दुवाकोटस्थित वीर अस्पतालका लागि बजेट अभाव नहुने अर्र्थमन्त्रीको दाबी
काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले वीर अस्पतालको विस्तारित सेवाका लागि दुवाकोटमा बन्ने संरचना निर्माणमा बजेटको अभाव नहुने दाबी गरेका छन्। मंगलबार दुवाकोटमा स्थलगत अवलोकन तथा छलफल कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन्।
उक्त परियोजना २०७३ सालदेखि सुरु भएको थियो। परियोजनाले गति नलिएको भन्दै मन्त्री पौडेलले जतिसक्दो चाँडो काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले बाह्य तथा आन्तरिक स्रोतबाट बजेट सजिलै जुटाउन सकिने भन्दै उक्त आयोजना बजेटको अभाव नहुने आयोजना मध्येको एक भएको बताए।
मन्त्री पौडेलले अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), सडक, विद्युत, खानेपानीको काम चाँडै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
‘यो परियोजनाको लागि धेरै वर्ष बितिसकेको छ। यहाँको कामको प्रगतिमा स्थानीय तथा हामी जो कोही पनि सन्तुष्ट छैनौं,’ पौडेले भने, ‘अबका अगामी दिनमा कामको नतिजा चाहिन्छ।’
सोही छलफल कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले परियोजना निर्माणको लागि बाटो, विद्युत, ढल र खानेपानी अति आवश्यक भएकाले छिटो काम सक्ने निर्देशन दिए। दुवाकोटको विस्तारित वीर अस्पतालको काम चाँडै सुरू हुने राज्यमन्त्री नवराज रावतले बताए।
स्थलगत अवलोकन तथा छलफल कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा.डिएन शाह, रेक्टर प्रा.डा।सुवोध अधिकारी, निर्देशक डा.केदार सेञ्चुरी, विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको उपस्थित थियो।
नेपालकै जेठो वीर अस्पताललाई विस्तार गर्दै आधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउने प्रक्रियाअनुसार दुवाकोटमा सरकारले पाँच सय ७० रोपनी जग्गा उपलब्ध गराएको छ। एक हजार पाँच सयको बेडको आधुनिक अस्पताल बनाउने सरकारको लक्ष्य रहेको छ। तर, उक्त विस्तारित परियोजनाको लागि वर्षेनी बजेट छुट्याए पनि फ्रिज हुँदै गएको छ।







No ads found for this position

डिसी नेपाल
Facebook Comment