छिमेकीलाई खुसी पार्न खोज्दा आफ्नै घरमा कलह

जगदीश दाहाल
१८ फागुन २०७७ १०:२७

नेपालको राजनीतिमा बेला बेला आउने उतार चढाव हामी नेपाली जनताले देखेजानेकै हौं। नेपालमा अहिलेसम्म ४ पटक जनताले कुनै निश्चित प्रधानमन्त्रीलाई बहुमत दिएर सरकार सञ्चालनको जिम्मेवारी दिएका थिए। २०१५ मा बीपी कोइराला, २०४८ मा गिरिजाप्रसाद कोइराला, २०५६ मा कृष्णप्रसाद भट्टराई र २०७४ मा केपी शर्मा ओलीलाई जनताले पूर्ण बहुमतसहित प्रधानमन्त्रीको जिम्मेवारी दिए।

तर, नेपालीको दुर्भाग्य नै भन्नुपर्छ यी कुनै पनि प्रधानमन्त्रीले पूर्ण कार्यकाल सहजताका साथ काम गर्ने वातावरण बनेन। यसअघिका तीन प्रधानमन्त्रीले पूर्ण कार्यकाल काम गर्न पाएनन् र अहिलेका प्रधानमन्त्रीलाई पनि कार्यकाल पूरा नहुँदै अपदस्थ गर्ने कसरत तीब्र रुपमा भइरहेको छ।

सत्तामा आसिन दल नेकपाका अध्यक्ष प्रचण्डले सार्वजनिक अभिव्यक्तिमार्फत हामी जसपा र कांग्रेस समेतलाई सहभागी गराएर सरकार गठन गर्छौं जुन सरकार दक्षिणका छिमेकी भारत र उत्तरी छिमेकी चीनलाई समेत कम्र्फटेबल हुन्छ भन्ने अभिव्यक्ति दिएपछि नेपालको राजनीति कसरी चलिरहेको छ भन्ने कुरामा नेपाली जनता प्रस्ट भइसकेका छन्।

छिमेकीलाई असहज भयो, मन परेर भने नेपालको सत्ता समीकरण नै बदलिदिने र आफू अनुकूल सरकार गठन गर्ने परिपाटी अझै पनि देशमा विद्यमान नै रहेछ भन्ने कुरा छर्लंग भएको छ। त्योभन्दा पनि ठूलो कुरा पूर्ण बहुमतको सरकारलाई नै ढलाउन सक्ने गरी एउटै दलभित्र समेत विभाजन ल्याइदिन सक्ने क्षमता छिमेकीसँग रहेछ।

प्रचण्डले छिमेकीलाई सजिलो हुने सरकार बनाउँछौं भन्दै गर्दा नेपाली आत्मालाई, आम नेपाली जनताको मनमा, भावनामा के प्रभाव पर्यो होला? नेपालका राजनेता जसलाई जनताले दुई तिहाइ नजिकको बहुमत दिएर सत्तामा पुर्याए, त्यस्ता दलका नेताले भारत र चीनलाई सजिलो हुने र खुशी पार्न सरकार गठन गर्ने भन्नु नेपाली जनताको जनमतको ठाडो अपमान हो।

यसले हामी कुन हदसम्म छिमेकीका अगाडि लम्पसार परेका रहेछौं भन्ने पनि प्रस्ट भएको छ। प्रचण्डले छिमेकीलाई सजिलो हुने सरकार बनाउँछौं भन्दै गर्दा नेपाली आत्मालाई, आम नेपाली जनताको मनमा, भावनामा के प्रभाव पर्यो होला? नेपालका राजनेता जसलाई जनताले दुई तिहाइ नजिकको बहुमत दिएर सत्तामा पुर्याए, त्यस्ता दलका नेताले भारत र चीनलाई सजिलो हुने र खुशी पार्न सरकार गठन गर्ने भन्नु नेपाली जनताको जनमतको ठाडो अपमान हो।

नेपाली जनता, नेपाली जनताको आकांक्षा, विकास निर्माण, जनताका आवश्यकता, स्वास्थ्य, खानेपानी शिक्षा, दैनिक उपभोग्य सामग्री त्यसको व्यवस्थापनका लागि सक्षम सरकारको निर्माण बहुपक्षीय सरकारको निर्माण भन्नु सट्टा भारत र चीनलाई सजिलो हुने सरकार गठन गर्छौं भन्नुले प्रचण्ड कसका लागि राजनीतिक गर्छन् र कसका लागि काम गर्छन भन्ने सहजै बुझिएन र? दुर्भाग्य हो, सत्तासीन पार्टीका नेतहरुका आपसी कलहका कारण जनताले दुःख पाउनु परेको छ।

एउटा अध्यक्ष आफ्ना लागि भन्दा पनि छिमेकी देशका लागि सरकार बनाउँछु भन्दै हिँड्छन्, सत्ता नपाए मरिहाल्छु झैं गर्छन्। अर्का प्रधानमन्त्रीको कुर्सीमा बसेका अध्यक्ष दैनिक द्वन्द्व कलह निम्तिने भाषा र छुद्रता व्यक्त गर्दै हिँड्छन्। विकास निर्माण, राष्ट्र निर्माणको काम गरेको भएपनि एक अर्कालाई चिढ्याउने भाषा प्रयोग नगर्नु दल र सत्ताको नेतृत्व गर्ने नेतामा हुनुपर्ने पहिलो गुण नै हो।

सहनशीलता, शालीनता शासकमा हुनुपर्ने प्रमुख गुण हो। आवश्यक शासकीय गुण विनाका नेताले सरकारको नेतृत्व गर्दा अहिलेको परिणाम आएको हो। सहजै बुझ्न सकिन्छ, अहिलेको कठिन परिस्थिति त्यसैको उपज हो। तर यसो भन्दै गर्दा नेकपाका नेता प्रचण्ड–नेपाल समूहले अहिलेको संसदीय संरचनाअनुसार संसदमा प्रतिनिधित्वको अधार, संविधानमा भएको व्यवस्था र दलीय कानुनहरुको आधारमा प्रधानमन्त्री विरुद्ध सार्वजनिक रुपमा अभिव्यक्ति दिनु, विरोध गर्नु बाहेक प्रधानमन्त्री फेर्न सक्ने संभावना कम देखिन्छ।

सम्भावना छँदै छैन भने पनि हुन्छ। संसदीय दलका नेतासमेत परिवर्तन गर्न सक्ने स्थितिमा नभएका नेताहरुले प्रधानमन्त्री फेर्छु भन्नु अहिलेको अवस्थामा संवैधानिक व्यवस्था र संविधानको अध्ययनमा कमी देखियो।

हिजो प्रधानमन्त्रीले संसद विघटन गरेर सत्ताको नेतृत्वबाट सहज बर्हिगमन चुनावमार्फत रोज्नु ठिकै काम गरेका थिए। तर अब पुनःस्थापना भइसकेपछिको अवस्थामा प्रधानमन्त्री परिवर्तन त्यति सहज देखिँदैन।

त्यस्तो स्थितिमा या दल र दलको साधारण सदस्यताबाटसमेत हटाइसकेको विषयको जानकारी पार्टीको बहुमतको निर्णयले सभामुखलाई दिने, सभामुखले सांसद सदस्यसमेतबाट हटाइएको घोषणा गर्ने, त्यस्तो अवस्थामा सर्वोच्च गुहारेर सर्वोच्चको ब्याख्याबाट प्रधानमन्त्रीको बाहिर्गनम हुने जटिल बाटो एउटा बाँकी छ।

तर, त्यस्तो जटिल बाटो सहज नहोला। त्यस्तो अवस्थामा प्रधानमन्त्रीले बाँकी कार्यकाल पूरा गरेर चुनाव गर्ने बाहेक जतिसुकै जो सुकैले विरोध गरेपनि सविधानतः प्रधानमन्त्रीको बहिर्गमन संभव देखिँदैन।

र, प्रधानमन्त्रीले बरु आफ्ना दलका आफू बाहेकका सबै सिनियर नेताहरुलाई जनसमक्ष स्वयं नै एक्सपोज गराउने, खुइल्याउने, नांगो बनाउने कमजोर बनाउने काम गर्न प्रधानमन्त्री सफल हुनु भयो। नेकपाका नेताले अहिले प्रधामन्त्री परिवर्तन गराउन सक्दैनन्, संभव छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *