चिसो तथा शीतलहर : दलित मुसहर बस्ती प्रभावित

रासस
५ पुष २०७७ २१:३७

उदयपुर । तराई क्षेत्रलगायत जिल्लामा पनि चिसो र शीतलहर शुरु भएसँगै त्रियुगा नगरपालिका क्षेत्रको जोगीदह, जलजले, पुरानो गाईघाटसहित जिल्लाको पूर्वी क्षेत्रको चौदण्डीको हँडिया, सुन्दरपुरसहितका क्षेत्रका गरीब दलित मुसहर बस्तीका बासिन्दाको जनजीवन प्रभावित हुन थालेको छ । त्रियुगा नगरपालिकाको पुरानो गाईघाट, बगरटोल जलजले, खैनजुर र जोगीदह क्षेत्रका मुसहर बस्ती तथा हँडिया र सुन्दरपुर क्षेत्रका दलित मुसहर बस्तीमा अहिले चिसो र शीतलहरका कारण जनजीवन नराम्ररी प्रभावित हुन थालेको यस क्षेत्रका दलित समुदायका जनताले गुनासो गर्न थालेका छन् ।

त्रियुगा नगरपालिकाको पुरानो गाईघाट क्षेत्रको मुसहर तथा सदा जातिले अहिले चिसो र शीतलहर बढ्दै जान थालेपछि रात्रिको समयमा व्यवस्थित ओढ्ने कपडाको अभाव हुँदा आगोको घूर तापेर घरपरिवारले रात काट्न बाध्य हुनु परेको पुरानो गाईघाटका घुरन सदा बताउँछन् । सदा भन्छन्, “आफूहरु दशघर सदाको जग्गा पनि छैन, ओइलानी जग्गामा घाँसले बारेर फुसको छानो भएको झुप्रोमा बसोबास गर्दै आएका छौँ, अहिले शीतलहर र चिसो शुरु भएपछि गतिलो ओढ्नेओछ्याउनेसमेत आफूहरुसँग नहुँदा घरपरिवार बिजोग भएर रात काट्न परेको छ ।”

पुरानो गाईघाट क्षेत्रमा अधिकांश मुसहर जातिहरु लामो समयदेखि सानो फुसको छानो र काँसको घाँसले बारेको झुप्रोमा बसोबास गर्दै आएका छन् भने सबै जना परिवार भुइँमा नै सुत्ने गरेको कुरा उनीहरुको भनाइ रहेको छ । बल्लतल्ल जोडजाम गरेको एक जोर सिरकले सबै परिवारलाई ओढ्न नपुगेपछि रातिको समयमा घरछेउमा आगोको घुर बालेर रात काट्न शुरु गरेको पुरानो गाईघाटका ५० वर्षीय बिसनलाल सदाले बताए ।

यता त्रिनपा–२ खैजनपुरका ६८ वर्षीय मुनिलाल सदा पनि चिसोका कारण ओढ्नेओछ्याउनेको अभावमा रात काट्न पर्दाको पीडा यसरी पोख्छन् । मुनिलाल भन्छन्, “चिसो र शीतलहर शुरु भयो, सानो झुप्रो घरमा आठजनाको परिवारका लागि राम्रो ओढ्ने ओछ्याउनेसमेत अभाव हुँदा पालैपालो सुतेर रात काट्न शुरु गरेका छौँ ।” नातिनातिनी पहिला बेलुकी साँझमा नै सुत्छन् र राति नै उठेर आगो ताप्न थालेपछि आफू सुत्ने गरेको कुरा मुनिलालको दुःखेसो रहेको छ । यता जोगीदहको रुपनी तथा कङखोला बगर क्षेत्रका मुसहरको पनि चिसो र शीतलहर बढेसँगै यसरी नै रात्रिको समय गुज्रन शुरु भएको यस क्षेत्रका मुसहर बताउँछन् ।

चिसो बढ्न थालेपछि रात्रिका समयमा दाउरा बालेर आगो ताप्ने र रात कटाउने गरेको त्रिनपा–१ जोगीदह रुपनीका ५५ वर्षीय जमुन सदाको भनाइ छ । यस क्षेत्रमा झण्डै २५ घरपरिवार सदाहरु रहेको तर कसैको गतिलो घर नभएको र ओढ्नेओछ्याउनेसमेत व्यवस्थित नहुँदा आफूले चिसोका समयमा यसरी नै बर्सेनी सास्ती खेप्दै आउनु परेको स्थानीयवासी नन्दु सदा बताउँछन् ।

दिनभरि अर्कामा गएर हाजिरामा काम गरे पनि बेलुकी दिनभरको कमाईले चामल, तेल किनेर खानमात्र ठिक्क हुने हुनाले कहिल्यै पनि राम्रो ओढ्नेओछ्याउने व्यवस्था गर्न नसकिएको तीतो यथार्थको पीडा नन्दु सदा सुनाउँछन् । नन्दुका अनुसार केही वर्षअगाडि सामाजिक सङ्घसंस्था र नगरपालिकाले दिएको कपडाहरु फाट्न थालेको र अन्य ओढ्ने कपडा गरिबीका कारण व्यवस्थापन गर्न नसक्दा चिसोको समयमा पीडा सहनु परेको हो ।

चौदण्डी गढी नगपालिकाको हँडिया मुहर बस्तीमा झण्डै ३५ घरभन्दा बढी मुसहर बसोबास गर्दै आए पनि २० प्रतिशत मुसहरमात्र ओढ्नेओछ्याउने भएका छन् बाँकी ८० प्रतिशतको घरमा ओढ्ने र ओछ्याउनेको अभाव रहेको हँडिया मुसहर बस्तीका कुसेस्वर सदा बताउँछन् । कसै वा कुनै सङ्घसंस्थाले दान सहयोग ग¥यो भने यसपटकको चिसो र शीतलहर छल्न सकिने नत्र शीतलहर र यो चिसोका समयमा घुर तापेर नै रात काट्न बाध्यता रहनुपर्ने अवस्था आएको कुसेस्वर सदा बताउँछन् ।

लामो समयदेखि आफूहरु जङ्गलको छेउको ओइलेनी जग्गामा बस्न बाध्य हुन परेको र रातदिन अर्कामा मजदूरी काम गरेर घरपरिवार पाल्न पर्ने हुनाले राम्ररी ओढ्नेओछ्याउने कपडा व्यवस्थापन गर्न नसकिएको यस क्षेत्रका मुसहर समुदाय बताउँछन् । जिल्लामा यस क्षेत्रका दलितका नाममा धेरै कार्यक्रम सञ्चालन हुने गरेको तर आफूहरुले भने केही नपाउने गरेकोसमेत यस क्षेत्रका दलित सदाहरुको भनाइ छ । जिल्लामा दलितका नाममा आएको बजेटहरुले आफूका लागि चिसो जाडोका समयमा दुईचारवटा कम्मल तथा ओढ्नेओछ्याउने मात्र व्यवस्था हुनसके र सम्बन्धित निकायले गरिदिए आफूहरुका लागि कल्याण हुने यस क्षेत्रका मुसहर जातिहरुको भनाइ छ ।

वर्षौं वर्षदेखि हिउँदको चिसो र शीतलहरको समस्या झेल्दै आएका यस क्षेत्रका दलित मुसहरले चिसोका कारण धेरैले ज्यान गुमाउँदै आएका छन् । यसपटक पनि शीतलहर र चिसो शुरु भएसँगै व्यवस्थित ओढ्नेओछ्याउनेको अभावमा यस क्षेत्रका दलित मुसहरको जनजीवन नराम्ररी प्रभावित हुन थालेको हो । यस क्षेत्रका दलित मुसहर जातिका लागि चिसो र शीतलहरबाट बच्न व्यवस्थित घर र ओढ्नेओछ्याउने कपडाको व्यवस्थापन गर्न सम्बन्धित निकाय तथा राज्यको समेत उचित ध्यान जानुपर्ने जोगीदहका मुसहर समुदायका अगुवा नन्दु सदालगायत मुसहर अगुवाहरु बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *