एक पालिका : एक खेलमैदान बनाइँदै

डिसी नेपाल
१३ माघ २०७७ १०:३४

दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा खेलमैदान निर्माणका लागि गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । एक पालिका : एक खेलमैदान कार्यक्रमबमोजिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले गाउँपालिकाको झापुटारमा खेलमैदान निर्माणका लागि बजेट विनियोजन गरेको हो । ऋषिङ–१ झापुटारस्थित खेलमैदानका लागि रु २० लाख बजेट विनियोजन गरिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए । प्रदेश सरकारले विनियोजन गरेको बजेट स्थानीय तहमा पठाइने र उक्त कामको कार्यान्वयन स्थानीय तहले गर्ने मन्त्री गुरुङले बताए । खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेकाले सबै पालिकामा खेलमैदान र रङ्गशाला निर्माण गर्ने सरकारको लक्ष्य रहेको गुरुङले बताए ।

साथै प्रदेश सरकारले ऋषिङ–६ चालिसेस्थित खेलमैदानका लागि पनि रु १० लाख बजेट विनियोजन गरेको छ । खेलाडी, खेल प्रशिक्षक, महिला, बालबालिका, युवाको खेलकूदको मध्यमबाट शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासका लागि गाउँपालिकामा खेलमैदान र नगरपालिकामा रङ्गशाला निर्माण गरी खेलकूद विकासका पूर्वाधार तयार गर्ने प्रदेश सरकारको लक्ष्य रहेको छ । खेलमैदान निर्माणका लागि सम्बन्धित स्थानीय तहले साझेदारी गर्नुपर्नेछ । खेलमैदान निर्माणका लागि आवश्यक डिजाइन, लागत अनुमानसहितको स्वीकृत अनुमानित लागत र विस्तृत परियोजना प्रतिवेदन प्रदेश सरकारसमक्ष बुझाउनुपर्ने प्रावधान छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *