कोरोनाले थलिएको पर्यटक आगमन एक महिनामै बढ्यो, एकसय २१ मुलुकबाट पर्यटक भित्रिए

डिसी नेपाल
२३ माघ २०७७ ११:२४

काठमाडौं। सरकारले गत चैत ११ गते कोरोना महामारीका कारण लकडाउन सुरु गरेको थियो। त्यसपछि ठप्प भएको पर्यटक आगमन हाल आएर क्रमशःबढ्ने क्रममा रहेको छ।

गत जनवरीमा अर्थात् एक महिनाको अवधिमा आठ हजार आठ सय ७४ जना पर्यटक नेपाल भित्रिएका छन् भने जनवरी महिनामै सात हजार दुई सय ९२ जना पर्यटक नेपालबाट बाहिरिएको अध्यागमन विभागले जनाएको छ।

विभागका अनुसार जनवरीमा विदेशबाट नेपाल आउने नेपाली नागरिकको संख्या विदेशिने नेपालीको तुलनामा बढी देखिएको छ। भारतसगँका सिमाना खोलेसँगै एक महिनामा पर्यटक आगमनसमेत वृद्धि भएको छ।

यस अवधिमा नेपालमा विभिन्न मुलुकबाट ४७ हजार दुई सय ६७ घर फर्किएका छन्। साथै, ३९ हजार नौ सय ४६ जना नेपाली भने बाहिरिएका छन्। सबैभन्दा बढी भारतबाट भित्रिएका छन्। भारतबाट ४० हजार ६५ जना नेपाली आएको सीसिएमसीले जनाएको छ। यस अवधिमा तीन हजार पाँच सय ११ जना भारतीय पर्यटक बाहिरिएका छन्।

एक महिनाको अवधिमा आठ हजार आठ सय ७४ जना पर्यटक नेपाल भित्रिएका छन् भने जनवरी महिनामै सात हजार दुई सय ९२ जना पर्यटक नेपालबाट बाहिरिएको अध्यागमन विभागले जनाएको छ।

त्यस्तै, चीनबाट एक हजार आठ सय ७७ जना पर्यटक नेपाल आएका छन्। अमेरिकाबाट आठ सय ७४ जना पर्यटक नेपाल आएका छन्। बेलायतबाट एक सय ३६ जना आएका छन्। टर्कीबाट एक सय १३ जना आएका छन्। दक्षिण कोरियाबाट एक सय चार जना आएका छन्। एक महिनाको अवधिमा विभिन्न एक सय २१ मुलुकबाट पर्यटक नेपाल आएको पाइएको छ।

त्यसैगरी, पर्यटन बोर्डका निर्देशक मणि लामिछानेका अनुसार नेपालमा आएका पर्यटकको लागि सुरक्षाका मापदण्ड कार्यन्वयन गरेको छ छैन हेर्न पर्यटन बोर्डले अनुमगन समिति गठन गरेको छ। नेपाल भित्रिने पर्यटकलाई मध्यनजर गर्दै बोर्डले पर्यटकका लागि १२ वटा स्वास्थ्य सुरक्षाका मापदण्ड जारी गरेको छ।

जसअन्तर्गत भीसा अनअराइभल गरिने, पीसीआर रिपोर्टसँगै पीसीआर रिटेष्ट गर्नुपर्ने, नेपाल भारत ट्राभल बबल, पदयात्रामार्फत प्रवेश, पुनःपीसीआर रिटेस्ट रहेको छ।

यस्तै, खोप लगाएको प्रमाणपत्र, पर्यटन गतिविधि सूचारु, कोभिड हेरविचार केन्द्र, भ्रमण बीमा, पर्यटकका लागि अनअराइभल भीसाको डकुमेन्ट्री चाहिने र आगन्तुक पर्यटकलाई नै भीसा उपलब्ध गराउने स्वास्थ्य सुरक्षाका मापदण्ड बनाइएका छन्।

विश्वमा कोरोनाको महामारी सुरु भएपछि पर्यटन क्षेत्र पनि उत्तिकै प्रभावित भयो। नेपालमा २०२० को जनवरीमा ‘नेपाल भ्रमण वर्ष २०२०’को औपचारिक सुरुवात भए पनि कोरोनाले गर्दा सम्पन्न हुन सकेन।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भनेर सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो। लकडाउन गत साउनमा औपचारिक रुपमा अन्त्य गरिएपनि कोरोनाको जोखिम कायम रहेको भन्दै पर्यटन क्षेत्रलाई खुल्ला गरिएको थिएन।

तर, माघ १४ बाट नेपालमा कोरोनाको खोप लगाउन थालेपछि भने पर्यटन क्षेत्र पनि सलबलाएको छ। पर्यटन बोर्डले खोप आएपछि नेपालमा पर्यटन बढ्ने विश्वास व्यक्त गरेको छ।

कोरोनाको महामारीले विश्वव्यापी रुपमै प्रभावित भईरहँदा गत नोभेम्बरमा नेपालमा करिब दुई हजार विदेशीहरु भित्रिएका थिए। लकडाउनपछि नोभेम्बरसम्म नेपाल भित्रिने विदेशीको संख्या भने झन्डै चार हजार पुगेको थियो। त्यसबाहेक कोरोना माहामारीका कारण नेपालमा लकडाउन सुरु भएपछिको अक्टोबरसम्मको अवधिमा अरु दुई हजार जना विदेशी भित्रिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *