विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ

डिसी नेपाल
३ माघ २०७७ ११:०१

काठमाडौँ । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिएका छन । यसअघिको बरियतामा दाहाल सातौँ स्थानमा रहेका थिए ।

दाहालभन्दा माथि डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर रहेका छन । विश्व बरियतामा डेनमार्कका मुलर शीर्षस्थानमा तथा भारतका कपुर दोस्रो स्थानमा उक्लिएका छन । यसअघि मुलर पाँचौँ तथा कपुर चौथो स्थानमा रहेका थिए । नेपालका जुनियर खेलाडी दाहालले पाएको यो अहिलेसम्मकै ठूलो सफलता हो । व्यक्तिगत तथा देशकै लागि ठूलो उपलब्धि भएको दाहालले बताए । उनी पुष्पलाल स्मृति ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिता खेल्ने क्रममा सिरहाको गोलबजारमा रहेका छन । दाहाल शुक्रबार भएको क्वाटरफाइनलको खेलमा नवीन श्रेष्ठलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन ।

नेपाली ब्याडमिन्टनको इतिहासमा दाहालले प्राप्त गरेको यो नै सबैभन्दा ठूलो सफलता भएको ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले जानकारी दिए । सुदूरपश्चिमको दार्चुला घर भएका दाहाल हालसम्म कुनै पनि विभागीय क्लबमा आवद्ध भएका छैनन । उनी आफ्नो प्रदेशबाट नै ब्याडमिन्टन खेल्दै आएका छन । विसं २०७६ चैतमा विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको बरियतामा दाहाल सातौँ स्थानमा रहेका थिए ।

विसं २०७६ मङ्सिरमा जारी विश्व बरियतामा दाहाल ३२औँ स्थानमा, पुस दोस्रो साता १४औँ स्थानमा तथा पुस अन्तिम साता १०औँ स्थानमा उक्लिएका थिए । दार्चुला सदरमुकाम खलङ्गा घर भएका १७ वर्षीय दाहाल हाल ललितपुरको जाउलाखेलस्थित डाँफे इङ्गलिस बोर्डिङ स्कूलमा १० कक्षामा अध्ययनरत छा । विश्व ब्याडमिन्टन महासङ्घले विश्वभरका सिनियर र जुनियरतर्फका ब्याडमिन्टन खेलाडीको विश्व बरियता निर्धारण गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *