एसियाली अनलाइन सुटिङमा सुस्मिताको ६१९ स्कोर

डिसी नेपाल
१७ माघ २०७७ १७:५३

काठमाडौं। नेपालकी सुस्मिता नेपालले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलमा नेपाली खेलाडी मध्ये शनिबार सर्वाधिक ६१९ अंक जोडेकी छन्। उक्त स्पर्धामा ३ नेपाली महिला खेलाडी सहभागी थिए।

एसियाली सुटिङ महासंघको तत्वावधानमा कुवेत सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको सोही स्पर्धामा कल्पना परियारले ६१७ तथा मिरा बन्जाराले ५९१.३ अंक बटुले।

उक्त स्पर्धाको पुरुषमा हरिबहादुर थापाले ५९०.८, अर्नव घिमिरेले ५६८.९ र कुमार कार्कीले ५६४.३ अंक जोडेका छन्। यो स्पर्धामा पनि ३ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पुरुष/महिलाको राइफलतर्फ ६५४ पूर्णाङ्क थियो।

शुक्रबार भएको पुरुष/महिला १० मिटर एयर पेस्तोलको समग्र नतिजा आयोजकले प्रकाशित गरेको छ। पुरुषमा नेपालका विपेश खड्का ३८ औं, बद्रुउद्दिन अन्सारी ४३ औं तथा सुखदेव थारु चौधरी ४४ औं स्थानमा रहे। ४७ खेलाडी सहभागी उक्त स्पर्धामा भारतका सौरभ चौधरी पहिलो, इरानका फोरुघी जाभद दोश्रो तथा भारतका सरोबजित सिंह तेश्रो भए।

महिलामा नेपालका कृष्णा थापाले २७ औं तथा सरिता बस्नेतले ३८ औं स्थान हासिल गरे। समग्रमा ४५ खेलाडीले भाग लिएका थिए। इरानकी हनीयेह रोस्तामियान, इरानकै गोल्नोस सेबातोल्लाही र भारतकी भकर मानु क्रमशः शीर्ष तीन स्थानमा रहे। एयर राइफलको समग्र नतिजा आइतबार थाहा हुने नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *