हरिबोधिनी एकादशीः नारायण मन्दिरमा कम आए भक्तजन

डिसी नेपाल
११ मंसिर २०७७ २२:३८

काठमाडौँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजन कमै गएका छन् । हरिबोधिनी एकादशीका दिन विगत वर्षमा नारायण मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण धेरैजसो नारायणस्थान बन्द गरिएको छ । खुला गरिएका नारायण मन्दिरमा पनि विगत वर्षमा भन्दा कमै भक्तजन गएका थिए ।

दक्षिणकाली नगरपालिका–५ मा रहेको शेषनारायण मन्दिर भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खोलिएको थियो । मन्दिर खोलिए पनि विगत वर्षको तुलनामा २५ प्रतिशतमात्र भक्तजन दर्शन गर्न आएको वडाध्यक्ष श्यामबहादुर खत्रीले जानकारी दिए । नजिकैका स्थानीय भक्तजन कोरोना फैलने त्रासले मन्दिरमा आएनन् ।

पूजा सामग्री, कन्दमूल, फलफूल बेच्न राखिएका पसल कबललाई पनि दुई मिटरको दूरीमा मात्र राख्न दिइएको थियो । दूरी कायम गराउन नेपाल प्रहरी, सामुदायिक प्रहरी र स्वयंसेवकसमेत खटाइएको थियो । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजा आजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लाग्ने प्राचीन कालदेखिको परम्परा छ ।

यसैगरी आजैका दिन उपत्यकाका चाँगुनारायण, विशङ्खुनारायण र इचङ्गुनारायण मन्दिरमा पनि भक्तजन जाने गरेकामा यस वर्ष निकै कम मात्र मन्दिर परिसरमा पुगेको जनाइएको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज एकैदिन पूजा आजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढा टाढाबाट पनि भक्तजन सवारी साधन रिजर्भ गरेर चार नारायणको पूजा आजा एवं दर्शनमा आउने गरेकामा यस वर्ष कोरोनाका कारण प्रभावित भयो ।

चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजा आजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ । यस वर्ष नियमित रुपमा दर्शन गर्न आउने निकै कम भक्तजनले मात्र मन्दिर प्रवेश गरी दर्शन गर्न दिइएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश निगमानन्द स्वामीले बताए ।

बूढानीलकण्ठलगायत नारायणस्थानमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने गरेकामा यस वर्ष कोरोनाको जोखिमका कारण स्थगित गरिएको थियो । बूढानीलकण्ठमा जल कुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत भीड लाग्ने गर्छ ।

आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा शुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ । आज बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बस्छन् । आज चामलबाट बनेका परिकार नखाई सखरखण्ड, पिँडालु, तरुललगायत फलाहार मात्र गर्ने गरिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि पूजा आज शुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

यसैगरी नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको नारायण मन्दिरमा पनि यस वर्ष कमै भक्तजन आएको पुजारी शिवप्रसाद पौडेलले बताए । यसैगरी नेपालीले आजै घर घरमा तुलसीको विशेष पूजा गर्दैछन् । आज विशेष पूजा गरी दामोदरसँग तुलसीको विवाह गरिन्छ । यस अवसरमा दक्षिणकाली नगरपालिकाले शेषनारायण मन्दिरमा विशेष मेला लाग्ने भन्दै नगरभर स्थानीय पर्व बिदा दिएको छ । यस वर्ष बुधबार पनि हरि बोधिनी एकादशी परेको थियो । स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले बुधबार र वेदमा आधारित भई धार्मिक कर्म गर्नेले आज हरि बोधिनी एकादशी पर्व मनाएका हुन् ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *