पहिलो जितसँगै सुदूरपश्चिम प्रदेशको पिएम कपमा सुखद अन्त्य

डिसी नेपाल
११ माघ २०७७ १५:४९

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा प्रदेश २ लाई पराजित गर्दै सुखद अन्त्य गरेको छ । आईतवार समुह चरणको अन्तिम खेलमा प्रदेश २ लाई ३ विकेटले पराजित गर्दे सुदूरपश्चिमले प्रतियोगितामा सान्त्वना जित सहित सुखद अन्त्य गरेको हो । प्रतियोगितामा ३ खेल खेलेको प्रदेश २ ले कुनैपनि खेलमा जित हासिल गर्न सकेको छैन । किर्तिपुर मैदानमा टस जितेर प्रदेश २ लाई ब्याटिङ गर्ने निम्तो दिएको सुदूरपश्चिमले प्रदेश २ लाई ४२ ओभरमा अल आउट बनायो । टोलीका लागि शेर मल्ल र नरेन्द्र साउदले समान २–२ विकेट लिए । सुदूरपश्चिमका हेमन्त धामी र भोजराज भट्टले पनि १–१ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ का लागि ओपनर हरिशंकर साहले सर्वाधिक ६० रन बनाउदा बिवेक यादव (४१), मेहबुब आलम (२३), राहुल प्रताप सिंह (१२) र कुमार थापाले अविजित (११) रन बनाए ।

एकसय ९५ रनको लक्ष्य पाएको सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । टोलीलाई सान्त्वना जित दिलाउन प्लेयर अफ द म्याच चुनिएका सन्जु धामीले अर्धसतकिय पारी खेले । मात्र ३५ बलको सामना गरेका धामीले ८ चौंका र २ छक्काको मद्दतमा ५७ रन बनाए । टोलीको जितमा कप्तान खडग बोहरा (४३), ओपनर गजेन्द्र बोहरा (३९) र अरुण ऐरिले (१९) रनको योगदान दिए । बलिङमा प्रदेश २ का लागि कुमार थापाले ३ विकेट लिदा हरिशंकर साहले २ विकेट लिए । विवेक यादव र रवि साहको नाममा एक–एक विकेट रहयो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *