चाहिँदा हिरा, नचाहिँदा किरा

डिसी नेपाल
१८ माघ २०७७ ७:२७

अहिले कोरोनाको कारणले मान्छे भेला गरेमा कोरोनाको फेला परिएला र अकालमा बैतरिणी तरिएला भनेर सबैलाई सचेत गरिएको भएपनि शक्ति,पद,प्रतिष्ठा,आम्दानी जस्ता ब्यक्तिगत स्वार्थ बाहेक अरु केही नदेख्ने गरी अचेत भएका दल र नेताहरु सकेसम्म बढि भिड जम्मा गरेर एकअर्कालाइ देखाउने होडबाजिमा लाग्नु ज्यादै उत्तम,सराहनीय,अनुकरणीय र मननीय कार्य हो।

अहिलेसम्म एउटै दल भनेर लेखिएका भएपनि ज्यादै ठूलो दुश्मन जस्तो देखिएका शिर्ष नेताहरुले एउटै मान्छेलाई अर्कोको भेलामा गएको थियो भन्ने जानाजान पनि तानातान गरेर ल्याई एउटै दल भनिएको अर्को समूहमाथि शब्दबाण हानाहान गरेको देख्दा दुबै समूहको भेला हो कि सभामा गएको एउटै व्यक्ति घर फर्कंदा पुरै अलमलमा परेको र एकअर्कालाई गालीमात्रै गर्नको लागि किन हानथाप गरेको होला भनेर अचम्म मानिरहेका देखिन्छन्।

कोभिड हो कि कोरोनाले गर्दा भिड नगर्नु, भिडमा नजानु, कोरोनाको असर कम भएको देखिएपनि तोकिएको मापदण्ड अनुसार सावधानी नअपनाए फेरि अर्को लहर सुरु हुनसक्छ भन्ने बिज्ञहरुको ठहर भएपनि भिड जम्मा गरेर देखाउने रहर चाहिँ सबैभन्दा ठूलो भनिएको र सरकार समेत चलाउनेमा गनिएको राजनैतिक दलका पनि सबैभन्दा माथिल्लो तहमा रहेका महानुभावहरुलाई लागेको देखिनु जनताप्रति उहाँहरुको जवाफदेहिता र जिम्मेवारी अत्यन्त गम्भिर रुपमा रहेको प्रमाण हो।

हुन पनि हो नेताहरुलाई उहाँहरुले चाहेको पदमा नपुर्याइकन जनताको कर्तवय पूरा भएको मानिने र त्यस्तालाई असल जनता ठानिने सम्भावना हुँदैन। आफ्नो लक्ष्य हासिल गर्नको लागि ज्यानको समेत पर्बाह गर्न हुँदैन भन्ने सिद्धान्तलाइ हाम्रा नेताहरुले खुब राम्रोसित पालना गर्दै र यसैमा अघि सर्दै आएको अनि यही कारणले ठूलाठूला पदमा बसेर चाहे अनुसार खाएको बुझिएको छ।

ज्यानको पर्बाह नगर्ने भनेर उहाँहरुले सधैं भन्ने गरेको सुनिएको भएपनि हामी जनताले बुझ्न नसकेका रहेछौँ । उहाँहरुले आफ्नो ज्यानको होइन कि जनताको ज्यानको कुनै प्रवाह नगर्ने र भेला वा मुठभेडमा जस्तोसुकै परिस्थिति आएपनि नेताहरुको ज्यान नहेर्ने पक्का गर्ने गरेका रहेछन् ।

त्यही भएर कोरोना सल्किएपनि,जनताको छातिमा गोली टल्किएपनि,मुठभेड र बल प्रयोगमा सरकारी पक्ष ढल्किएपनि र अप्ठ्यारो स्थितिमा नेताहरु भेलामा आएका जनतालाइ छोडेर भाग्न पल्किएपनि सोझासाझा जनताले बुझ्ने कुरै आएन। सातसाल अघिदेखि अहिलेसम्म गरिएका आन्दोलनहरुमा त्यही हुँदै आएको र शहिद हुने मौका चाहिँ जनतालेमात्रै पाएको देखिन्छ।

पहिले पहिले सरकारी पक्षको बल प्रयोगबाटमात्रै शहिद हुँदै आएकोमा अहिलेको आन्दोलनमा चाहिँ कोरोनाको प्रकोपबाट पनि गुमनाम शहिद हुने सम्भावना प्रबल रहेको छ।

कोभिड हो कि कोरोनाले गर्दा भिड नगर्नु, भिडमा नजानु, कोरोनाको असर कम भएको देखिएपनि तोकिएको मापदण्ड अनुसार सावधानी नअपनाए फेरि अर्को लहर सुरु हुनसक्छ भन्ने बिज्ञहरुको ठहर भएपनि भिड जम्मा गरेर देखाउने रहर चाहिँ सबैभन्दा ठूलो भनिएको र सरकार समेत चलाउनेमा गनिएको राजनैतिक दलका पनि सबैभन्दा माथिल्लो तहमा रहेका महानुभावहरुलाई लागेको देखिनु जनताप्रति उहाँहरुको जवाफदेहिता र जिम्मेवारी अत्यन्त गम्भिर रुपमा रहेको प्रमाण हो।

सरकारको नेतृत्व गरिरहेको दलको सरकार पक्ष, त्यही दलको बिरोधी पक्ष, बिपक्षी दलहरुको साथै अहिले भेला र आन्दोलन नगरे गाल पर्ला भनेर बाध्यताबश जेजस्तो भएपनि आन्दोलनमा लतारिने र यसबाट ठूलै भाग खान हतारिने सबैले सकेसम्म धेरै जनतालाई भेलामा ल्याउने अनि यसैको बलमा सत्ताको स्वर्ग भ्याउने ज्यादै उच्च बिचार राखेकोमा जनताले ज्यानको प्रवाह नगरिकन साथ दिएर अहिलेसम्म भएका सबै आन्दोलनहरुलाई माथ गरिदिन पर्छ।

कोहिले आँधिबेहरी श्रृजना गरी सबैलाई उडाइदिने र कुर्सीमा बसेका समकक्षी भनिएका सरकार प्रधानलाई भविष्यमा उठ्नै नसक्ने गरी गुडाइदिने अभिव्यक्ति दिएका र आफ्नो अभिब्यक्तिलाई अरुले कसरी लिएका छन् भन्ने मतलब नै नगरिकन आफैं आनन्द लिएका छन्।

सत्ता पक्षका विरोधीले शाकाहारी आन्दोलनबाट केहि लछारपाटो नलाग्ने हुनाले मांसाहारी आन्दोलनको लागि जनतालाई जागरुक गराउन र भेँडारुपी जनतालाई भनेकै चरनमा चराउन लैजाने योजनामा लागेका छन्। आफूलाई मात्रै बाठो ठान्ने र अरुभन्दा टाठो मान्ने स्वघोषित महान नेताले लाठो खान ढाड चिलाएको र टाउको चिलाएको कुरा गरेको सुनिन्छ।

सरकारी र दलका स्वयम् सेबक समेत गरेर झण्डैै एकसय जना भन्दा बढी सानाठूला हतियार सहितका सुरक्षकर्मीहरुको साथमा आन्दोलनमा आउने अनि सरकार प्रधानको कुर्सी प्राप्त गर्न जहाँपनि धाउने व्यक्तिको जे चिलाएपनि चिलाइ मारेर आनन्द दिलाइ दिने कोही पनि उनको छेउछाउमा नआउने हुनाले त्यो जानेरै उनले जनताको अगाडि मनको भावना ब्यक्त गरेका होलान्।

उनी र उनी सरहका भनिएका र कुर्सी नपाउन्जेसम्मको लागि बराबरमा गनिएका अरु पूर्व सरकार प्रधानहरुलेपनि मनको पीडा, चाहे अनुसारको पद नपाएको बेदना,कुण्ठा र ब्यक्तिगत लाभ नपाएको असन्तुष्टिमात्रै ब्यक्त गरेर जनतालाई त्यो सबैथोक उनीहरुलाई प्राप्त गराइदिन सहयोग माग्नु ज्यादै सराहनीय कुरा हो।

यो भन्दा अघिपनि जनतालाई यसैगरि प्रयोग गरेर चुनाव जितेपछि पुरै भुल्नु भएको र जनतालाई चटक्क बिर्सेर जता ठूलो भाग पाइन्छ त्यतै भुल्नु भएको हुनाले यसपाली पनि जनताले पुराना सबैथोक भुलेर र कोरोनालाई कुनै वास्ता नगरिकन नेताहरुले डोहोराए अनुसार ठूलो भिडमा सडक सडक डुलेर भएपनि कोरोनालाई घर परिवार र समाजमा हुलेर नेताहरुको कुर्सीको लागि सक्दो योगदान पुर्याउनै पर्छ।

उता सरकार प्रधानले पनि बिरोधीहरुसित प्रतिष्पर्धा गर्दै पार्टी प्यालेस, सभाहल, प्रदेश राजधानीलगायतका स्थानहरुमा भिडभाड भेला गर्दै र सरकार बिरोधी नेताहरुको नक्कल गर्दै आप्mनो कदम ठिक हो भनेर जनतालाई बिश्वस्त पार्ने अक्कल लगाएको देख्दा कुर्सी दाउमा परेपछि कोरोनाको सरकारी मापदण्ड र जनताको स्वास्थ्यभन्दा कुर्सी धेरै माथिल्लो स्तरमा रहेको सबैले बुझिदिन पर्छ।

अदालत आफैं, न्यायमूर्ति आफैं,वकिल आफैं, चिकित्सक आफैं,स्वास्थ्यकर्मी आफैं, कुटनीतिज्ञ आफैं, दार्शनिक आफैं, महात्मा आफैं, विद्वान आफैं, धर्माधिकारी आफैं, ठूला ज्योतिष आफैं, इतिहासबेत्ता भूगोलबेत्ता अर्थबेत्ता देखि लिएर संसारमा भएजति सबै बिषयको ज्ञाता र बेत्ता आफैं भनेर आफैंले आफैंलाई पगरी भिराउने, यसको मूल्य चाहिँ जनतालाइ तिराउने, ऐन कानुन र संविधानसम्मलाई हाकाहाकी टाँग मुनि छिराउने र कुर्सी मोहले सबैलाइ पिराउने भनेर बिरोधीले जति बिरोध गर्छन् उति नै चम्किने र तानाशाही गतिविधितिर लम्किने गरेको देखेर यी जतिका असल र सक्षम सरकार प्रधान त देशले कहिल्यै पनि पाउने छैन भन्ने जनतालाई विश्वास भइसकेको छ।

कोखामुनिको दाँत लुकाएर बाँचुन्जेल नपुरिने राजनैतिक आँत पुर्ने उद्देश्यले सबैसित छलछाम र जालझेल सहित दलको ज्यादै कृत्रिम एकता गर्ने दुइजना मध्ये आपैmलाई महान नेता घोषणा गर्ने एकजना र आफैंलाई सबज्ञाता घोषित गर्ने एकजना बीचको कुर्सीको लडाइँले देश भड्खालोतिर लम्केको र सवथोक बिर्सेर दुवैजना चम्केको देखेर जनताले बडो स्वाद मानेका छन्।

खोक्रो पेट लिएर कुनै गुदीरहित बोक्रो मात्रै भएको भाषण सुनेर दिन बिताउने र भिडभाडमा कोरोना संक्रमित हुन नपरोस् भनेर चिताउने बाहेक जनतासित अरु उपाय छैन।

प्रमुख प्रतिपक्ष र अरु सानातिना ठानिएका अनि खासै गिन्तीमा नरहेका भनेर जानिएका प्रतिपक्षहरुले पनि आप्mनो अस्तित्व देखाउने र आन्दोलनमा भाग लिएको इतिहासमा लेखाउने उद्देश्यले केन्द्र प्रदेश स्थाीनय तह र अझ वडा वडामासमेत जनतालाई भेला गरेर कोरोना समाप्त भइसकेको पुष्टि गर्नमा ठूलो सहयोग पु-याए।

अझैपनि कोरोनाको उच्च जोखिम कायम रहेकोले सावधानी अपनाउनु भन्ने सन्देश सञ्चार माध्यमहरुमा सुन्दा नेता कार्यकर्ता र जनता हाँसेको र यस्ता जमघटबाटै कोरोनालाइ नासेको हुनाले बेकारमा यस्ता सन्देशहरुमा बजेट मासेको भन्ने आरोप पनि कसैकसैले लगाए रे भन्ने सुनियो। कुरा सोह्रै आना ठिक हो। सरकारी पक्ष र विरोधी पक्ष दुवैथरी मिलेर जनतालाई जबरजस्ती सभा सम्मेलनहरुमा भेला गरेर शक्ति प्रदर्शन गरी तर्साएर र एकअर्कालाई गाली बर्साएर कोरोनालाइ भगाएको हो कि जस्तो देखियो।

हामी वीर र बहादुर जाति हुनाले कमसेकम राजनैतिक सभा भेला जुलुस आदिमा जबरजस्ती धपाएर लैजाँदा कोरोनालाई चपाएर पचाउन सकिन्छ र यसले हामीलाई छुँदै छुँदैन भनेर संसारलाइ देखाउन सकेकोमा सबै पक्षका नेताहरुलाई धन्यबाद दिँदै उनिहरु प्रति सबैले गर्ब गर्न पर्छ।

सबैथरिको भेला सम्मेलन वा सभामा देश बिकासका कुरा जनताको समृद्धिका कुरा जस्ता नचाहिँदा र अनावश्यक कुराहरु नभएर आप्mनो लागि कुर्सी शक्ति पद प्रतिष्ठा मान सम्मान आर्थिक उन्नति आदि पाएकोले जोगाउने र नपाएकोले जसरीपनि प्राप्त गरेर बिना अबरोध आफ्नालाई भोगाउने अत्यन्त उच्च र परिस्कृत बिचार व्यक्त गरेर जनतालाई आकर्षित गरिरहेको पाउँदा अनि यस्तो पुनित कार्यको लागि नेताहरु जनतामा धाउँदा खुसी र प्रभाबित नहुने को होला र?

सबै तहका नेताहरुको भाषणमा अर्को पक्षकालाइ गाली धम्की चुनौती आरोप मात्रै बोलेको र अहिलेसम्म कसैलाइ थाहा नभएका बिषयहरु पनि खोलेको देख्दा नेताहरुको घर वा महलमा आफ्नो अनुहार प्रष्टसित देखिने एैना राखिएको रहेनछ भनेर जनताले राम्ररी बुझ्न पाएका छन्। सैद्धान्तिक राजनीति गर्नु भन्दापनि झिंगे दाउमा भर पर्नु र जनतालाई ढाँटेर त्यसैको आडमा चर्नु अनि केही समय चर्न नपाउँदा भुतुक्कै मर्नु नै अहिलेका नेताहरुको सार हो भनेर बुझेमा गल्ति नहोला कि जस्तो देखिन्छ।

हामी वीर र बहादुर जाति हुनाले कमसेकम राजनैतिक सभा भेला जुलुस आदिमा जबरजस्ती धपाएर लैजाँदा कोरोनालाई चपाएर पचाउन सकिन्छ र यसले हामीलाई छुँदै छुँदैन भनेर संसारलाइ देखाउन सकेकोमा सबै पक्षका नेताहरुलाई धन्यबाद दिँदै उनिहरु प्रति सबैले गर्ब गर्न पर्छ।

केही समयलाई खेताला खोज्ने ठेकेदारमार्तफ आए बापत ज्याला खाजा खाना र यातायात समेतको ब्यबस्था मिलाएर र सम्मिलित भएर ताली मात्रै बजाइदिए पुग्ने ग्यारेन्टी दिलाएर गाउँ गाउँबाट अलि बलिया गोठालाहरु सहित बस ट्रक ट्याक्टर र अन्य उपलब्ध साधनहरुमा खाँदेर ल्याएको शक्ति प्रदर्शनले सबै पक्षको माग पूरा हुने पक्कापक्की भएकोमा सबैजना ढुक्क छन्।

बिगतमा भएका क्रान्ति, आन्दोलन, धनयुद्ध, आमसभा, जुलुस, सभा, शक्ति प्रदर्शन, चुनाव आदि समाप्त भएपछि र यस मार्पmत नेताहरु शक्तिमा गएपछि जनताको जिम्मेवारी नलिएको अनि जनताको बिषयमा कुनै किसिमको ध्यान नदिएको भनेर लगाएको नचाहिँदो आरोपतर्फ अहिलेपनि ध्यान नदिनु नै बुद्धिमानी हुन्छ।

पहिले पहिले देखि नै नेताहरुको लागि सबै किसिमको त्याग गर्ने सिलसिलामा आइपर्ने समस्या प्रति चाहिँ जनता आफैं जवाफदेही हुनपर्ने व्यबहारिक अनुभव भएका जनतालाई अहिलेको भिडभाडबाट कोरोना सरेमा वा त्यसले महामारीको रुप धारण गरेमा साबिक अनुसार आफैं जिम्मेवार हुनपर्ने कुरा जनतालाई बताइराख्न पर्दैन,कोरोनाको जोखिम कायम छ भन्ने सन्देश प्रसार गरेर सभाको लागि जनता बटुल्ने ठेकेदारहरुलाई सताइराख्न पर्दैन र यो नेताहरुको जिम्मेवारीमा पर्दैन भनेर बिरोधीलाई ताताइराख्न पर्दैन भन्नेमा सबै नेताहरु प्रष्ट छन्।

हाम्रा नेताहरुको कोरोनाप्रतिको सुझबुझ र सतर्कताको साथै जनस्वास्थ्यप्रतिको जिम्मेवारी बोधको गम्भिरतालाई हेरेर संसारका सबै नेताहरुलाई लाज लागेको र उनीहरुको पनि यसप्रति ध्यान जागेको छ रे भन्ने सुनिएको छ। जनता सनता भनेका त्यस्तै उस्तै हुन् पहिले त आफू टिक्न पर्यो, टिकेरमात्रै पनि भएन राम्रो मूल्यमा बिक्न पर्यो, यो सबैको आम खपतको लागि बेलाबेलामा यसैगरी जनताको कुरो ठूलोठूलो स्वरमा झिक्न पर्यो र यताकाले जस्तै बिदेशतिरका नेताहरुले पनि यस कामलाइ राम्रोसित सिक्न पर्यो।

यतिसम्म त ठिकै देखिएको हो कि जस्तो छ। संसद बिघटन बिरुद्ध अदालतमा परेको मुद्दाको फैसला भएपछि र फैसला एकातर्फ गएपछि हेर्न र देख्न पाइने अभुतपूर्ब तोडफोड सहितका सभा जुलुस बन्द हडतालहरुको कल्पना गर्दैमा जनता रोमान्चित भएका छन्। खानपिन भागबन्डा र बाँडचुँड जस्ता कार्यमा दक्ष मानिएका अनि बिभिन्न दलहरुतिर तानिएका र प्राप्त हुने थैली अनुसार न्याय दिने भनेर राम्ररी जानिएका न्यायमूर्तिहरुबाट भरिभराउ अदालतप्रति सबै नेताहरुले अहिले प्रकट गरिरहेको विश्वास फैसलापछि पनि कायम हुनेमा जनता बिश्वस्त छन्।

नेताहरुको कुर्सीको सवालका अगाडि कोरोना संक्रमणलाइ गौण मानिदिने र उनिहरुले उच्च प्राथमिकतामा राखेको कुर्सी मोहलाई नै आफ्नो ज्यूज्यान भन्दा महत्वपूर्ण ठानिदिने पुनित कार्यमा जबरजस्ती नै भएपनि सहभागी भएर जनताले नेताहरुलाइ फेरि एकपल्ट गुन लगाएपछि भबिष्यमा राम्ररी नुन खान पाइएला भन्ने सोच चाहिँ पहिले पहिलेका आन्दोलनहरुमा साथ दिएपछिको नतिजाबाटै सबैलाइ छर्लङ भइसकेको छ। नेताहरुलाइ चाहिँदा हिरा र नचाहिँदा किरा सरहको औकातमा रहेका जनतालाइ पहिले पनि त्यहि हो,अहिले पनि त्यही हो र भोलि पनि हुने त्यहि नै हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *