पीएम कपको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

डिसी नेपाल
१५ माघ २०७७ १७:१५

काठमाडौं । त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।

आर्मीले दिएको २ सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमती ४० ओभर २ बलमा अलआउट हुँदै १ सय ३५ रनमा समेटियो ।

बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रन बनाए । यस्तै विपिन आचार्यले २३ रन जोड्दा आदील खानले १० रन जोडे । नन्दन यादवले अविजित २२ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बागमतीलाई सस्तैमा समेट्न आर्मीका जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए । यस्तै सुशन भारी र बिक्रम शोबले ३/३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो । खराब सुरुवात गरेको आर्मीका राजेश पुलामीले ६५ रनको अर्धशतकीय पारी खेले । यस्तै भिम सार्कीले ४० रन जोड्दा बिक्रम सोबले ३५ रन बनाए । लोकेश बम २३ रनमा आउट हुँदा सुशन भारीले १६ र कप्तान विनोद भण्डारीले १० रन बनाए । बागमतीका गौतम केसीले ५ विकेट लिए । राम नरेश गिरि, नन्दन यादव,तिलक भण्डारी र विपिन आचार्यले १/१ विकेट लिए ।

अब आर्मीले उपाधिका लागि एपीएफ क्लबसँग खेल्नेछ । एपीएफ पुलिसलाई हराएर यस अघि नै फाइनलमा पुगिसकेको छ । फाइनल खेल टियु मैदानमा शनिबार हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *