नयाँ स्वरुपको कोरोना भाइरस पुरानै स्वास्थ्य मापदण्डले नियन्त्रण हुन्छ : स्वास्थ्य मन्त्रालय

डिसी नेपाल
२३ पुष २०७७ १०:५१

काठमाडौं। नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ स्वरुपको कोरोना भाइरसलाई पनि पुरानै स्वास्थ्य मापदण्डले नियन्त्रणमा लिन सकिने जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नयाँ स्वरुपको कोरोना भाइरसका लागि पनि पुरानै स्वास्थ्य मापदण्ड लागू हुने बताएका हुन्।

बेलायतबाट आएकामध्ये ५ जनामा कोरोना पोजेटिभ देखिएको बताउँदै प्रवक्ता गौतमले ‘जीन सिक्वयन्सिङ’का लागि स्वाब बाहिर पठाएको बताए। उनले नेपालमा पनि ‘जीन सिक्वयन्सिङ’को काम भइरहेको भन्दै क्रस चेकिङका लागि स्वाब बाहिर पनि पठाएको बताए।

‘बेलायतबाट आएकाहरुको परीक्षण गर्दा ५ जना पोजेटिभ देखिनु भएको छ। उहाँहरुको स्वाब ‘जीन सिक्वयन्सिङ’का लागि बाहिर पठाइएको छ। रिजल्ट आउन बाँकी छ,’ गौतमले डिसी नेपालसँग भने, ‘नेपालको प्रयोगशालामा पनि ‘जीन सिक्वयन्सिङ’ भइरहेको छ। क्रस चेकिङका लागि बाहिर पनि पठाइएको हो।’

‘यो नयाँ स्वरुपमा आयो तर, भाइरस कोभिड–१९ नै हो। स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्यका मापदण्डहरु अपनाइएको अवस्थामा नयाँ स्वरुपको भाइरसलाई पनि नियन्त्रणमा लिन सक्छौं।’

उनीहरु ५ जनामा नयाँ स्वरुपको भाइरस प्रवेश गरेको छ वा पुरानै भाइरसले संक्रमित गरेको छ, छुट्याउनकै लागि ‘जीन सिक्वयन्सिङ’ गर्नु पर्ने प्रवक्ता जागेश्वर गौतमले बताए।

उनले नयाँ स्वरुपमा आए पनि भाइरस कोरोना नै भएको बताए। उनले भने, ‘यो नयाँ स्वरुपमा आयो तर, भाइरस कोभिड–१९ नै हो। स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्यका मापदण्डहरु अपनाइएको अवस्थामा नयाँ स्वरुपको भाइरसलाई पनि नियन्त्रणमा लिन सक्छौं।’

विदेशबाट आएको जो कोही अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नु पर्ने उनले बताए। यस अघिका पोजेटिभ देखिएका ५ जना र उनीहरुको सम्पर्कमा आएका सबैको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने काम भइरहेको पनि उनले जानकारी दिए।

बेलायतमा कोरोनाको नयाँ स्वरुपको भाइरस फेला परेको थियो। नयाँ स्वरुपको भाइरसले संक्रमण फैलाउन सक्ने क्षमता झण्डै ७० प्रतिशत बढी राख्ने भएकाले अनियन्त्रित भएको भन्दैं लकडाउनको घोषणा गरिएको छ।

नेपालमा कोरोना भाइरसको कुनै प्रवाह नगरी बाहिर निस्कने, भिडभाड गर्ने र सरकारको तर्फबाट पनि विद्यालय, फिल्महल खोल्ने निर्णय भएको छ। राजनीतिक पार्टीको तर्फबाट समेत कार्यकर्ता भेला, सेमिनार, गोष्टि गर्नेकाम भएको छ।

जनस्वास्थ्य विज्ञका अनुसार पार्टीहरुले अहिले गरेको कार्यको परीणाम १ महिनादेखि २ महिना भित्रमा देखिने छ। उनीहरुले मानिसलाई सभा, सम्मेलन र आन्दोलन भन्दै भेला गराउन नहुने तर्क प्रस्तुत गरेका छन्।

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र समिर कोरोना भाइरस संक्रमण भएको केही हप्तापछिमात्र देखिने भएकाले अहिले गरिएका भेलाहरुको परीणाम महिना दिनपछि बिकराल भएर आउन सक्ने संकेत गर्छ। ‘उनले नयाँ स्वरुपको भाइरसले ७० प्रतिशत बढी संक्रमण गर्नसक्ने क्षमता राख्दछ,’ डा. समिरले भने, ‘हामिले पहिलेदेखि नै भन्दै आएका छौं।

मान्छेको हुलहुज्जत हुन, भेला गराइनुले कोरोनाको संक्रमणलाई टेवा पुग्छ। कोरोनाको लागि उपयुक्त वातावरण राजनीतिक दलहरुले गर्दै आएका छन्। यो वातावरणमा नयाँ स्वरुपको भाइरस आयो भने जनजीवन अस्तव्यस्त हुने कुरामा दुईमत छैन।’

समग्रमा नयाँ स्वरुपमा आएको भाइरस तथा पुरानो कोरोनाबाट बच्नका लागि आत्म अनुशासनको अत्यन्तै महत्वपूर्ण भूमिका रहने जनस्वास्थ्य विज्ञहरुको भनाई छ। उनीहरुका अनुसार हरेक व्यक्तिले आफूलाई कोरोनाको महामारीबाट टाढा राख्न सक्नु पर्छ। ‘यसका लागि विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले अबलम्बन गरेका स्वास्थ्य मापदण्डहरुलाई अक्षरस पालना गर्नुको विकल्प हुँदैन्।’ जनस्वास्थ्यविद् डा. समिरले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *