कोरोना महामारीः ‘जहिलेसम्म भ्याक्सिन लाउँदैनौं त्यसबेलासम्म कोही सुरक्षित छैनौं’

धनकुमार कार्की
५ माघ २०७७ ६:४३

काठमाडौं। ‘कोरोना केही होइन, साधारण रुघाखोकी मात्र भन्नेहरुका लागि जसको ३०/३२ वर्षको छोराको कोरोनाले ज्यान लिएको छ उसलाई सोध्न जानुहोला।’

यो भनाइ शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई कोरोनालाई अहिले आममानिसले केही होइन भन्न थालेका छन्, साँच्चै कोरोना केही होइन र? भन्ने प्रश्नको जवाफ हो।

विश्व महामारीको रुप लिएको कोरोना भाइरसले विश्वभर करिव १ वर्षमा २० लाख बढी मानिसको ज्यान लिइसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पनि आजका दिनसम्म १९ सय ५९ जनाको मृत्यु भइसकेको छ।

घट्दो तथ्याङ्क

इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले पछिल्लो समय नेपालमा कोरोना संक्रमण घट्दै गएको जनाएको छ। पछिल्लो समय विकसित मुलुकहरुलाईसमेत हम्मेहम्मे पारेको कोराना भाइरसले नेपालको तथ्याङ्कमा केही कमी आउँदा नेपालीहरुमा भने आशा पलाएको छ।

सार्क मुलुकमध्ये नेपाल सक्रिय कोरोना संक्रमितको संख्या कम हुनेमा अग्रस्थानमा देखिएको छ। यो समाचार तयार पार्दासम्म (माघ ४ गते) को तथ्यांक अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको छ।

कुल संक्रमित मध्ये १ दशमलव ४६ प्रतिशत सक्रिय संक्रमित छन्। नेपालमा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ।

कोरोनामुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ। यो तथ्यांक हेर्दा ९७ दशमलव ८ प्रतिशत संक्रमण मुक्त भइसकेका छन्। निको हुनको प्रतिशतमा पनि नेपाल सार्क मुलुक मध्ये अग्रस्थानमा छ।

नेपालमा कोरोना संक्रमणको दर उच्च भएका बेला सरदर दश हजारको हाराहारीमा पीसीआर परिक्षण गर्दा सरदर २ हजारको हाराहारीमा संक्रमित भेटिन्थ्यो। तर पछिल्ला दिनहरुमा सरदर ५ हजारको हाराहारीमा पीसीआर परीक्षण गर्दा ४ सयको हाराहारीमा संक्रमित भेटिएको छ।

धेरै मुलुकमा कोरोना संक्रमण दर शून्यमा पुगेर फेरि दोस्रो लहर सुरु भएको छ। त्यसैले यसतर्फ पनि सचेत हुँदै नागरिकले जनस्वास्थ्यका मापदण्ड राम्रोसँग पालना गर्ने र सरकारले संक्रमण नियन्त्रणको रणनीति अझ शसक्त बनाएर संक्रमणको दोस्रो लहरबाट बच्नुपर्छ

कोरोना संक्रमित घट्दै गएपछि कोरोना अस्पतालका बेडहरु पनि खाली हुँदै गएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले पनि कोरोनाका बिरामी घटेको जनाएको छ।

कोरोना संक्रमित घटेपछि शुक्रराज अस्पतालले माघ १ गतेबाट कोरोना बाहेकका बिरामीलाई पनि भर्ना लिन थालेकोे छ। अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले वार्ड र आइसीयु दुवैमा कोरोना संक्रमित घटेकाले अन्यलाई पहिले जस्तै सामान्य वा बनाउने बताए। उनले कोरोना बाहेकका बिरामीलाई पनि भर्ना लिन थालेकोे डिसी नेपाललाई जानकारी दिए।

इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले असोजमा गरेको अनुसन्धानमा नेपालमा धेरैलाई भाइरस संक्रमण भएर थाहै नपाइ निको भैसकेको पनि भेटिएको थियो।

पछिल्लो समय परिक्षणको दर घट्दै गएको र मानिसहरुले कोरोना केही होइन भनेर जाँच गर्न नगएका कारण संक्रमण घटेको जनस्वस्थ्यविद डा. रविन्द्र पाण्डे बताउँछन्।

‘परीक्षणको दायरा पनि कम छ, यदि कोरोना संक्रमण बढेको भए, अस्पतालहरु भरिने थिए मृतकको संख्या बढ्ने थियो। त्यो भएको छैन, संक्रमण घट्दो गतिमा छ।’ उनले भने, ‘नेपालमा मात्र होइन दक्षिण एसियामै संक्रमणको दर घटेको देखिन्छ। तर, हाम्रोमा परीक्षण गर्न सरकारले त्यति तादरुकता देखाएको छैन। आम नागरिक पनि कोरोन भैहाले पनि अस्पताल जान, जाँच गर्न इच्छुक छैनन्, त्यसैले गर्दा त्यसैले गर्दा घटेको छ।’

‘आइसियुको संख्या हेर्ने हो भने त्यसमा अहिले २६०/७० जना छन्। नेपालमा कोरोना संक्रमित दर उच्च हुँदाखेरी आइसियूमा ४०० जना हुन्थे। यसले हेर्दा पनि संक्रमण घटेको देखिन्छ।’

घट्यो पीसीआर

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा अहिले दैनिक सरदर १३०/४० पीसीआर परिक्षण हुने गरेको छ। यो पहिलेको तुलनामा निकै कम हो।  निर्देशक डा. राजभण्डारीका अनुसार अहिले अधिकांश पीसीआर गर्न आउनेहरु लक्षण देखिएर नगरी नहुने भएपछि मात्र आउने गरेका छन्। यसले गर्दा कम पीसीआर परीक्षण हुन थालेको हो।

दोस्रो लहरको डर

बेलायत लगायत अन्य मुलुकमा कोरोनाको नयाँ स्वरुप पनि भेटिएकोले सबैले जनस्वास्थ्यका मापदण्ड पालन गरेर कोरोनाको नयाँ स्वरुपलाई रोक्नतर्फ सचेत हुनुपर्ने शुक्रराज अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बताउँछन्।

धेरै मुलुकमा कोरोना संक्रमण दर शून्यमा पुगेर फेरि दोस्रो लहर सुरु भएको छ। त्यसैले यसतर्फ पनि सचेत हुँदै नागरिकले जनस्वास्थ्यका मापदण्ड राम्रोसँग पालना गर्ने र सरकारले संक्रमण नियन्त्रणको रणनीति अझ शसक्त बनाएर संक्रमणको दोस्रो लहरबाट बच्नुपर्ने जनस्वस्थ्यविद डा. रविन्द्र पाण्डेको सुझाव छ।

‘सबैभन्दा ठूलो जोखिम दोसा्रे लहर आउँछ कि भन्ने नै हो। हाम्रो समाजमा कोरोना विद्यमान छ तर परीक्षण गर्ने आइसोलेसनमा राख्ने जस्ता मापदण्डहमा सरकारले ध्यान दिइरहेको छैन,’ डा पाण्डेले भने,‘राजनीतिक पार्टीहरुको आन्दोलन भिडभाड जुलुस, स्कुलहरु खोल्ने जस्ता घटनाहरुले गर्दा र कसैलाई संक्रमण भयो भने ठूलो मासलाई सर्ने सम्भावना हुन्छ। स्कुलमा बच्चाहरुलाई संक्रमण भयो भने घरघरमा संक्रमण फैलने हुन्छ।’

सार्कमै कोरोना नियन्त्रण गर्ने पहिलो मुलुक बन्न सक्छ नेपाल

१२ प्रतिशत भन्दा कम सक्रिय संक्रमितको संख्या हुनुलाई विश्व स्वास्थ्य संगठनले जोखिम सूचीबाट हटाउने गरेको छ। नेपाल अहिले न्यून जोखिम सूचिमा रहेको छ।

नेपालमो कुल संक्रमित मध्ये १ दशमलव ४६ प्रतिशत सक्रिय संक्रमित छन्। संक्रमण यही हिसाबले घट्दै जाने र भाइरसको दोस्रो लहर सुरु नहुने हो भने सार्क मुलकुमा नेपाल कोरोना नियन्त्रण गर्ने पहिलो मुलुक बन्न सक्ने विज्ञहरुको अनुमान छ।

स्वास्थ्य मन्त्रालयले पनि देशभर संक्रमित घट्दै गएको र अवस्था सामान्यतिर फर्किरहेको जनाएको छ। नेपालमा कुल पीसीआर गरिएकामा संक्रमण दर १२.२८ प्रतिशत रहेको छ। सार्कदेशमा सबैभन्दा बढी सक्रिय संक्रमित यत्तिबेला भुटानमा छन्।

जहाँ कुल संक्रमित मध्ये ३४.२ प्रतिशत सक्रिय संक्रमित छन् तर त्यहाँको संक्रमण दर ०.२३ प्रतिशत मात्र रहेको छ। त्यस्तै, कुल संक्रमित मध्ये पाकिस्तान ६.६८, श्रीलंकामा १३.७, अफगानिस्थानमा १०.८२, बंगलादेश ९, माल्दिसमा ६ र भारतमा १.९८ प्रतिशत सक्रिय संक्रमित छन्।

संक्रमणको दर भने पाकिस्तान ७.०४, श्रीलंकामा ३.५६, अफगानिस्थानमा २३.८९, बंगलादेश १५.२६, माल्दिसमा ४ र भारतमा ५.६६ प्रतिशत रहेको छ। सार्क मुलुकमा नेपाल सक्रिय संक्रमित सबैभन्दा कम भएको र निको हुने प्रतिशत सबैभन्दा बढी भएको मुलुक हो । संक्रमण दरमा भने तेसा्रे स्थानमा छ।

तर तथ्यांक घटेपनि सबैले कोरोनको न्युनतम मापदण्डहरु पालना गरिरहनुपर्ने शुक्रराज अस्पतालका निर्देशक राजभण्डारीको तर्क छ।
यस्तै, जनस्वस्थ्यविद डा.पाण्डेले भने, ‘जहिलेसम्म हामीले भ्याक्सिन लाउँदैनौ त्यसबेलासम्म कोही सुरक्षित छैनौं’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *