मेरो कुर्कुच्चालाई प्रेम गर

डिसी नेपाल
२७ मंसिर २०७७ ८:१९

मलाई हैन
सक्छौ भने
मेरा फुटेका कुर्कुच्चा र पाठेघरलाई प्रेम गर ।

त्यतिबेला
मसँग थिए
मेरो आदिम रुप
संसार फाँडेर नयाँ वस्ति बसाउने उत्कण्ठा
उर्जाले भरिएको शरीर
शक्तिशाली हत्केला र पाइताला

सोच्दो छु,
त्यो दिन म चढिआएको डोली थियो या पिंजडा

मेरो शरीरसँगै तिमीले घर भित्राएका थियौ
एउटा सोच्न सिक्दै गरेको दिमाग
सपना देखिरहेको हृदय
र कुमारी पाठेघर
त्यो उर्वर भुमि !
जन्मिदै गए नयाँ मान्छेहरु
कोही तिमी जस्ता कोही म जस्ता
पालैपालो तिमीले लुछ्यौ
नानीहरुले चुसे
मेरो छातीमा बाँकी छन् अब
एक जोडी झोलिएका लाम्टा
अबिराम हिडिरहँदा
तिम्रो लालपूर्जाले चर्चिएको रेखोपाखो
सोहोर्दा सोहोर्दा तिम्रो विर्यको र्यालफ्याल र गोठको भकारो
उठाइरहँदा बर्तनको चटारो
धाँजा परेको खेत झैं
फुटे मेरा कुर्कुच्चा
चिरिए मेरा औंला र हत्केला
करकर खाइरहन्छन् हड्डीका आँख्लाहरु
कुप्रिदै गएको छ ढाड
पिप र रगत बगिरहन्छ पाठेघरबाट
किन हो, साह्रै कष्ट छ लच्किने कम्मरमा अचेल

तिमी हिडिरह्यौ ममाथि
हिडिरह्यो समय
त्यहीबाट ठप्प अडियो
मेरो जीवनको लय
छम्छमाउँदै हिड्ने रहर
मृगको पछिपछि रनवन चाहर्ने चञ्चलता
खुम्चिदै गए दुनियाँ हेर्न खुलेका आँखाका रेटिना
स्थिर हुँदै गयो दिमाग
हो म अचेल
तिमीले निल्न ठिक्क परेकी पुतलीबाट
रछ्यानमा फालिन लायक
लुम्रीझुम्री आइमाइ भएकी छु ।

अब मसँग बाँकी छैन मेरो अग्र्यानिक सुगन्ध
ह्वास्स गन्हाउँछ मेरो शरीर
घरी पसिना घरी वस्तुको मलमुत्र र केटाकेटीको गहुमुत
म साँच्चै फोहोरी आइमाई भएकी छु अचेल

अब तिमीलाई चाहिएको छ
अर्को नयाँ पुतली

ए नयाँ पुतली !
सुन ! एकपल्ट मेरो आवाज सुन !
स्विकार्नुअघि उसको प्रेम
नडराई सोध तिम्रो पे्रमीलाई
भोली फुट्नेछन् तिम्रा कुर्कुच्चा पनि
कलेंटी पर्ने छन् ओंठहरु
सुक्ने छ नितम्ब
झोलिनेछन् उठेका स्तन
र हुनेछन् लाम्टा
दुख्नेछ ढाड र पाठेघर
हुनेछौ मेरो प्रतिरुप अर्की आइमाई
के त्यतिबेला पनि उसले
प्रेम गर्न सक्छ तिमीलाई ?
होइन भने,
आऊ !
मभित्र दन्दनी बलिरहेको आगो छ
सल्काऊ तिम्रो छातीमा
जगाउ आफूलाई
झोस्दै हिड अगुल्टो
ती कुरुप मान्यताका खानीहरुमा
ती दुरुह संस्कार र दृष्टिकोणका ढड्डाहरुमा
जबसम्म तिनीहरुले गर्दैनन्
तिम्रो पाठेघर र फुटेका कुर्कुच्चाहरुलाई प्रेम ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *