प्रधानमन्त्री कपः एपीएफ र पुलिस तथा वाग्मती र आर्मी सेमिफाइनलमा भिड्ने

डिसी नेपाल
१२ माघ २०७७ २०:२५

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, वाग्मती प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब जारी चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह ‘ए’ बाट एपीएफ र आर्मी तथा समूह ‘बी’ बाट वाग्मती प्रदेश र पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका हुन् । एपीएफ समूह ‘ए’ को विजेता र आर्मी समूह ‘बी’ को उपविजेता तथा वाग्मती समूह ‘बी’ को विजेता र पुलिसले समूह ‘ए’ को उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । एपीएफ क्लब र पुलिस क्लबबीच माघ १४ गते पहिलो सेमिफाइनल तथा आर्मी र वाग्मती प्रदेशबीच माघ १५ गते दोस्रो सेमिफाइनल खेल हुनेछ ।

यसैबीच समूह चरणका अन्तिम दुई खेल आज सम्पन्न भएका छन् । एपीएफले आर्मी क्लबलाई ६ रनले तथा पुलिस क्लबले प्रदेश नं २ लाई आज भएको खेलमा चार विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबले टस जितेर फिल्डिङ रोजेको थियो । एपीएफले ४९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै २४० रन बनायो । २४१ रनको विजय लक्ष्य आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २३४ रन मात्र बनाउन सक्यो । आर्मीका लागि अनिल मण्डलले ४५, राजेश पुलामीले ३३, रोहित पौडेलले ३०, विक्रम सोबले २८, भीम कार्कीले २७, लोकेश बमले २१, शाहब आलमले २० तथा आकाश चन्दले अविजित १६ रन बनाए ।

बलिङतर्फ एपीएफका कमलसिंह ऐरीले तीन तथा भुवन कार्कीले दुई विकेट लिए । यसअघि एपीएफका लागि ब्याटिङ गर्दै सुमित महर्जनले ४६, सुवास खकुरेलले ३८, सन्दीप जोराले २८, कप्तान शरद भेषवाकरले २४, बसन्त रेग्मीले २० तथा अमरसिंह रौटेलाले २६ रनको योगदान दिए । बलिङतर्फ आर्मीका हरि चौहान एक्लैले पाँच विकेट लिए । यस्तै साहब आलमले दुई तथा आकाश चन्द, सुशन भारी र विक्रम सोबले एक एक विकेट लिए।

यसैगरी मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा टस हारेर ब्याटिङ गरेको प्रदेश नं २ ले ४७ ओभरमा ९ विकेट गुमाउँदै १६९ रन बनायो । जितका लागि १७० रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ३८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका लागि अनिलकुमार शाहले अविजित ४७, कप्तान मञ्जित श्रेष्ठले अविजित १२, कुशल भुर्तेलले ४३, सुनिल धमलाले १३, अमित श्रेष्ठले १७ तथा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।

बलिङतर्फ प्रदेश २ का कुमार थापा र विवेक यादवले तीन तीन विकेट लिए। यसअघि पहिला ब्याटिङ गरेको प्रदेश–२ का लागि हरिशङ्कर साहले ५३, हिमान्शु दत्तले १६, रवि सिंहले १२, विशाल शुश्लिङले १२, आदिल अन्सारीले १५ तथा सुरज कुर्मीले १३ रन बनाए । बलिङतर्फ पुलिस क्लबका सागर ढकालले दुई, ललितनारायण राजवंशीले चार तथा पवन सरार्फले एक विकेट लिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *