माघ १ देखि खुल्ने भयो घान्द्रुक

डिसी नेपाल
९ पुष २०७७ १७:५८

काठमाडौं। कोरोना भाइरसको प्रभावले विगत ९ महिनादेखि बन्द रहेको घान्द्रुक जनवरी १४ अर्थात माघ १ गते देखि खुल्ने भएको छ। अन्नपुर्ण क्षेत्रको महत्वपूर्ण पर्यटकीय गाउँ खोल्ने निर्णय भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिको बिहीबार जनाएको छ।

संक्रमण केही कम भएको भन्दै घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङले जनवरी १४ देखि होटलले पाहुनाको बुकिङ लिन थाल्ने निर्णय भएको बताए।

‘संक्रमण केही कमी भएको र सबैजसो क्षेत्र खुलिसकेकोले घान्द्रुक खुलाउन व्यवसायी पनि सहमत भएका हुन्’, उनले भने।

घान्द्रुक अन्नपुर्ण क्षेत्रको प्रमुख पर्यटकीय गाउँ हो। घान्द्रुक हुँदै आन्तरिक तथा बाह्य पर्यटकहरु अन्नपुर्ण आधारशिविर (एबीसी), टाढापानी, घोरेपानीसम्म आउजाउ गर्छन्।

यस्तै घान्द्रुक हुँदै पुगिने अर्को पर्यटकीय गन्तव्य घोरेपानी पुस १ देखि नै खुला भएको थियो। तर घान्द्रुक बन्द हुँदा पाहुनाहरु घोरेपानीसम्म पुग्न सकेका थिएनन्।

घोरेपानी पुग्ने वैकल्पिक मार्ग भए पनि पर्यटकले घान्द्रुकको बाटो रोज्ने गर्छन्। घान्द्रुकको ताला खुलेसँगै अब टाढापानी, देउराली, घोरेपानीसम्म पर्यटक जान पाउने अध्यक्ष गुरुङले बताए। अध्यक्ष गुरुङ अनुसार एबीसी पदमार्गमा पर्ने छोमरोङ भने अझै खुलेको छैन। एबीसी पनि तत्काल खुल्ने अवस्था नभएको उनले बताए।

अध्यक्ष गुरुङका अनुसार घान्द्रुकमा मात्र सानातिना गरि करिब ८० वटा होटल छन्। अन्यत्रका गन्तव्य धमाधम खुल्दा पनि घान्द्रुक नखुल्दा त्यहाँका व्यवसायीको ब्यापक आलोचना भएको थियो। तर गाउँलेलाई संक्रमणबाट जोगाउनका लागि होटल नखोलेको व्यवसायीले बताउने गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *