पशुपति पुग्नासाथ प्रधानमन्त्रीको मन पग्लियो, ठाउँको ठाउँ ३० करोड दिने आदेश

डिसी नेपाल
१४ माघ २०७७ १४:३७
816
Shares

काठमाडाैं। मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शनमात्रै गरेनन्, त्यहाँस्थित शिवलिंगमा सुनको जलहरी राख्नका निम्ति ठाउँको ठाउँ ३० करोड रुपैयाँ लेखेरै दिएका छन् ।

पशुपतिको पूजा अर्चनाका क्रममा उहाँले शुरुमै ५१ हजार खर्च लाग्ने गरी लाखबत्ति बालेर रुद्री पूजा गरे । अनि, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाललाई सोधे, ‘यहाँ सुनको जलहरी राख्ने कुरा के भयो ?’ प्रदीपले जवाफ दिए, ‘अझै ३० करोड जति पुग्दैन हजुर ’ अनि, प्रधानमन्त्रीले नजिकै रहेको आगन्तुक पुस्तिका ताने र संस्कृति मन्त्रीका नाममा आदेश लेखे, ‘यस वर्षको शिवरात्रिभित्र जडान गर्ने गरी ३० करोड रुपैयाँ तुरुन्त निकासा दिने…’ अनि, भने, ‘यो पैसा तुरुन्तै आउँछ ।’ प्रधानमन्त्रीले लेखेको उक्त ठाडो आदेशको सक्कल प्रति सदस्य सचिव ढकालसँग सुरक्षित छ ।

अहिलेसम्म शिवलिंगमा चाँदीको जलहरी छ । त्यहाँ १ सय ४१ किलो सुनको जलहरी राख्न कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा समिति बनाएको एक वर्ष पुग्न लागेको छ । यो समिति बनाउँदासम्म त्यस्तो काम सम्पन्न गर्न ९२ करोडको हिसाब अनुमान गरिएको थियो । त्यसमा कालिगढको खर्च र १८ या २४ क्यारेटको हिसाब जोडिएको छैन ।

कोषको सञ्चालक परिषद्ले एक वर्षअघि यो काम सम्पन्न गर्नलाई कार्यविधि पनि बनाइसकेको थियो । गत वर्ष शिवरात्रिका अवसरमा पशुपति दर्शन गर्न पुगेकी राष्ट्रपति विद्या भण्डारीलाई यो कुरा सुनाइएको थियो । तर, कोषले प्रधानमन्त्रीलाई कुरा सुनाउने मौकै पाएको थिएन । तर, सोमबार बिहानको पूजाका क्रममा प्रधानमन्त्री आफैँले सोधेपछि एकैपटक ३० करोड आम्दानी भएको छ । त्यहाँका स्थानीयले यति खर्चिलो जलहरी राख्ने कुराको विरोध गर्दै आएका छन् । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *