नेपाली साहित्यमा सन् २०२० : महत्वपूर्ण उपलब्धी

तर्कबहादुर थापा
१८ पुष २०७७ ९:३४

काठमाडौं। सन् २०२० ले नेपाली साहित्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्यो। वर्ष सुरु भएपछि विश्व नेपाली साहित्य महोत्सव सम्पन्न भयो। विश्वभरिका नेपालीभाषी साहित्यकारको अपूर्व जमघट भयो धनगढीमा। राष्ट्रपति विद्यादेवी भण्डारीबाट गएको वर्ष फ्रेब्रुअरीमा विश्व नेपाली साहित्य महोत्सव उद्घाटन भएपछि सबैले नेपाली साहित्यमा नयाँ किसिमको उर्जा प्रवाह भएको अनुभूति गरे।

उर्जा प्रवाहको अनुभूतिका छालहरु रोकिन नपाउँदै कोरोना महामारी सुरु भयो। स्थलगतरुपमा गरिने सभा सम्मेलन नहुने भए। देश लकडाउनमा गयो, साहित्य क्वारेन्टाइनमा।

क्वारेन्टाइनमा साहित्य पुगे पनि साहित्यकारहरुले आफ्नो कलमलाई रोकेनन्। उनीहरुका लागि अझ सफल साहित्य रचना गर्ने अवसर मिल्यो। देश नै लकडाउनमा भएका बेला साहित्यकारहरुमात्र बाहिर निस्कने कुरै थिएन। उनीहरु घरभित्र बसे र लेख्न थाले आफ्ना अनुभूतिहरु।

नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख डा. हेमनाथ पौडेलले सन् २०२० मा साहित्यकारहरुले प्रसस्त मात्रामा साधना गर्ने अवसर पाएको बताएका छन्। उनले भने, ‘लकडाउनका कारण साहित्यकारहरुले प्रसस्त साधना गर्ने अवसर पाए। विशेष गरी सन् २०२० ले साहित्यलाई अन्तराष्ट्रिय करण गर्ने अवसर दियो। अहिले नेपाली साहित्य अन्तराष्ट्रिय करण भएको छ।’

प्रज्ञा प्रतिष्ठानले पनि यो वर्ष करिव १०० अध्ययन अनुसन्धानका पुस्तकहरु निकाल्न सफल भएको बताए। उनले भने, ‘भर्चुअल माध्यामबाट भएका कार्यक्रमहरु अन्तर्राष्ट्रियकरण भए। प्रज्ञाको खर्च पनि कम भयो र त्यो खर्चलाई पनि प्रज्ञाले प्रकाशनमा लगाउन सफल भयो। त्यसैले यो वर्ष साहित्यका लागि उत्कृष्ट भएको छ।’

साहित्यमा सबैभन्दा बढी कविताहरु यो वर्ष बाहिर आएको प्राज्ञ डा. पौडेलको भनाइ छ। उनले यो वर्ष भएको लकडाउनका कारण गरेका साधनाहरुको परिणाम अहिले धमाधम पुस्तक प्रकाशन भएको बताए।

साहित्यकार तथा कवि श्रवण मुकारुङ ‘क्वारेन्टिनबाट कविता’ संग्रह नै प्रकाशन गर्ने तयारीमा रहेका छन्। उनले क्वारेन्टिनबाट कविता छनोटको काम सम्पन्न भएर सम्पादन पनि अन्तिम चरणमा भएको बताएका छन छन्।

आउँदो माघमा बजारमा ल्याउने गरी तयारी भएको सुनाउँदै मुकारुङले भने, ‘लकडाउन सुरु भएपछि साहित्यमा नयाँ प्रयोग भएको छ। सभा सम्मेलनहरु गरेरमात्र साहित्यमा विकास हुन्छ भन्नेमा मलाई विश्वास छैन,’ साहित्यकार मुकारुङले भने, ‘लकडाउन र क्वारेन्टाइनले झन साहित्यकारलाई फाईदा नै गर्यो। मलाई त इन्द्रबहादुर राईले भनेको कुरा सम्झनामा आउँछ। जव बाहिर निस्कियो भने साहित्यकार सकिन्छ, गुफा पस्यो भने नेता सकिन्छ। अहिले त साहित्यकारहरुलाई गुफा मिल्यो। उनीहरु चाहेर पनि बाहिर जान पाएनन्। रचनाहरुमा निखार्ने अवसर पाए।’

लकडाउन सुरु भएको दोस्रो दिनबाट नै सामाजिक सञ्जाल फेसबुकमा कविता बाचन गर्न थालेका मुकारुङले लकडाउन र प्रविधिको संयोगबाट साहित्यमा नयाँ ट्रेनको विकास भएको बताए। उनले भने, ‘मैले चैत्र १३ गतेदेखि क्वारेन्टाइनबाट कविता सुरु गरेको हुँ। अहिले अन्य देशको सहित गरेर १४२ कविता छनोट गरेको छु। र प्रकाशन गर्ने तयारीमा छु। सायद माघसम्म आउछ होला।’

प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको साहित्य महोत्सवमा प्रथम हुन सफल साहित्यकार भैरवी भूगोल पनि सन २०२० मा नेपाली साहित्यले राम्रो प्रगति गरेको सुनाउँछिन्। सबै क्वारेन्टाइनमा बसेपछि रचना गर्नेहरुले रचना गर्न पाएको र भर्चुअलमा पनि कार्यक्रम भइरहने भएकाले गएको वर्ष नेपाली साहित्यका लागि उत्कृष्ट भएको उनले सुनाइन्।

उनले भनिन्, ‘कोरोना महामारीले सबै क्षेत्रमा पारेको क्षतिले मन पोले पनि साहित्य क्षेत्रमा भने उल्लेख्य सहयोग गरेको छ। साहित्य क्षेत्रमा नामै नसुनेका तर, राम्रो लेख्न सक्ने श्रष्टाहरुको उदय भएको छ। पुस्तक प्रकाशनका हिसाबले पनि यो वर्ष उल्लेख्य मात्रामा साहित्य पुस्तकहर प्रकाशन भएका छन्। समग्रमा नेपाली साहित्यका लागि सन् २०२० उत्कृष्ट वर्ष भयो।’

यो वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा साहित्यको इतिहास भाग २ पनि प्रकाशनमा ल्याएको छ। नेपालका मातृभाषाहरु उराँव, किसान, कुमाल, कोयी, जिरेल, ताजपुरीया, धिमाल, नेपाल भाषा लगायतका मातृभाषाका साहित्य समेटिएको किताबको दोस्रो भाग प्रकाशन गरेको हो। यस्तै, २०२१ मा हुने मातृभाषा साहित्य महोत्सवको तयारी पनि प्रतिष्ठानले २०२० मै गरेको थियो।

राष्ट्रिय कविता महोत्सव २०७७ पनि प्रज्ञाले सन् २०२० मै सम्पन्न गरेको छ। यस्तै, नेपाली साहित्यले डिजिटल प्लेटफर्म पनि सन् २०२० प्राप्त गरेजति यसपूर्वका वर्षहरुमा भएको थिएन। लकडाउनका कारण श्रष्टा, सर्जक र दर्शक घरभित्र भएपछि डिजिटल सभा सम्मेलन भए। सामाजिक सञ्जाल फेसबुक, जुम जस्ता डिजिटल प्लेटफर्महरुले सन् २०२०मा साहित्यको सम्बर्धन तथा प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह ग-यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *