कुरिनटारमा प्रहरीचौकी स्थापित

रासस
३० माघ २०७७ १७:४९

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले आज प्रहरी चौकी उद्घाटन गरे ।

प्रहरी चौकीको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले सबै नागरिकलाई शान्ति सुरक्षाका साथ बाँच्न पाउने अधिकारलाई आत्मसाथ गर्दै हरेक वडामा प्रहरी चौकी स्थापना गर्ने उद्देश्यअनुसार वडा नं ४ कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको बताए ।

गाउँपालिकाको केन्द्रसमेत रहेको कुरिनटारमा उद्योग होटल भएको र राजधानी भित्रिने मुख्यराजमार्ग पर्ने भएकाले यहाँ तत्काल आवस्यक रहेको अवस्थामा सफल भएको बताए । प्रहरीचौकी स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक एसपी नान्तिराज गुरुङलाई धन्यवाद दिए । साथै अध्यक्ष गुरुङले तत्काल जग्गा उपलब्ध भएर भवन निर्माण नभएसम्म प्रहरी चौकीको घरभाडा गाउँपालिकाले उपलब्ध गराउने बताए ।

प्रहरी उपरीक्षक नान्तिराज गुरुङले समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरी एक्लैले नसक्ने बताए । अपराध नियन्त्रणका लागि समुदायको महत्वपूर्ण भूमिका हुने बताए । उनले प्रहरीलाई नागरिकले सूचना दिएर सहयोग गरेका कारण नै अपराध नियन्त्रण गर्न सकिने बताए ।

समाचारमा प्रहरीको सफलता भनेर समाचार आउने गरेपनि वास्तविक हिरो भनेको समुदायभित्रै नागरिक भएको बताए । उनले भने, “शान्ति सुरक्षा कायम गर्न समुदायमा हुने अपराधका घटनालाई नियन्त्रण गर्न तपाइको आवस्यकता पर्छ, तपाईहरूले नै सूचना दिएर प्रहरी सफल हुने हो, समाचारमा प्रहरीको कार्य (एक्सन) सफलता भनेर आउँछ तर वास्तविक हिरो तपाईहरूनै हो । तपाईहरूले सूचना दिएर नै सफल भएको हो ।” प्रहरी एक्लैले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न नसकिने भन्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनको मातहतमा रहने कुरिनटार प्रहरी चौकीमा १५ जनाको दरबन्दी रहेको तर अहिले तत्काल प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जना रहने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए । इच्छाकामना गाउँपालिकाको सात वटा वडामध्ये तीन वटा वडामा मात्र प्रहरी चौकी रहेको छ । भौगोलिक विकटता रहेकाले हरेक वडामा प्रहरीचौकी आवश्यक रहेको स्थानीय बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *