मल आयातमा नौलो सुरुवात गर्दै कृषि मन्त्रालय

डिसी नेपाल
२० फागुन २०७७ ११:४९

काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पहिलो पटक चीनबाट यूरिया मल ल्याउने भएको छ। समयमा मल नपुगेको भनेर सधैंजसो आलोचित हुृँदै आएको मन्त्रालय यो पटक भने मल अभावको समस्या दोहोरिन नदिने तयारीमा जुटेको छ।

पारवहनमा समस्या देखिने गरेको भन्दै मन्त्रालयले पहिलो पटक चिनियाँ सिमानाबाट मल आयात गर्न लागेको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले जानकारी दिए।

उनका अनुसार चीनबाट पहिले परिक्षणको लागि मल आयात भए पनि औपचारिकरुपमा पहिलो पटक ल्याँइदै छ। उनले भने, “अहिले हामीले सुरुवात मात्रै गर्न थालेको हौँ। आजसम्म सबै मल दक्षिणी नाकाबाट मात्रै आयात भइरहेको छ। खासगरी सिजनमा पारवहन समस्याका कारण मल आयातमा समस्या खेप्नु परेको थियो। अब हामी नौलो सुरुवात गर्दै छौं।”

मन्त्रालयले हाल करिव चार हजार टन युरिया मल आयात गर्न लागेको छ। उक्त मल अबको एक हप्ताभित्रै नेपाल आइपुग्ने छ। यो यूरिया मल दक्षिणी सिमाना नजिकका जिल्लाहरुमा वितरण गर्ने तयारी छ।

यसपटकको मल सहुलियत मूल्यमा आयात भएको छ। मन्त्रालयले दक्षिणी सिमानाबाट आयात हुने मल गुणस्तरीय र कम मूल्यमा आयात हुने दावी गरेको छ।

मन्त्रालयले यो वर्षको लागि बङ्लादेशबाट ५० हजार टन यूरिया मल नेपाल ल्याउने जनाइसकको छ। पहिलो चरणमा २२ हजार मेट्रिक टन मल आयात हुँदै छ। उक्त मल अबको ३ दिन भित्र नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ। बाँकी मल अर्को चरणमा ल्याइने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *