आधुनिक साजसज्जामा शुक्ल यजुर्वेद पाठ विधिसहितको पुस्तक सार्वजनिक
काठमाडाैं। नेपालका अधिकांश वैदिक सनातन हिन्दू धर्मावलम्बीले यज्ञ गर्न प्रयोग गर्ने मन्त्रको स्रोत ‘वाजसनेयि–माध्यन्दिन–शुक्लयजुर्वेद–संहिता’ को नेपाली प्रकाशनबाट प्रकाशित शुद्ध पुस्तक बजारमा आएको छ।
वेदपाठको नियमसहित राखिएको यो पुस्तक गुरुकुल प्रकाशन देवघाटले प्रकाशित गरेको हो। पुस्तकको सम्पादन स्वामी केशवानन्द गिरीले गरेका हुन्। वेदको पुस्तक पत्रमा प्राचीन खालको हुने भए पनि यो पुस्तक भने ‘डिमाइ साइज’को आधुनिक किसिमको छ।
रेञ्जेनको खोलसहितको पुस्तकमा फन्ट पनि आधुनिक प्रयोग गरिएको छ। युनिकोडको यो फन्ट पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्ने अभियानमा लाग्नुभएका स्वामी केशवानन्द गिरीले नै विकास गरेका हुन्। यसैले फन्टको नाम पनि केएन स्वामी राखिएको छ।
पुस्तकमा वेद पाठको नियमसहित हात सञ्चालन र उच्चारण विधि पनि उल्लेख गरिएको छ। वेदको भूमिका, पृष्ठभूमिलाई नेपाली भाषामा पुस्तकमा समावेश गरिएको छ। वेदको विषयमा जान्न चाहने पाठकका लागि पनि पुस्तक उपयोगी छ ।
वेदका कतिपय विषयका पृष्ठभूमि टिप्पणीमा उल्लेख गरिएको छ। आकर्षक कागज उपयोग गरेर झोला प्रकारको गातामा सजिएको ३६० पृष्ठको पुस्तकको मूल्य रु ८०० तोकिएको छ।
आफूले गुरुकुलमा निःशुल्क पढेको र सन्न्यास लिई सबैका लागि ज्ञान बाँड्ने अभियानमा लागेकाले लागत मात्र उठ्ने गरी मूल्य तोकिएको स्वामी केशवानन्द गिरी बताउँछन्। वेदको पृष्ठभूमि बुझेर आधुनिक डिजिटल फन्टमा पाठ गर्न चाहनेका लागि पुस्तक उपयोगी छ।
पुस्तक प्रकाशनसँगै स्वामी केशवानन्दले शुक्लयजुर्वेदको सारस्वरसहितको भिडियो बनाई युट्युब च्यानलमा राख्ने तयारीसमेत गरेका छन्। श्रुतिसमेत भनिने वेदलाई कुनै समय कागजमा लेख्नसमेत नहुने धारणा राखिन्थ्यो। गुरुले शिष्यलाई कानमा सुनाएर बाँडिने ज्ञान भएकाले श्रुति परम्पराका रूपमा समेत चर्चित छ।
आधुनिक युगमा मानिसको व्यस्तता बढेसँगै गुरुबाट वेद सुनेर कण्ठस्थ गर्न फुर्सद स्मरण गर्न सक्ने क्षमतासमेत नहुने भएकाले सारस्वरसहितको भिडियो सार्वजनिक गर्न लागिएको उनको भनाइ छ।
युट्युबमा भिडियो सार्वजनिक भएपछि त्यसकै आधारमा शुद्धरूपमा सारस्वर र उच्चारण विधिसहित वेद पाठ सिक्न चाहनेका लागि पनि उपयोगी हुनेछ। चार/पाँच जनाको समूहमा यो काम गर्न लागिएको स्वामी केशवानन्द बताउँछन्।
यसले गुरुकुलमा वेद पढिरहेका विद्यार्थी र पढाउने गुरुलाई समेत स्रोत सामग्रीको काम गर्नेछ। पूर्वीय दर्शनलाई प्रविधिसँग जोड्न लागिपरेका उनले संस्कृत सिक्न चाहनेका लागि संस्कृत भाषामै कार्टुनसमेत बनाउन थालेका छन्। दुई भाग कार्टुन तयार भई सामाजिक सञ्जालमार्फत प्रतिक्रियाका लागि सार्वजनिकसमेत गरिसकिएको छ। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment