क्रिस गेल जंगिएपछि युवराज सिंहको सातो गयो

डिसी नेपाल
२२ माघ २०७७ ११:४९

काठमाडौं। केही महिनाअगाडि वेष्ट इण्डिजका क्रिकेटर क्रिस गेलले भनेका थिए ‘युनिभर्स बोस इज ब्याक ।’ गएराती साँच्चै उनले यस्तै गरे । क्रिस गेलले अबु धाबी टि–१० लिगमा यसरी ब्याटिङ गरे कि युवराज सिंहको सातो गयो । क्रिस गेलको ब्याटिङले युवराजको विशाल विश्वरेकर्ड तोडिन सक्थ्यो तर गएराती त्यो रेकर्ड मुस्किलले बच्यो ।

युवराज सिंहको नाममा टि–२० क्रिकेटमा सबैभन्दा कम बल खेलेर अर्धशतक बनाएको रेकर्ड छ । गएराती क्रिस गेलले पनि १२ बलमै अर्धशतक बनाए र युवराज सिंहको बराबरी गरे । युवराज सिंहले टि–२० अन्तर्राष्ट्रियमा २००७ को विश्वकपमा इङल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए । त्यतिबेला युवराजले स्टुआर्ट ब्रोडको एक ओभरका सबै ६ बलमा छक्का हानेका थिए ।

टि–२० मा युवराज सिंहसँगै क्रिस गेलले नै पनि यसअघि समेत १२ बलमा अर्धशतक बनाइसकेका छन् । गेलले २०१६ को बिग बाश लिगमा मेलबर्न रेनेगेड्सको तर्फबाट खेल्दै एडिलेड स्ट्राइकर्सविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए । गएराती गेलले दोस्रो पटक १२ बलमा अर्धशतक बनाएका हुन् । यस्तै अफगान क्रिकेटर हजरतुल्लाह जजाइले पनि काबुल ज्वाननको तर्फबाट खेल्दै बल्ख लिजेन्ड्सविरुद्ध १२ बलमा अर्धशतक बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *