जवर्जस्ती थुनिएका भगवानको दर्शन गर्न जाँदा मैले जे देखें

डिसी नेपाल
२० मंसिर २०७७ ७:०४

आकाशमा उड्न नपुगेको अतृप्त आत्मा भएर होला आफू उडेर बिभिन्न वन–जंगल, हिमाल, भीर–पाखामा पुगिरहन्छु सपनामा। यो विचित्रको निःशुल्क साहसिक खेलले सधैं उर्जाशील, गतिशील, तेज र महत्वकांक्षी बनाइरहन्छ मलाई।

प्रायः हप्ता दिनमा नत्र महिना दिनमा आइरहने यस्तो सपनाको उडानले आफूले कल्पना गरेको नयाँ नयाँ सुन्दर र प्राकृतिक ठाउँमा पुग्न पाउदा शरीर र दिमाग दुबै चंगा उमङ्ग र स्वस्फूर्त हुन्छ अर्को दिन। उडेको सपना नदेख्दा खल्लो लाग्ने र उड्न पाऊँ भनेर पुकार गर्दा पनि सपनामा उड्न पाइहाल्ने सुविधालाई मैले प्रकृतिको अनुपम उपहार मानेको छु। त्यसलाई आफ्नो भाग्य ठानेको छु।

३४ वर्षको सैनिक जीवनमा प्यारा जम्प गर्ने अपूर्व अवसर पाएको, सेवाको उत्तराद्र्धमा औधी धेरै जम्प गरेर हंसमुख सेवा निवृत्त भएको र तत्पश्चात् जम्पको गहिरो चाहना यथावत् कायमै रहेकोले हुन सक्दछ, आकाशकलाको यो सुविधा निरन्तर प्राप्त भइरहेको।

सपनामा प्राप्त आदेश

सबै देवी देउताहरु सामेल भएर आदेश गिराएको अनौठो सपना देखें। सबैले बन्धन र कैदको साझा विरोध गरेको सपनाले आफूलाई हुट्हुटी लगायो। ज्यादै अनौठो र विचित्रको सुन्दर देउता थान हलेसी महादेवको गुफाभित्र चमेरो जस्तै उडिरहेको सपना मैले ८४ वर्ष पुगेका पिता र मातालाई सुनाएँं।

सबैको अनुमति र आशीर्वाद लिएर सपना देखेको भोलिपल्ट मार्ग ७, २०७७ मा हलेसी पुगें। भोलिपल्ट महादेवको दर्शन गर्न लामबद्ध भएँ। विपनामा टाढा टाढाबाट यात्रा तय गरेर आएका थरीथरीका भक्तजनहरु लामबद्ध थिए। कोही कोरोना जितेर आएका, कोही नलागोस् भनेर प्रार्थना गर्न आएका।

धेरैजना आफ्नो मुलुकबाट महामारी भागिजावस् भन्न आएका, कोही घरको बिरामीलाई शक्ति माग्न आएका, कोही नव विवाहित दम्पति, कोही प्रथम बच्चा पाएपछिको भाकल पूरा गर्न बच्चा पिठ्यूँमा बोकेर पुगेका दर्शनार्थी।

निश्चित मापदण्ड कडाइका साथ र अनिवार्य पालना गर्न गराउन लगाएर मुलुकको श्रीपेचलाई निरन्तर चालु राख्न कसैले रोक्ने छेक्ने कुरा नआउनु पर्ने हो। राजाको श्रीपेचलाई बन्धक बनाए झैं जनताको श्रीपेच धार्मिक र सांस्कृतिक, आस्थाको केन्द्र देवी देउतालाई किन कतिसम्म बन्धक बनाएर राख्ने हो? र, गरिबीको रेखामुनि रहेका जमीन खोस्रेर जीविकोपार्जन गर्ने हँसमुख जनताको आर्थिक आशा भरोसा किन ठप्प पार्ने हो?

मैले पनि आफ्नी सासु राधा गुरुङको भाकल स्मरण गरें- -‘पहिलो नानीलाई हलेसी दर्शन गर्न पठाउनेछु’ भनेपछि गर्भमा आएकी छोरी गीता गुरुङलाई मैले हलेसी दर्शन गर्न पु-याउने अवसर प्राप्त गरेको थिएँ। पछि थाहा पाएँ त्यस्तै भाकल आफ्नी आमाको पनि रहेछ।

आमाबुबालाई हलेसी पुर्याउने अवसर आफूलाई प्राप्त भयो। उहाँहरुको खुशीले सीमा नाघेको थियो। यसपटक प्रायः मनोकांक्षा पूरा भएका भक्तजनहरु भाकल चढाउन पुगेको नजर आयो। आफू सपनाको आदेश पालना गर्न एक्कासी स्वस्फूर्त हाजिर भएको थिएँ।

पुजारीको गुनासो

ताल्चा ठोकेको बन्द मन्दिरको बाहिर पुजारी बेचैनसाथ छट्पटाइरहेका थिए। आफ्नो नित्य पूजा बिहान सबेरै सकेर उनी भक्तजनहरुलाई ढोका बाहिर डिलबाट फूल अक्षता चढाउन र धूप धुँवार गर्न सघाइरहेका थिए।

पुजारीको र स्थानीय वृद्ध–वृद्धाको जोडदार माग थियो- ‘भगवानलाई बन्धक बनाउनु भएन। कैदमुक्त गर्नुपर्यो। कस्तो नास्तिक सरकार। कहिले आउला ताल्चा खोल्ने आदेश?’

उनीहरु सबै भक्तजनसँग एकोहोरो माफी मागिरहेका थिए। तिर्थस्थलमा खट्टिएका सुरक्षाकर्मी प्रहरीहरु मन्दिर छिटो खोल्नुपर्ने मनोविज्ञान बोकेर बसेका देखिन्थे।

एकजना स्कूले बालिकाले स्कूल ड्रेसमा डोकोभरि रसिला भरिला पाकेका सुन्तला बोकेर ल्याइपुर्याएकी थिइन्। ५ रुपैयाँ दाना। मेरो अनुमानमा ४०/५० रुपैयाँ केजी। काठमाडौंमा १५० रुपैयाँ केजीको भाउ खेपेको मेरा आँखामा टिस् पलायो। मैले ती बालिकाको अर्गानिक सुन्तला ५० होइन, १५० पनि होइन, १ सय रुपैयाँ केजीले स–सम्मान खरिद गरें।

अर्को वृद्धाले गुनासो पोख्नुभयो- ‘मेवा पाकेका थिए। ठेकीभरि दुध, दही, मोही थियो। बगैंचामा निबुवा भोगटे लटरम्म। स्कूस्, टाटे सिमी खेर गएर हैरान। काउली रायो साग भक्तजनलाई खुवाउन भनेर लगाएको। बाँसका डोका, थुन्से नाङ्लो डालो ढक्की सर्वत्र पुर्याउने हलेसी अहिले सुख्खाराम।’

छेउका अर्का वृद्धले सुस्केरा हाल्दै भन्नुभयो- ‘ऊ राजाको हेलिप्याड्। अहिले अतिक्रमण भइसक्यो। राजा भएको भए न हेलिप्याड् लुटिने थियो, न त हलेसी महादेवको हजारौं रोपनी जग्गा अतिक्रमण हुने थियो। न दूर्लभ देउताथान नै बन्द हुने थियो।’

हलेसी दर्शनले आफ्नो आँखा कान खुल्यो। पारि डाँडा ओखलढुंगा पाखे आफ्नो जन्म थलो। संयोगले खोटाङको गणपति। वि.सं २०६०/६१ को द्वन्द्वको उत्कर्षमा हलेसी महादेवलाई सुरक्षा दिन पाएको दूर्लभ अवसर। सबैको कुरा सुनेर ज्यादै भावुक भएँ।

२० वर्षअगाडि क्रान्तिको झण्डा बोकेर आगो ओकल्ने युवाहरु अहिले पाका भएछन्। उहिलेका आलाकाचा अल्लारेहरु अहिले धेरै परिपक्व र व्यवहारिक भएछन्। तिनै क्रान्तिकारीहरु अहिले कति शान्तिकामी भएका। पश्चातापले पोलेर विकासप्रेमी भएका।

भाषा लय अपेक्षा सम्पूर्ण परिवर्तन भएर ज्यादै मायालु भएका। विगतलाई सम्झन कोट्याउन नचाहने भएका। त्याग र बलिदानले ल्याएको परिवर्तनसँग हैरान र आजित भएका।

आफू त्यो सबै देखेर धेरै दुःखी थोरै खुशी भएँ। युवाको शान्तिप्रेम, विकासको चाहना देखेर समाज र मुलुकको भविष्य उज्वल छ भन्ने आशा जागृत भयो। संघले गाउँ होइन गाउँले संघ बनाउने छ भन्ने विश्वास पलायो।

युवाको जोस

मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुको प्रतीक्षाको बाँध फुट्न लागेको देखें। धेरैको धैर्यता टुटिसकेको देखें। आफूले लडेर ल्याएको परिवर्तनसँग त्यति धेरै आक्रोस जीवनमा पहिलो पटक देख्न पाएँ। एकजना युवाले आक्रोस पोखे-‘संघले आदेश देओस्- बलत्कार हुनुहुँदैन। भ्रष्टाचार हुनुहुँदैन। जातपात् छुवाछुत् लैङ्गिक विभेद हुनुहुँदैन। रोग भोक गरिबी र बेरोजगारीले कोही मर्नुपर्दैन।’

मन्दिर बन्द गर्ने, आस्थाको ढोका बन्द गर्ने, कोसौं कोस पैदल यात्रा गरेर आउने दर्शनार्थीको मन खिन्न बनाउने नास्तिक सरकारले समाज उत्थान र देश विकास गर्ला भनेर पत्याउने हामी जनता उस्तै। हामी आफैं बेवकुफ्। हामी आफू मुर्ख। हाम्रो मन्दिरको ताल्चा हामी आफैले फोर्ने हो। हाम्रा देउता हामी आफैंले फुकाउने हो। अरुले होइन हामी आफैले खुशी पार्ने हो।’

स्थानीय युवाको जोस देखेर मेरो मन पनि उद्वेलित भयो- ‘अस्पताल छैन, डाक्टर छैनन्। कोरोनाको दवाई संसारमै छैन। तर खोटाङमा अरु साधारण रोगको उपचारसमेत छैन। रोगको उपचार मन्दिर दर्शन हो। झारफूकमा विश्वास हो। बाध्यताको विश्वास। शक्ति आर्जन गर्ने ठाउँ देउताथान हो। मनोशान्ति प्राप्त गर्न पवित्रस्थल मन्दिर हो। हलेसीले मेरी आमा र सासु आमाको जस्तो धेरैको मनोकामना पूरा गरिदिनुभएको छ। त्यस्तो आस्थाको धरोहर र विश्वासको केन्द्रलाई किन तालाबन्दी गरेर भक्तजनहरुलाई सास्ती दिनु?’

आफू हलेसी धेरैपटक पुगेको भक्त। खोटाङ कर्मथलो। द्वन्द्व खेपेको सहेको बेहोरेको ठाउँ। हजारौं गोली आफूमाथि वर्षा भएको तर संयोगबस् बाँच्न पाएको ज्यान। खोटाङको अगाध माया छ मलाई।

मैले मित्रजन, शुभचिन्तकहरुलाई आश्वस्त पारें– ‘तपाईँहरुको गुनासो म ठाउँमा पुर्याइदिन्छु। किनभने भगवान फुक्का गर्ने र तिर्थालुजनलाई खुशी पारेर पठाउने तपाईँहरुको साझा माग ज्यादै मनासिव र जायज छ।’

‘आश्वासन मात्र होइन, मैले प्रतिबद्धता जाहेर गरें– हलेसी विचित्रको अनौठो स्वरुपको मन्दिर हो। संसारका अध्येता र अनुसन्धानकर्तालाई अध्ययन र अनुसन्धानको केन्द्र हो। हिन्दू, मुस्लिम, बुद्ध, क्रिश्चियन जुनसुकै धर्मावलम्बीको लागि एकपटक भ्रमण गरेर हेर्नु जान्नु बुझ्नुपर्ने अलौकिक तिर्थस्थल हो। पूर्वमन्त्री डिल्लीसेर राईले दाबी गरेझैं दुर्गम खोटाङको अपूर्व तिर्थस्थल हो हलेसी। पूर्वी नेपालको श्रीपेच हो।’

‘सम्वृद्धिको गजुर हो। तसर्थ, हलेसीको हजारौं रोपनी जग्गा अतिक्रमण हुन नदिऊँ। बरु सुन्दर प्राकृतिक बगैंचा बनाऊँ। सुन्दर चट्टानलाई श्रृङ्गार गरेर ‘रक् गार्डेन’ बनाऊँ’। चट्टानमा बनिबनाउ कलाकृतिलाई कलाकारहरु आमन्त्रण गरेर रहस्योद्घाटन गर्न लगाऊँ। नजिकै उत्तरमा दुधकोशी, दक्षिणमा सुनकोसीसम्म पुग्ने हलेसी पार्कलाई संरक्षण गरौं र विश्वकै एउटा सुन्दर ‘धर्म बिहार’ बनाऊँ। त्यसमा आफू स्वयंसेवक भएर श्रमदान गर्न पाऊँ।’

छेउका अर्का वृद्धले सुस्केरा हाल्दै भन्नुभयो– ‘ऊ राजाको हेलिप्याड्। अहिले अतिक्रमण भइसक्यो। राजा भएको भए न हेलिप्याड् लुटिने थियो, न त हलेसी महादेवको हजारौं रोपनी जग्गा अतिक्रमण हुने थियो। न दूर्लभ देउताथान नै बन्द हुने थियो।’

स्थानीयवासीहरु उत्साहित भए। उनीहरुको शुभयात्रा र शुभकामना सन्देश शिरोपर गरेर मैले बाटो तताएँ। बन्द मन्दिरको सुख्खा दर्शनले मन खुशी भएन। त्यसैले त्यहीबाट फोन अभ्यास शुरु गरें।

सम्बन्धितहरुलाई जानकारी गराएँ। स्थानीय सरकार प्रदेशको मुख ताक्ने, प्रदेशले गृह मन्त्रालय गुहार्ने, गृहले पर्यटन मन्त्रालयतर्फ औंला देखाउने र पर्यटनले पुनः स्थानीय सरकारको टाउकोमा गिरखेल्ने खेल देखेर मलाई उदेक लाग्यो।

जानपहिचानका १ जना प्रदेश मन्त्रीले वचन दिए– ‘हामीलाई जानकारी नै भएन। हुँदो हो त उहिले खोल्ने आदेश दिइसक्ने थियौं। सूचनाको लागि धन्यवाद। हामी मन्दिर तुरुन्त खोल्न लगाउने छौं।’

मैले उहाँलाई सुझाएँ-‘मन्दिर व्यवस्थापन समिति छ। स्थानीय युवाहरु स्वयंसेवा गर्न अग्रसर र आतुर छन्। मन्दिर परिसरमा नेपाल प्रहरी छ। तिनीहरुले दूरी कायम राखेर, मास्क अनिवार्य लगाउन सिकाएर भक्तजनहरुलाई दर्शन गराउन सक्दछन्।’

प्रदेश मन्त्रीको पहलता साहस र शीघ्र निर्णय क्षमता देखेर आफूलाई गर्व बोध भयो।  कठै, हामी कफ्र्यू लाउने फुकाउन बिर्सने, स्ट्याण्ड टू लाउने स्ट्याण्ड डाउन गर्न बिर्सने, बिरालोको घाटीमा घण्टी झुण्ड्याउन डराउने हाम्रो सरकार। उदेक लाग्यो, खोई बिकेन्द्रीकरण? खोई स्थानीय सरकारको पहल र साहस? अझ यो मन्दिर व्यवस्थापन समितिको स्वायत्त अधिकार क्षेत्र हो।

महामारी नियन्त्रणको निश्चित मापदण्ड कडाइका साथ र अनिवार्य पालना गर्न गराउन लगाएर मुलुकको श्रीपेचलाई निरन्तर चालु राख्न कसैले रोक्ने छेक्ने कुरा नआउनु पर्ने हो। राजाको श्रीपेचलाई बन्धक बनाए झैं जनताको श्रीपेच धार्मिक र सांस्कृतिक, आस्थाको केन्द्र देवी देउतालाई किन कतिसम्म बन्धक बनाएर राख्ने हो? र, गरिबीको रेखामुनि रहेका जमीन खोस्रेर जीविकोपार्जन गर्ने हँसमुख जनताको आर्थिक आशा भरोसा किन ठप्प पार्ने हो?

सिंहदरबारको अन्धो कानो संघीय सरकारलाई चीर निन्द्राबाट ब्युँझाउने, उत्तरदायी र जवाफदेही बनाउने, भिरबाट उद्धार गरेर सुधार्ने र जनताप्रति आस्थावान् बनाउने जिम्मेवारी प्रदेश र स्थानीय सरकारको हो रहेछ। आफ्नो गाउँ आफै बनाउँको मर्म र भावना हामी आफैले बुझ्नुपर्ने रहेछ।

अन्त्यमा, राजाको हेलिप्याड्लाई राष्ट्राध्यक्ष अथवा सरकार प्रमुखले आफू पुगेर जीवन्त राखून्। त्यहाँ उभिएर शान्ति, विकास र सम्वृद्धिको खाका कोरुन्। र पटकपटक लिएको तर कहिले कसैले पूरा नगरेको सपथ ग्रहण मनन् गरुन् र साँच्चिकै त्याग गर्ने प्रतिबद्धता जनाउन्- ‘हामी अदृश्य मालिकको होइन, मातृभूमि र नेपाली जनताको सेवामा एकाग्र भई समर्पित रहने छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *