अर्थाभावले तीन वर्षदेखि ओछ्यानमै

डिसी नेपाल
१ माघ २०७७ १०:२५

सिमिकाेट । तीन वर्ष अगाडि लडेर टाउकोको नशा च्यापिएर बिरामी भएका एक युवकको अर्थाभावका कारण उपचारमा समस्या भएको छ। स्थानीय र जिल्लामा उपचार गर्दा निको नभएपछि अर्थाभावले जिल्ला बाहिर लगिए पनि उपचार गर्न समस्या भएको हो।

घरको आर्थिक अवस्था कमजोर भएपछि जिल्लाको दक्षिण क्षेत्रको चङ्खेली गाउँपालिका–२ का नगेन्द्र सुनारको उपचार गर्न समस्या भएको उनका बुवा पौमल सुनारले जानकारी दिए। तीन वर्ष अगाडि लडेर बिरामी भएका सुनारलाई शुरुमा घरेलु उपचार गरिएको र सञ्चो नभएपछि जिल्ला अस्पतालमा भर्ना गरी उपचार गर्दा पनि सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौँ लगिए पनि अर्थाभावकै कारण समस्या भएको जनाइएको छ।

चिकित्सकको सुझावअनुसार आफूसँग भएको जग्गा बिक्री गरेर जिल्ला बाहिर लगे पनि उक्त रकम सकिएपछि उपचारमा समस्या भएको हो। तीन महिना अगाडि बिरामीलाई काठमाडौँ लगे पनि सञ्चो नभएको बताइएको छ।

अर्थाभावकै कारण बिरामी छोरालाई अस्पतालमा भर्ना नगरेर एउटा कोठामा राखिएको पौमलले बताए। आर्थिक सहयोग प्राप्त भए छोरोलाई बचाउने चाहना रहेको उनले सुनाए। उनले आफूलाई आर्थिक सहयोग गरेर उपचारबाट बचाइदिन आग्रह गरेका छन् । बिरामी सुनारलाई सहयोग गर्न चाहने व्यक्तिले मोबाइल नं ९८४५४४२९३३ मा सम्पर्क गर्न सक्ने परिवारले जनाएका छन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *