार घुम्न गयौँ। उनीहरू जी (गाँजा) तान्न खोलाको किनार जान्थे। म झोक्रिएको देखेर राजले गाँजाको पात र गेडा केलाउँदै सोध्यो , ‘के भो तँलाईं?’ मैले सबै बेली विस्तारमा सुनाएँ।

मेरो वृत्तान्त सुन्दै गर्दा उनीहरूले केही चिलिम चढाइसकेका थिए। राजले मलाइ तँ पनि तान् सब बिर्साउँछ भन्यो। एक छिन त तानौँ लाग्यो तर फेरि सुनिलले आफैं मलाइ अलि सानै सोचेर भो नतान् भन्यो। सुनिलले थप्यो, ‘ह्या मुला त्यो झारे प्रिन्सिपलले तँलाइ के भुत्रो निकाल्छ? तेरो बुवा आमाले पैसा तिरेर पढाएको हो। त्यो नभए अर्को स्कुल जालास्।’

राजले त आवश्यक परे ‘झारे’ प्रिन्सिपलको दाँतै झार्दिन्छुसमेत भन्यो। मेरा ‘बबाल डेन्जर’ साथीहरूको आश्वासनले मलाइ अलि राहत भयो। डर र अपराध बोध कम भयो। त्यो राति हामी अबेरसम्म गल्ली गल्ली घुमी रह्यौँ। बेलुकी आफ्नो कोठा फर्किदा मलाइ आफू ‘परिपक्व’ भएको महसुस भयो।

दुई दिनभित्र नै केटीलाई प्रपोज हानियो, दादागिरी गर्ने ग“जडीहरु साथी बनाइयो। अब मलाइ त्यो गल्लीमा छुने कसको आँट? अर्को दिन स्कुलका भ्याइस प्रिन्सिपल र मेरा काठमाडौँ अभिभावक समान हृषीकेश बराल सर मेरो कोठामै आउनुभयो।

एक कान, दुई कान मैदान भइसकेको रहेछ मेरो लभ स्टोरी। नपढे त बराल सरको पनि लौरी खाइन्थ्यो तर त्यो दिन भने बराल सरले मन फराकिलो गरी, सान्त्वना दिँदै भन्नुभयो, ‘केटाकेटीको सानो गल्तीलाई तिलको पहाड बनाउनु हुन्न, ल आज स्कुल आइज म छु नि , तँलाई केही हुन्न।’

बराल सरका शब्दले धेरै राहत दियो। बराल सर त्यति बेला भाइस प्रन्सिपल मात्रै भए पनि त्यो विद्यालय बरालहरूकै थियो। त्यसैले अब रेस्टिकेट हुने डर रहेन। म ढुक्क स्कुल गएँ। त्यो दिनपछि राधासँग बोलचाल बन्द भयो। राधा रिसाइन् या डराइन मलाई थाहा भएन।   हुन त मेरो त्यो बालवत  उमेरमै सार्वजनिक स्थलमा प्रेम प्रस्तावले राधालाई पनि अप्ठ्यारो पर्‍यो होला। अर्को वर्ष उनकी आमा त्यो विद्यालय छाडी अन्तै गइन् र राधा पनि गइन्। त्यसपछि हाम्रो कहिल्यै भेट भएन।  केही वर्ष पछि भेट भए शायद माफी माग्दै भाला-कुसारी सोध्ने थिएँ होला।  उनी माथि मेरो त्यो अपरिपक्व व्यवहारको के असर पर्‍यो थाहा भएन ?  अहिले त्यो घटना उनलाई स्मरण होला कि नहोला ? उनका बाबा-आमाले मसँग  या अरू केटाहरू सँगै नबोल्नु पो भने कि ? आशा छ उनलाई यदि स्मरण होस् त बच्पनको  एउटा रमाइलो घटनाको रूपमा मात्रै स्मरण रहोस् ! या हुन सक्छ कि उनले यो घटना बिर्सिइन् होला।  तर मैले बिर्सेको  छैन…

प्रिन्सिपलले पनि त्यो स्कुलबाट छुट्टिएर अर्को स्कुल खोले। आज फर्केर हेर्दा अझै सोच्छु कि आइ लभ यु भन्नु मेरो गल्ती थियो कि मलाइ विद्यालय सक्किए पछि आफ्नो कोठामा बोलाई कुट्नु त्यो प्रिन्सिपलको गल्ती थियो ? तर जे होस् मैले बराल सरको त्यो गुन कहिल्यै बिर्सिन सकिन।

हो, आजको पुस्ता दिल वाले दुल्हनिया ले जाएंगे र नाइँ नभन्नु ल हेरेर हुर्किएको हो। लभ स्टोरी भएका चलचित्र प्राय सबैका प्रिय छन्। छोराले केटी घुमाए पनि धेरै बाउआमालाई पच्छ तर जब प्रश्न हाम्री आफ्नी छोरी, भान्जीको आउँछ हामी सबै असुरक्षित महसुस गर्छौँ। हो चेली-बेटीको  सुरक्षा एउटा गम्भीर मुद्दा हो।  समाचारमा महिला हिंसाका घटना बारम्बार आई रहन्छन् शायद त्यसैले पनि होला। बलात्कार,एसिड प्रहार  जस्ता जघन्य अपराध बाहेक अन्य पनि धेरै प्रकारका यौन हिंसा हुन्छन्।

हो हामीले हाम्रा छोराहरूलाई बाटोमा बसेर केटी हेर्दै नबस भन्दैमा पुग्दैन।  छोराहरूलाई पनि कसरी आफ्ना समकक्षी केटीहरू सँग मर्यादित भएर व्यवहार गर्ने भन्ने शिक्षा दिनु जरुरी छ।  अनि यो पनि बुझाउन जरुरी छ कि अल्लारे उमेरमा विपरीत लिङ्गी प्रति आकर्षण हुनु स्वाभाविक हो तर प्रेमलाई अभिव्यक्त गर्ने एउटा समय र स्थान हुन्छ र सबै भन्दा महत्त्वपूर्ण कुरा कसैलाई पच्छ्याउने, सिटी बजाउने, अप्ठ्यारो हुने गरी घुरेर हेर्ने र सार्वजनिक यातायातमा अवाञ्छित रूपमा विपरीत लिङ्गीको स्पर्श पनि यौन हिंसा नै हुन्।  यस बाहेक प्रेम पत्र लेख्ने, पोस्ट कार्ड दिने , मेसेज , टेक्स्ट पठाउने या कल गर्ने जस्ता क्रिया कलाप पनि बारम्बार कसैको सहमति बिना गरिन्छ भने त्यो यौन हिंसा नै हो।

तर यी मध्य कुनै क्रियाकलाप हाम्रा छोरा बाट भए “हामी यस्तै त हो नि ब्रो” भनेर नजर अन्दाज गर्नुले यस्ता क्रियाकलाप गर्न प्रेरित गर्न सक्छ।  तर के गाली गर्नु र कुट्नु यसको समाधान हो ? त्यस्तै यस्ता क्रियाकलाप हाम्रा छोरीहरूबाट भए पनि सम्झाउने हो, होसियार बनाउने हो तर कोठामै बन्द गर्नु या केटाहरू सँग बोल्दै नबोल भन्नु पनि दीर्घकालीन समष्टिगत समाधान हैन। २१ औँ शताब्दीमा  छोराले जे गरे पनि चल्छ र छोरीलाई “कुलको नाक”  काट्ने काम नगर्नु भनी आफ्नो अपेक्षा र असुरक्षा लाद्नु कति जायज छ त ?

संविधानले छोरा छोरीको दुवैको बारबार हक लाग्ने भने पनि छोरा ‘बुढेसकालको सहारा’ र छोरीलाई ‘पराई घरको नासो’ ठान्ने प्रवृत्ति अझैँ विद्यमान नै छ। छोराले गर्लफ्रेन्ड घर ल्याए छोरो ‘ठूलो’ हुन्छ तर छोरीले ब्वायफ्रेन्ड लिएर आए ‘अप्ठ्यारो’ लाग्छ।

विकसित देशमा छोरा र छोरीबीचको यस्तो भेदभाव हुँदैन किनकि छोराभन्दा छोरीले नै बुढेसकालमा बुवा आमाको हेरविचार गरेको देखिन्छ।

अर्को कुरा छोरीले आफ्नो निर्णय आफैँ लिन सक्छिन् भन्ने विश्वास पनि हो। अल्लारे उमेर हुँदै जवान हुँदै गर्दा धेरै केटाकेटीको क्रश हुन्छ, कहिले लभ पर्छ , कहिले ब्रेकप पनि हुन्छ। र, एक उमेर पुगेपछि अब यो यिनीसँग जीवन बिताउन सक्छु लाग्छ अनि विवाह हुन्छ। यहाँ न जातपातको कुरो न दाइजोको या सम्पत्तिको कुरो आउँछ। सम्पत्तिभन्दा दम्पतीमा ध्यान दिइन्छ।

यदि मेरी छोरी भइन् भने म उनलाई गुणस्तरीय शिक्षा दिनेछु, सही र गलत छुटाउन सक्ने ज्ञान दिनेछु। उनलाई कसैको घर जानका लागि मात्र नभई आफ्नै घर बनाउन सक्ने क्षमता विकास गर्न प्रेरित गर्नेछु। त्यसपछि उनलाई आफ्नो रुचिअनुसार आफ्नो कार्यक्षेत्र र जीवनसाथी खोज्न पूर्ण स्वतन्त्रता दिनेछु। छोरी आफैँ  बुझ्ने र आफ्नो निर्णय लिन सक्ने भएपछि  मेरो जिम्मेवारी पूर्ण भयो। बुढेसकालमा ज्वाइँ खोज्न टन्टै नहोस्,मेरी छोरीको बेलामै लभ परोस्।

खप्तडछान्ना ५, (पिठातोला), बझाङ, हाल बोस्टन,अमेरिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *