होबार्टद्वारा सिड्नी पराजित, सन्दीपले लिए दुई विकेट

डिसी नेपाल
११ माघ २०७७ १८:१७

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध होबार्ट हरिकेन्सले अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी–२० क्रिकेटमा जित निकालेको छ । मेलबर्नमा आइतबार भएको खेलमा होबार्टले सिड्नी सिक्सर्सलाई ७ रनले हराएको हो ।

होबार्टले दिएको १ सय ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो ।

सिड्नीका जोर्डन सिल्कले ७८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान मोइस हेन्रिक्सले ४३ रन जोडे । होबार्टका नाथन एलिसले ३ विकेट लिए । सन्दीप लामिछाने र स्कट बोलाण्डले २/२ विकेट लिए । सन्दीपले २४ रन खर्चिएर २ विकेट लिएका हुन् । सन्दीपले हालसम्म ८ विकेट लिईसकेका छन् ।

यस अघि पहिले ब्याटिङ गरेको होबार्टले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । होबार्टका लागि म्याथ्यु वेडले सर्वाधिक ८६ रन जोडे । यस्तै डीआर्सी शर्टले ७२ रन बनाए । सिड्नीका सिन एब्बट, ज्याक बल र बेनले २/२ विकेट लिए ।

जितसँगै होबार्ट पाँचौं स्थानमा उक्लिएको छ । होबार्टले १३ खेलमा २७ अंक जोडेको छ । सिड्नी ३२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *