पीएम कपः एपीएफ फाइनलमा प्रवेश, साविक विजेता पुलिस बाहिरियाे

डिसी नेपाल
१४ माघ २०७७ १६:५०

काठमाडौं । साविक विजेता नेपाल पुलिसलाई हराउँदै एपीएफ क्लब प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा पुलिसलाई ३० रनले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । अब उपाधिका लागि एपीएफले बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ । बिहीबार हुने दोस्रो सेमिफाइनलमा बागमती र आर्मी भिड्ने छन् ।

एपीएफले दिएको २ सय ४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ७३ रनमा समेटियो । पुलिसका लागि पवन सर्राफले सर्वाधिक ४० रन बनाए । यस्तै राशिद खानले ३४ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाए ।

अनिल साहले २१ रन बनाउदा आरिफ शेखले १६ रन जोडे । सागर ढकाल ११ रनमा आउट भए । पुलिसलाई सस्तैमा समेट्न भुवन कार्कीले ४ विकेट लिए । कमल ऐरी, अविनाश बोहोरा र शरद भेषवाकरले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो । एपीएफका लागि शंकर रानाले सर्वाधिक ४४ रन बनाए । यस्तै भुवन कार्कीले ४२ रन जोड्दा सन्दीप जोराले ३४ रन बनाए । सुवास खकुरेल र कमल ऐरीले समान १९/१९ रन बनाए । कप्तान शरद भेषवाकरले १८ रन जोडे । अविनास बोहरा ११ रनमा अविजित रहदा सुर्य तामाङ १ रनमा अविजित रहे ।

पुलिसका आरिफ शेखले ३ विकेट लिए । ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए । एपीएफ अपराजित रहदै फाइनलमा पुगेको हो । समूह चरणमा पनि एपीएफले हार व्यहोरेको थिएन ।

पुलिस भने बाहिरिएको छ । पुलिसले समूह बी को उपविजेता बनेर एपीएफसँगको भेट पक्का गरेको थियो । प्रतियोगिताको विजेताले १० लाख पाउने छन् । यस्तै उपविजेताले ५ लाख पाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *