कोरानाको खोप र सैनिक अभ्यासमा केन्द्रित चिनियाँ रक्षामन्त्रीको भ्रमण

डिसी नेपाल
१८ मंसिर २०७७ १०:५१
380
Shares

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ह कोभिड–१९ महामारीको विषम परिस्थितिमा नेपालको भ्रमण पूरा गरेर फिर्ता भएका छन्।
कोभिड–१९ महामारीलाई चीनले आज पनि अत्यन्त सतर्क, सावधान र सचेततापूर्वक ह्याण्डल गरिरहेको छ।

सायद यसको गुरुत्व र प्रभाव चाल पाएर होला। अथवा लापर्वाहीले यो कति महङ्गो हुन्छ भन्ने विश्व अनुभवले होला महामारी छिमेकी देशको राजधानीमा उत्कर्षमा पुगेको बेला ठूलो जोखिम उठाएर रक्षामन्त्री आफ्नो भ्रमण दल लिएर काठमाडौं उत्रिए। सावधानीपूर्वक दौडको चालमा आफ्नो अर्थपूर्ण भ्रमण पूरा गरेर उनी फिर्ता भए।

भ्रमणको उद्देश्य

भ्रमणको अन्तरनिहित उद्देश्य बहुआयामिक थियो। संसारभरिका पात्रहरुलाई फरक फरक सन्देश दिने गरी भएको यो भ्रमणको मूलभूत २ वटा उद्देश्य प्रष्ट थिए–

पहिलो, चीन– नेपाल सैनिक सम्पर्क सम्बन्ध समन्वय र संयुक्त अभ्यासलाई विशेष महत्वका साथ निरन्तरता दिँदै लैजाने। दोश्रो, चीन अव पुरानो ‘स्लिपिङ्ग टाइगर’ होइन। चीन सचेत चनाखो र जिम्मेवार विश्व सदस्य हो जो विश्वलाई नेतृत्व पनि गर्न चाहन्छ।

छिमेकी होस वा क्षेत्रीय अथवा अन्तर्राष्ट्रिय समुदायप्रति चीनको आफ्नो चासो चिन्ता र जिम्मेवारी छ। र, त्यो महत्वपूर्ण जिम्मेवारीप्रति चीन संवेदनशील र जवाफदेही छ भन्ने सन्देश सबैलाई दिने।

यो वा त्यो शासकको भक्तिभाव कता छ र उसले देश र जनतालाई होइन आफ्नो स्वार्थसिद्धिलाई मागेर हैरान पार्दछ भन्ने मनोविज्ञानले पनि अतिथिहरुलाई पिरोलेको देखिन्छ। यो सेनाको रहर होइन कर हो। त्यसैले नयाँ नेपालमा विदेश सम्बन्धको मियो सेना भएको छ।

चीन आफूलाई सबै मिलेर घेर्न लागेको कुराप्रति सबैभन्दा धेरै जानिफकार छ। त्यसको घुमाई फिराई एकमात्र कारण आफ्नो लगन र परिश्रमको जगमा गरेको असीमित आर्थिक विकास र भावी विश्व शक्ति उन्मुख हैसियत हो भन्ने कुरा उसलाई राम्रो हेक्का छ। भू–राजनीतिक अवस्थाले गर्दा नेपालमा शिविर जमाएर चीनलाई आक्रमण गर्ने छर्लङ योजना उसलाई थाहा नहुने कुरै भएन।

अतिरिक्त छटपटी

कम्युनिष्ट नामको शासन सत्ता छ नेपालमा। जनतालाई केन्द्रविन्दूमा राखेर जनहित गर्ने, गरिबी उन्मुलन गर्ने र सामाजिक न्याय दिँदै समुन्नत र सम्वृद्ध राज्य तयार गर्ने कसम खाएको छलकारी कम्युनिष्ट नेताहरुको ताल र हाल देखेर दिक्दार भएको हुनुपर्छ सिङ्गो चीन।

स्वतन्त्र, सम्मृद्ध र आत्मनिर्भर राज्य बनाउन, पटक पटक वाचा कवोल गरेका तर चीनसँग सके २ थान, नत्र १ थान छात्रवृत्ति र व्यवसायिक लाभ लिएर पर्दाबाट हराएका फटाहा छलकारी नेतृत्व देखेर पनि ऊ कायल भएको हुनुपर्छ।

चाइना कार्डमा विश्वास गर्नेहरुले मुख मिठ्याउनेभन्दा चीनको जस्तै लगन र परिश्रमले जनताको रक्षा कल्याण सम्मान गरेर कसरी आत्मनिर्भर र स्वतन्त्रताको बाटो पक्रने र चीनको विश्वास जित्ने भनी सच्चिने प्रण गर्नु नेपालको राष्ट्रिय हितमा हुने छ।

चीनसँग नजिकिएर भारतको सत्तोसराप गर्ने र चीनको ओत माग्ने अनि भारतसँग पनि त्यही चरित्र दोहो-याउने छेपारो रङ्ग र पिपलपाते चरित्रसँग पनि चीन हायल कायल भएको हुनुपर्छ अहिलेसम्म। उसले नचाहँदा नचाहँदै उसलाई घेर्ने शक्तिले तुलानात्मकरुपमा लोकप्रिय र स्पष्ट राष्ट्रवादी राजालाई हटाएपछि ऊ तिलमिलाएको छ र स्वभावतः स्थायी शक्तिको खोजीमा छ।

कम्युनिष्ट सत्ताले स्वतन्त्र र सम्वृद्ध राष्ट्र निर्माण होइन, बरु आफ्ना महान नेता माओको बदनाम गरेको र चीनको खिल्ली उडाएकोमा उसलाई गहिरो चित्त दुःखेको हुनुपर्छ पक्कै पनि।

यिनै पीडाको सेरोफेरोमा रहेर पछिल्ला दिनहरुमा चीनले नेपाली सेनासँग विशेष सम्बन्ध बिस्तार गरेको छ। प्रत्यक्ष र मित्रवत् सु–सम्बन्धलाई मजबुत् बनाउँदै लगेको छ।

सैन्य सम्बन्धको कडी

तसर्थ, यो भ्रमणको केन्द्रविन्दूमा नेपाली सेना थियो । अधिकांश समय रक्षामन्त्रीले जंगी अड्डामा बिताए र प्रधानसेनापतिसँग भलाकुसारी गरे।
चीन राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाको सवालमा कठोर र दृढ छ।

त्यसैले छिमेकी देश नेपालले आफ्नो राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाको स्पष्ट खाका कोरोस् र त्यसको रक्षार्थ एकाग्र भएर लागोस् भन्ने उसको चाहना छ। नेपाल विदेशीको इशारामा चल्ने कसैको गोटी नबनोस् र अरुको क्रिडास्थल नबनोस भन्ने एकमात्र इमान्दार शुभेच्छुक हो चीन।

नेपाल किन सधैं परनिर्भर र पराधीन छ भन्ने कुरा चीनलाई हामीलाई भन्दा धेरै ज्ञान छ। नेपालको विकास र सम्वृद्धि चीनको प्राथमिकतामा परेको चाहना भएर पनि त्यसलाई मनन आत्मसात् र साहसका साथ कार्यान्वयन गर्ने गराउने दृढ राष्ट्रवादी नेतृत्वको खडेरीले पनि चीन हैरान छ।

राष्ट्रियता, राष्ट्रवाद, जनहित, जनस्वास्थ्य, जनसेवाको सेवाभाव उच्च भएको संस्था उसले नेपाली सेनालाई मानिआएको छ। नेपाली सेनालाई दिएको महत्व र प्राथमिकताले त्यसलाई पुनर्पुष्टि गर्दछ। चीनको उच्च प्रोटोकलले सैनिक पोसाक र तामझामका साथ उपयुक्त समयमा जंगी अड्डामा गरेको भ्रमणले दिन खोजेको सन्देश गहिरो र अर्थपूर्ण छ।

चिनियाँमात्र होइन भारत, बेलायत, अमेरिकालगायत सबै बिदेशी प्रतिनिधि मण्डलको आकर्षक भ्रमण केन्द्र भएको छ जङ्गी अड्डा। देश र देशवासीको इमान्दार पहरेदार एकमात्र नेपाली सेना हो भन्ने उनीहरुको निक्र्यौल यसको कारण हुन सक्छ।

यो वा त्यो शासकको भक्तिभाव कता छ र उसले देश र जनतालाई होइन आफ्नो स्वार्थसिद्धिलाई मागेर हैरान पार्दछ भन्ने मनोविज्ञानले पनि अतिथिहरुलाई पिरोलेको देखिन्छ। यो सेनाको रहर होइन कर हो । त्यसैले नया“ नेपालमा विदेश सम्बन्धको मियो सेना भएको छ।

मुख मिठ्याउने कि सच्चिने ?

चिनियाँ प्रतिनिधिको यो भ्रमणले कम्युनिष्ट नेताको एउटा झुण्डले न्यानो मान्ने र मुख मिठ्याउनु पर्ने खुशियाली म पटक्कै देख्दिन। सिद्धान्त र दर्शनमा आकाश पात्ताल फरक परिसकेपछि चीनले यथास्थितिमा हाम्रा चरम अवसरवादी आलाकाँचा नेतृत्वको धुत्र्याइँप्रति विश्वास गर्ने आधार देखिँदैन।

व्यक्ति केन्द्रित, गुट् केन्द्रित र दल केन्द्रित स्वार्थी फोहोरी राजनीतिक नेतृत्वसँग चीनको मन कुँडिएकोमात्र होइन टुटिसकेको छ।
जनताको नाममा राजनीति र क्रान्ति गर्ने, क्रान्तिपछि आफ्नो मात्र भुँडी भर्ने नेपाली नेतृत्वको चरित्र उसलाई राम्रो थाहा छ। २ अध्यक्षको आरोप प्रत्यारोपले उसले कम्युनिष्ट दर्शनको नालीबोली र नेपाल मोडल झन् प्रष्टसँग बुझेको छ।

सेताकाला व्यापारी र तस्करको अभिलेख उतार्न लगाएर अख्तियार लगाऊ“ भन्दै लेबी उठाउन लगाउदछौं। यो राष्ट्रघाती चरित्रले हामीलाई बिदेशी इन्टेलिजेन्सको दास बनाएको छ। यो राष्ट्रघाती चरित्र हो। यसले मुलुकलाई बिदेशीको क्रिडास्थल बनाएको छ। शासक वीर धामीझाक्री खेलाउने, शासितहरु मुक्दर्शक भएर रमिता हेर्ने बिचित्रको बिकृत अभ्यास नया“ नेपालको दैनिकी भएको छ। मुलुकको कुटनीतिक अनुशासन, आचरण र मर्यादा भताभुङ्ग छ।

चीन राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा र जनतालाई हमेशा शिरमा राख्ने मुलुक हो। जनताको उपेक्षा, शोषण र राष्ट्रिय सुरक्षामाथिको खेलवाड उसको कल्पना बाहिरको कुरा हो। नेपाल उसको दर्शनको ठीक उल्टोमा हिडिँरहेको मुलुक हो उनीहरुको विश्लेषणमा। त्यसमा नेतृत्वको अकर्मण्यता देखेको छ उसले।

चाइना कार्डमा विश्वास गर्नेहरुले मुख मिठ्याउनेभन्दा चीनको जस्तै लगन र परिश्रमले जनताको रक्षा कल्याण सम्मान गरेर कसरी आत्मनिर्भर र स्वतन्त्रताको बाटो पक्रने र चीनको विश्वास जित्ने भनी सच्चिने प्रण गर्नु नेपालको राष्ट्रिय हितमा हुने छ।

वनको होइन मनको बाघ

किन प्रोपोगाण्डा र हल्ला धेरै हुन्छ बिदेशीको भ्रमणका इश्यूलाई लिएर? जवाफ सरल छ– चतुरमुखा शासक हामी धेरै बाठा छौं। आफू अनुकूल बिदेशी भूत खेलाउदछौं। बिदेशीलाई मालिक बनाएर घोडचढी गराउन रमाउदछौं। आफ्नो माटो र जनता चटक्क बिर्सिदिन्छौं।

जब सकस पर्दछ, आफ्ना घरमा आगो लगाएर बिदेशी गुहार्दछौं। त्यो बिदेशी मालिकलाई देखाएर एकमुष्ठ समकक्षी, प्रतिपक्षी, जनता जनार्दन सबैलाई धक्कु लाउने र तर्साउने गर्दछौं। मालिकसँगको गुप्त संसर्ग थाहा होला भनेर राष्ट्रिय इन्टेलिजेन्सको घाँटी रेटिदिएका छौं।

बचेकुचेकालाई आफू बिरोधी, आलोचक र षड्यन्त्रकारीको सुराक गर्ने घटिया काममा लगाउँदछौं। सेताकाला व्यापारी र तस्करको अभिलेख उतार्न लगाएर अख्तियार लगाऊँ भन्दै लेबी उठाउन लगाउदछौं। यो राष्ट्रघाती चरित्रले हामीलाई बिदेशी इन्टेलिजेन्सको दास बनाएको छ।

यो राष्ट्रघाती चरित्र हो। यसले मुलुकलाई बिदेशीको क्रिडास्थल बनाएको छ। शासक वीर धामीझाक्री खेलाउने, शासितहरु मुक्दर्शक भएर रमिता हेर्ने बिचित्रको बिकृत अभ्यास नयाँ नेपालको दैनिकी भएको छ। मुलुकको कुटनीतिक अनुशासन, आचरण र मर्यादा भताभुङ्ग छ।
तर छिमेकी चीनको कुटनीतिक अनुशासन र मर्यादा कठोर छ।

पोशाक, समय, बोली आदिको मर्यादापालन कडा छ। गोप्य भेटघाट, खुशामत, घरदैलो मुसादौड, मनपरी तस्बिर खिचाउने अमर्यादित काम निषेध छ।  आश्चर्य भन्नुपर्छ– धेरैलाई बनको होइन मनको बाघले सताएको उपज हो त्यो ठूलो हल्ला।

कोभिड- १९ महामारीलाई राहत

महामारी नियन्त्रणको लागि भ्याक्सिन तयारीमा युद्धस्तरमा जुटिरहेको र उल्लेख्य सफलता हासिल गरिसकेको चीनले नेपाललाई प्राथमिकतामा राख्ने आश्वासन दिएको छ। संभवत, नेपाली सेनामार्फत आवश्यक भ्याक्सिन समयमै प्राप्त हुने ढोका खुलेको छ।

रक्षामन्त्रीको भ्रमणको सबैभन्दा ठूलो उपलब्धि वर्तमान परिस्थितिमा भ्याक्सिन प्राप्तिलाई मान्न सकिन्छ। तर चीनको भ्याक्सिनलाई मान्यता नदिने अन्तर्राष्ट्रिय जालझेल र भ्याक्सिनलाई व्यापारको वस्तु बनाउने नेपाली राजनीतिको चलखेलले यो सहयोगलाई उचाल्ने पछार्ने उडाउने कालो बादलले कार्यान्वयन पक्षको सम्भावनालाई कठिन बनाउने अवश्यम्भावी छ।

सरकारले नाफाखोरी औषधि व्यापारमा नेपाली सेनालाई बलीको बोको बनाएको र सैनिक नेतृत्वको साहस र त्यागले बाल–बाल सेना जोगिएको ताजा सूचना चीनलाई नहुने कुरै भएन।

रक्षामन्त्रीको भ्रमणको सबैभन्दा ठूलो उपलब्धि वर्तमान परिस्थितिमा भ्याक्सिन प्राप्तिलाई मान्न सकिन्छ। तर चीनको भ्याक्सिनलाई मान्यता नदिने अन्तर्राष्ट्रिय जालझेल र भ्याक्सिनलाई व्यापारको वस्तु बनाउने नेपाली राजनीतिको चलखेलले यो सहयोगलाई उचाल्ने पछार्ने उडाउने कालो बादलले कार्यान्वयन पक्षको सम्भावनालाई कठिन बनाउने अवश्यम्भावी छ।

भ्याक्सिन खरिद, ढुवानी, आपूर्ति, स्टोरिङ र वितरणमा उनै असफल नेतृत्वको परिवार, नातावाद, कृपावाद, दबाब र तनाव झेल्नुपर्ने कुरामा चीन सरकार र नेपाली सेना दुवै सचेत र सावधान छन्।

नेता वा उसको सरकारलाई होइन जनतालाई केन्द्रविन्दूमा राखेर भ्याक्सिन उपलब्ध गराउने सरल र सुलभ उपाय उनीहरुले अवश्य पहिल्याउने छन्। भ्रमणले त्यसको खाका र मोडल तयार पारेको अनुमान लगाउन सकिन्छ।

संयुक्त सैनिक अभ्यासको निरन्तरता

ज्यादै ढिलो तर कठिनसाथ प्रारम्भ भएको संयुक्त सैनिक अभ्यासले निरन्तरता पाउने भएको छ। भारत, अमेरिका, बेलायत, पाकिस्तान, श्रीलंकासंग संयुक्त सैनिक अभ्यास गर्दै आएको नेपाली सेनालाई आफ्नो छिमेकी देश चीनसँग संयुक्त अभ्यास गर्न ५० औं वर्ष कुर्नुपरेको थियो।

२०७४ मा आईसब्रेक गरेर दुई मुलुकले संयुक्त अभ्यास प्रारम्भ गरेका थिए। संयोगले पहिलो अभ्यास सञ्चालन गर्ने जिम्मेवारी मलाई प्राप्त भएको थियो। प्रति आतंकवाद परिदृश्यमा सञ्चालित ज्यादै जोखिमपूर्ण ३ वटा संयुक्त अभ्यास सबैले सकुशल र सफलतापूर्वक पूरा गरे। दुई देशका सैनिकहरु चौथो अभ्यासका लागि प्रतीक्षारत् छन्।

आतंककारीको सीमाना हुँदैन भन्ने मान्यतामा आधारित रहेर उहिलेदेखि यस्तो संयुक्त अभ्यास गरेर बसेको भए नेपालको हिमाली भेगबाट तिब्बत विरोधी गतिविधिको गुञ्जायस हुने थिएन। न खम्पाविरुद्ध अपरेशनको जरुरत पर्ने थियो। प्रतिआतंकवाद सँगै बिपद् व्यवस्थापन, उद्धार र राहतजस्ता सान्दर्भिक र उपयोगी विषयवस्तु अभ्यासमा समेटिएका छन्।

यसले सबैको साझा दुश्मन आतंकवाद र प्राकृतिक विपद्सँग संयुक्त जुध्न र नियन्त्रण गर्न निर्देशन गर्ने छ। अबको साहसिक खेल र मनोरञ्जनको हब् सगरमाथालगायत विश्वका अग्ला चुचुराहरुमा साझा संयन्त्रद्वारा अनुगमन गर्न, उद्धारमा जुट्न, सरसफाई गर्न र हिमालय क्षेत्रलाई मिलिजुली सिंगार्न तथा चम्काउन सजिलो हुनेछ।

जसरी २०७२ को महाभूकम्पले सबैभन्दा बढी क्षति हिमालय क्षेत्रलाई गरेको थियो र चाइनिज उद्धार टोली हिमालको पत्र–पत्रभित्र पसेर उद्धार गर्न आफ्नै हवाई साधन लिएर छिनमा राजधानी उत्रेको थियो। कोभिड महामारी अथवा न्यू–नर्मलमा संयुक्त सैनिक अभ्यासले निरन्तरता पाउने सुनिश्चितताले दुवै आशावादी सेनालाई उत्साहित र औधि हर्षित् तुल्याएको छ।

अपेक्षा

चिनियाँ रक्षामन्त्रीको भ्रमणसँग सशंकित हुनुपर्ने कुरा देखिँदैन। कति आर एम बि को सहयोग भन्ने कुरा गौण हो। न देख्नेलाई लाज लाग्ने आन्तरिक कलह मिलाउने भ्रमण थियो त्यो।

नेपाललाई चीनको सन्देश उहिलेदेखि अहिलेसम्म एउटै छ– “भौगोलिक अनुकूलताको भारत सम्बन्ध सुमधुर बनाऊ र भारतको असल मित्र होऊ। आफ्नो सार्वभौमिकता, भूअखण्डता र स्वतन्त्रताको रक्षा दृढताका साथ गर।

२०७२ को महाभूकम्पले सबैभन्दा बढी क्षति हिमालय क्षेत्रलाई गरेको थियो र चाइनिज उद्धार टोली हिमालको पत्र–पत्रभित्र पसेर उद्धार गर्न आफ्नै हवाई साधन लिएर छिनमा राजधानी उत्रेको थियो।

आफ्नो भूमि अरुविरुद्ध प्रयोग हुन नदेऊ। यो वा त्यो जुनसुकै शक्ति होस् जनतालाई केन्द्रमा राखेर सत्ता सञ्चालन गर र जनतालाई छिटो शान्ति सम्वृद्धि सुख देऊ। सानो तर महत्वपूर्ण छिमेकीलाई सहयोग गर्न चीन हमेशा तयार छ।”

उहिलेको बेजिङमा सीमित टाढाको चीन अहिले हिमालको काख हाम्रै घर दैलोमा आइसकेको छ। पूर्वाधार र झकिझकाउ विकास विकट सीमानासम्म ल्याइसकेको छ। उत्तरी सीमानाको जनता जनता बीचको परस्पर सम्पर्क सम्बन्ध समन्वय र सहकार्य सम्भव भएको छ।

रहनसहन, खानपिन, धर्म संस्कृतिमा समानता छ दक्षिणको जस्तै। २ भिमकाय मुलुकको तीव्र विकास नेपालको लागि वरदान हो। दुवैको न्यानो माया, सम्मान र प्रेरणा हाम्रो लागि आशीर्वाद हो। त्री–देशीय सैनिक सम्बन्ध र सहकार्य क्षेत्रीय एकता, भातृत्व र सुरक्षाको द्योतक हो।

दुवै मुलुकको हितैषी नेपाल, नेपाली जनता र नेपाली सेनाले गरेको प्रार्थना र पुकार ‘क्षेत्रीय र विश्व शान्ति’ हो। कसैको उक्साइट र भड्कावमा नपरी २ छिमेकी मुलुकले शान्त भई अनन्तकालसम्म उन्नति र विकास गरुन्।

दिगो क्षेत्रीय सुरक्षाको प्रत्याभूति दिउन् र विश्व शान्तिको पहरेदार हुन्। नेपालले स्वाभिमान र स्वतन्त्रतापूर्वक २ मुलुकको विकास र शान्तिको मुक्त कण्ठले प्रशंसा र स्तुति गर्न पाइरहोस्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *