भोलि परराष्ट्रमन्त्री भारत जाँदै, कोरोना भ्याक्सिन मुख्य प्राथमिकता, स्वास्थ्य सचिव पनि जाने

डिसी नेपाल
२९ पुष २०७७ १२:५६

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भोलि तीन दिने भ्रमणका लागि भारत जाँदैछन् । नेपालका लागि भारतमा उत्पादित कोभिड–१९ भ्याक्सिन सुरक्षित गर्नु उनको भ्रमणको मुख्य प्राथमिकता हुने भ्रमणसँग सम्बद्ध स्रोतलाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले लेखेको छ । ज्ञवाली भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा भारत जाँदैछन् । नेपाल भारत संयुक्त आयोगको छैटौ बैठकमा सहभागी हुनको लागि परराष्ट्रमन्त्री भारत जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै बैठकमा व्यापार, ट्रान्जिट, ऊर्जा, सीमा, कोभिड–१९ सहकार्य, संरचना, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति लगायतका विषयमा छलफल हुने बताएको छ । मन्त्रालयको विज्ञप्तिमा परराष्ट्रमन्त्रीको साथमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, विदेश सचिव भरत पौडेल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि भारत जानेछन् । स्वास्थ्य सचिव समेत जाने भएसँगै कोभिड १९ भ्याक्सिनको विषयमा ठोस कदम चालिने र सम्झौतामा हस्ताक्षर हुने विश्वास गरिएको छ ।

यसअघि इण्डिया टुडेले भारतले नेपाललाई भ्याक्सिन दिने देशहरुमध्ये प्राथमिकतामा राखेको बताएको थियो । रिपोर्टअनुसार नेपालसहित बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तान समेत भारतको प्राथमिकतामा छन् । भारतमा ‘कोभिशिल्ड’ र ‘कोभ्याक्सिन’ नामका २ भ्याक्सिनले आपतकालीन प्रयोगको स्वीकृति पाइसकेका छन् । रिपोर्टअनुसार नेपालले भारतसँग १२ मिलियन डोज भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेको छ । र, भारतले नेपालले मागेजति नै भ्याक्सिन डोज आपूर्ति गर्ने सम्भावना छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *