बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँसी

डिसी नेपाल
२९ मंसिर २०७७ १०:१६
96
Shares

काठमाडाैं । बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ। सोमबार औँसी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ।

आज परेको सोमबारे औँसी यस वर्षको दोस्रो सोमबारे औँसी हो। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम वर्षमा दुईदेखि तीनपटकसम्म सोमबारे औँसी पर्ने गरेको बताउछन्। विसं २०७७ मा पनि गत साउन ५ गते सोमबारे औँसी परेको थियो। आगामी चैत ३० गते पनि सोमबारे औँसी रहेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख रहेको तोयनाथ पन्तको पञ्चाङ्ग (पात्रो) का सम्पादक सूर्यनाथ पन्तले बताए।

सोमबारे औँसी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए। औँसी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ। सोमबार औँसी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरूपमा उचित रहेको जनाइएको छ। प्रत्येक महिनामा आउने औँसीलाई पनि विशेष पर्वका रूपमा मनाउने वैदिक परम्परा रहिआएको छ।

माता, पिता नहुनेले भने औँसी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन्। यसका लागि पनि सोमबार परेको औँसी विशेषरूपमा मानिने गरेको धर्मशास्त्रविद् गौतमले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *