बर्दिबास बलात्कार घटनाः प्रहरी र स्थानियबीचको झडपमा डीएसपीसहित १५ जना प्रहरी घाइते

डिसी नेपाल
९ मंसिर २०७७ १९:४१

महोत्तरी । बर्दिबासमा गुलाप्सा खातुनको आइतबार हत्या भएको विषयलाई लिएर स्थानीयवासीले गरेको आगजनी तथा ढुंगामुढा नियन्त्रणको क्रममा २ जना स्थानीय र प्रहरी नायव उपरीक्षक (डीएसपी) सहित १५ जना प्रहरी कर्मचारी घाइते भएका छन् ।

बर्दिबास नगरपालिका १४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको आइतबार हत्या भएको थियो ।

उक्त विषयलाई लिएर उत्तेजित भीडले घरमा आगजनी गरेको, प्रहरी बिट जलाउने प्रयास गरेको, लामो समयसम्म राजमार्ग अवरोध गर्नुको साथै सवारी साधन तोडफोड गरेकोले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रहरीले बल प्रयोग गर्ने क्रममा घाइते भएका महोत्तरी बर्दिबास नगरपालिका १ बस्ने ४५ वर्षीय संजय भन्ने बुद्धि राज न्यौपानेलाई पिनाकल अस्पताल बर्दिबासमा उपचार पश्चात थप उपचारको लागि कैलाश एयरको हेलिकोप्टरद्वारा ग्राण्डी अस्पताल काठमाडौं पठाइएको छ ।

साथै अर्का घाइते सोही नगरपालिका ५ बस्ने २६ वर्षीय श्याम कार्कीलाई शुभस्वस्तिक अस्पताल बर्दिबास हुँदै थप उपचारको लागि एम्बुलेन्सद्वारा काठमाडौंतर्फ लगिएको छ ।

भीडले ढुङ्गामुढा गर्दा नेपाल प्रहरीतर्फ डीएसपी सहित १२ जना र सशस्त्र प्रहरी बल नेपाल तर्फ ३ जना गरी १५ जना प्रहरी कर्मचारी घाइते भएका छन् ।

उक्त भीडले ढुङ्गामुढा गर्दा आगजनी नियन्त्रणको लागि बर्दिबास नगरपालिका र धनुषाको महेन्द्रनगरबाट आएका २ वटा दमकलको चारैतर्फका शिशा फुटेर क्षति भएको छ ।

साथै सिन्धुलीबाट हेटौंडातर्फ जादै गरेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको बा २ झ २५७९ नम्बरको गाडीको झ्यालको सिसा समेत फुटेर क्षति भएको छ ।

उक्त स्थानमा तत्काल नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल समेतबाट थप मद्दत लिई स्थितिलाई नियन्त्रणमा लिइएको छ ।

ती बालिकाको हत्या गरेको अभियोगमा बर्दिबास नगरपालिका १४ सुगम बस्तीमा पसल गरी बस्ने गौशाला नगरपालिका ५ जिरो माईल घर भएका २६ वर्षीय अरुण कुमार साहलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *