नेपालमा पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान सफल !

तर्कबहादुर थापा
२४ माघ २०७७ १५:४१

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जनचेतनाको कमीका कारण कोरोना विरुद्धको पहिलो चरणको खोपले लक्ष्य भेट्न नसकेको बताएका छन्। डिसी नेपालसँग कुरा गर्दै डा. राजभण्डारीले शनिवार अन्तिम दिनको कोरोना विरुद्धको खोप लगाइरहेको जानकारी दिए।

डा. राजभण्डारीले भने, ‘कोरोना विरुद्धको खोप अभियानको पहिलो चरण आज अन्तिम दिनको खोप लगाइँदै छ। आजसम्मको तथ्याङ्क हेर्दा सरकारले लिएको लक्ष भन्दा धेरै कम मात्र खोप लागेको छ। यसको प्रमुख कारण जनचेना नपुग्नु नै हो।’

काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट एकैसाथ कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो। गत १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको भर्चुअल माध्यामबाट शुभारम्भ गरेका थिए।

भारत सरकारले अनुदानमा १० लाख डोज खोप नेपाल पठाएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिने लक्ष लिएको थियो।

डा. राजभण्डारीका अनुसार अहिलेसम्म टेकु अस्पतालबाट करिव ३ हजारले कोरोना विरुद्धको खोप लगाएका छन्। यस्तै देशभरमा २ लाखको हाराहारीले कोरोना विरुद्धको खोप लगाएको राजभण्डारीले जानकारी दिए।

‘जनचेतना संगसँगै दोधारमा भएका कारण पनि कोरोनाको खोप अभियानले लक्ष भेट्न नसकेको हो।’ डा. राजभण्डारीले भने, ‘धेरै ठाउँमा स्वास्थ्यकर्मी बाहेक सबै दोधारमा पर्नु भयो। लगाउने की नलगाउने भयो। कतिठाउँमा स्वास्थ्यकर्मीले पनि खोप लगाउन पाएनन्।’

विकट जिल्लाहरुको उदाहरण दिँदै डा. भण्डारीले भने, ‘हामीलाई चुनौति थियो। पहिलो पटक नेपाल आएको खोप। समस्या के हुन्छन्, कसरी राख्ने लगायतका विषयहरुका बारेमा पूर्ण पूर्वाधार नभएकाले पनि यो खोप विकट गाउँमा पुग्न सकेन। त्यसैले पनि लगाउनेको संख्यामा कमी आएको हो।

खोप अभियान सफल

नेपालमा १० दिनसम्म चलेको कोरोना विरुद्धको खोप अभियान सफल भएको डा. राजभण्डारीको भनाई छ। उनले सामान्य अवस्था बाहेक कुनै पनि प्रतिकुल असरबीना नै खोप अभियान सफल भएको बताए।

‘संख्यालाई अलि पर राखेर कुरा गर्ने हो भने खोप अभियान सफल भएको छ।’ डा. राजभण्डारीले भने, ‘जतिले पनि खोप लगाउनु भयो कसैलाई पनि प्रतिकुल असर परेन। सामान्य बाहेकका केशहरु नभएपछि यो अभियान सफल भएको हो।’

उनका अनुसार खोप लगाउने व्यक्तिहरुमा फरकफरक तर, सामान्य लक्षण देखिएका छन्। कसैले दुःख्यो भन्ने, कसैले ज्वरो आयो भन्ने, जिउ थाक्यो भन्ने बाहेकका अस्पताल भर्ना हुनै पर्ने खालका समस्या नआएको डा. राजभण्डारीले बताए।

खोप लगाएको २८ दिनपछि खोपको अर्को डोज लगाउनु पर्छ। ‘माघ १४ गते खोप लगाएकाले फागुनको ११ गते खोप लगाउनु पर्छ’ डा. राज भण्डारीले भने, ‘खोप लगाउने हरेकले अर्को खोप लगाउनका लागि मिति दिइएको हुन्छ। त्यो मितिमा खोप लगाउनु होला।’

पहिलो चरणमा प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइएको छ।

कोरोनाको अवस्था

यो सामाग्री तयार पार्दासम्म नेपालमा कोरोनाबाट २ लाख ७१ हजार ७ सय ७ जना संक्रमित भएका छन्। हालसम्म २ लाख ६७ हजार ५ सय ६४ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन भने २ हजार ३५ जनाले ज्यान गुमाएका छन।

विश्वमा १० करोड ५९ लाख ५६ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म २३ लाख १० हजार १ सय ५० जनाले ज्यान गुमाएका छन् भने, ७ करोड ७६ लाख ७३ हजार ८ सय ३६ जना कोरोना संक्रमण मुक्त भएका छन्।

विश्वमा सबैभन्दा बढी अमेरिकामा २ करोढ ७४ लाख ७ हजार ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, भारतमा १ करोड ८१ लाख ५ हजार २ सय २२ कोरोनाको चपेटामा परेका छन्।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *