नेता मोटा भए जनता बलिया हुन्छन् (व्यंग्य)

डिसी नेपाल
२१ फागुन २०७७ ७:११

संसद बिघटनको घोषणा बिरुद्धको मुद्दाको फैसला आफ्नै दल अनुकूल आएपछि दलका दुबैथरी झगडियाहरु आ–आफ्नै किसिमले हर्षित भएको र आ-आफ्नै तरिकाको बाटो गएको देखेर जनता खुसी भए। बिघटन गर्ने र त्यसको बिरुद्ध मुद्दा हाल्न अघि सर्ने एउटै दल भएकोले जनता खुसी भएका हुन्।

एउटा गतिशिल राजनैतिक दलमा विवाद हुनु, बहस हुनु, कुरा नमिल्नु आदि त जीवन्त दलको बिशेषता नै हो भन्ने भनाइ सुन्दै आएका र कतिसम्मको झगडालाई सामान्य विवाद भनिन्छ भन्ने नबुझेर चकित खाएका जनताले यसपाली चाहिँ सामान्य विवादको उत्कर्ष प्रत्यक्ष रुपमा हेरेर ठूलै लाभ उठाउन सकेको पाइयो।

एउटै दलका दुई अध्यक्ष दुईतिर फर्केको र सरकार प्रधानको कुर्सीको कारणले विवाद चर्केको भन्न पनि नमिल्ने र यसलाई सानो विवादको रुपमा गन्न पनि नमिल्ने दोधारे अबस्थाले गर्दा दलको एकीकरण र सरकार गठन भएको मितिदेखि सल्केको बिवादको आगोमा हात सेकेर फाइदा उठाउन पल्केको गुटतिर ढल्केको राजनीतिमा आफ्नो भाग्य टल्केको अवस्था बाहेक अरु केही सोच्न नसक्ने शिर्षस्थ ब्यक्तित्वहरुबाटै जनताको नाम लिँदै भित्रभित्र दाम आउने काममा मात्रै ध्यान गरेकोले गोलमाल हुन गएको सबैले थाहा पाए।

दलका दुई अध्यक्ष मध्ये एक अध्यक्षले संसद विघटन गरे अर्का अध्यक्षले त्यसको बिरुद्ध मुद्दा हालेर र विरोधका कदमहरु चालेर भएपनि आफ्नै दलको सरकार ढालेर आफू सरकार प्रधानको कुर्सीमा बस्ने परम् आकांक्षासाथ अनेकौँ प्रयास गरे। दलमा दुई अध्यक्ष हुँदाहुँदै दास्रा अध्यक्षले अर्का पूर्व सरकार प्रधान भइसकेका र अनेक चरणबाट परिपक्वतामा पुगी स्खलन तर्फ गइसकेका वरिष्ठ नेतालाई पनि दलको अध्यक्षको पगरी बक्सिसमा दिए अनि सरकार प्रधानको कुर्सीमा पुग्न जेजस्तो कदम चालेपनि सहयोग र समर्थन गर्ने बचन लिए।

दलको अध्यक्ष भएपनि आफूलाई ज्यादै पीडित सम्झेर विरोध सभाहरुमा पीडा पोख्ने र सरकार प्रधान बिरुद्ध चालिने अविश्वासको कदममा सहयोगको लागि संसदहरुलाई नोटको तुलोमा जोख्ने काममा ज्यादै तदारुकता साथ लागेको देख्दा आफ्नै दल आफ्नै सरकार आफ्नै अध्यक्ष र सर्सर्ती हेर्दा आफ्नै बिरुद्धमा लागेको अनि अति कुर्सी मोह जागेको र जनतासित गरिएका बाचाहरुबाट भने नौ कोश पर भागेको देख्दा असली राजनीतिज्ञको बास्तविक अनुहार कती सुन्दर हुने रहेछ भनेर जनताले अझ राम्ररी अनुभव गर्न पाएका छन्।

अन्य दलका वरिष्ठहरुलाई आफ्नै दलको दोस्रो ठेगानामा बोलाएर सरकार बनाउन सहयोग र समर्थन जनाउन अनुरोध गर्दै मनाउन खोज्दा तपाईँहरुको दल कुन हो प्रष्ट पार्नोस् अनि बिचार गरौँला भन्ने जवाफ पाएपछि लड्डु अझै अमिलो हुँदै गएको देखियो।

सरकार प्रधानले गरेको संसद विघटन उल्टाइ दिएपछि र सरकार प्रधान सहितका अध्यक्षको भन्दा उल्टो बाटो लिएपछि अब सरकार प्रधानले राजीनामा दिन्छन् अनि आफ्नो शक्तिलाई सबैले चिन्छन् भन्दै सरकार प्रधानको कुर्सीमा बसेको कल्पना गर्दै तीन मध्ये दुई अध्यक्षले एकअर्कालाइ प्रेमपूर्वक लड्डु ख्वाएको दुर्लभ दृश्य टेलिभिजनमा देखेर जनताले पनि लड्डु खाएर मुख गुलियो बनाएको र नेताहरुले आफ्नो औकात जनाएको महसुस गरे।

लड्डु खुवाइ खुवाइ गरिसकेपछि समर्थकहरुले आयोजना गरेको सभालाई सम्बोधन गर्नुभन्दा अर्का अध्यक्षलाई छकाउने र प्रतिपक्षका नेतालाई फकाउने दाउले हान्निदै आएर प्रतिपक्षी नेताकहाँ पुग्दा दल फुटाएर आउनु भन्ने निर्देशन पाएपछि रन्थनिएर फर्किन परेपछि लड्डु अमिलो परेछ र अदालतको फैसला राम्रै भएपनि जेठो अध्यक्षले गर्नु गरेछ भन्दै फर्किएछन्।

अन्य दलका वरिष्ठहरुलाई आफ्नै दलको दोस्रो ठेगानामा बोलाएर सरकार बनाउन सहयोग र समर्थन जनाउन अनुरोध गर्दै मनाउन खोज्दा तपाईँहरुको दल कुन हो प्रष्ट पार्नोस् अनि बिचार गरौँला भन्ने जवाफ पाएपछि लड्डु अझै अमिलो हुँदै गएको देखियो।

अदालतको फैसला आउनासाथ र यो खबर थाहा पाउनासाथ अब नैतिकताको आधारमा सरकार प्रधानले राजिनामा दिन्छन् र राजनीतिबाट सन्यासको बाटो लिन्छन् भनेर ढुक्क परेका अर्का अध्यक्ष सहितका टोली दंग परेर मुख मिठ्याउँदै हिँडेको अबस्थामा सरकार प्रधानले अदालतको फैसला शिरोपर गरेर मान्छु तर राजीनामा नदिइकन संसदमै फेश गरेर जान्छु भनेपछि नैतिकता भन्ने शब्द नै बेकामे भएजस्तो भयो।

गत डेढ दशक जतिमा हरेक दलका साना मझौला ठूला शिर्ष आदिको उपाधिबाट सम्बोधित सबै नेताहरुको नैतिकता जनताले राम्ररी देखिसकेका हुनाले यस बारेमा धेरै चर्चा गरिराख्न आवश्यक देखिन्न। चुनावमा भोट खसाल्ने र नेताहरुलाई कुर्सीमा बसाल्ने जनताले मरिमरी शिला खोजेपनि नैतिकता भन्ने चिज फेला पार्न ढिला भइसकेको प्रष्टै छ।

यसबाट उम्लेकै तातो पानीले मात्रै नुहाउँछु भनेर उफ्रेका महानुभावहरु एकैचोटी चिसै पानीले भएपनि नुहाउने अवस्थामा पुगेजस्तो छ। अझ राजीनामा नदिए कठालो समातेर कुर्सीबाट झार्ने र भबिष्यमा उठ्नै नसक्ने गरी अलपत्र पार्ने उद्घोषलाई पनि हावामा उडाइदिएर जनता हँसाएपछि अर्को पक्ष अझै अलमलिएको देखिन्छ।

तल्लो तहदेखि राष्ट्रिय तहसम्मको राजनीति गर्ने कसैसित पनि बाँकी नभएको नैतिकता खोजेर र नैतिक बाटो रोजेर जग हँसाइ गर्नुभन्दा सबैले चुपचापसित साबिक अनुसार भागबन्डातिर गएमा सबैको लागि उत्तम हुने जनताको धारणा रहेको छ। जसले जतिसुकै ठूला कुरा गरेपनि ब्यक्तिगत भागबन्डा र खानपिनभन्दा माथिको सोच कसैमा देखिएको छैन।

हालको अबस्थामा सबैभन्दा खडेरी परेको शब्द नै नैतिकता भएको हुनाले कसैले पनि यसको खोजी गर्नेजस्तो निकृष्ट कार्य नगर्नै राम्रो हुने कसैको रहर नभएपनि सबैको यही ठहर छ। फैसला आउनुभन्दा अघिसम्म एउटै दलका दुई अध्यक्षले न्वारानदेखिको बल निकालेर एकअर्कालाई जानेसम्मका तुच्छ शब्दमा गालीगलौज गर्दै सभा सम्मेलन सञ्चालन गर्दै आएकोमा फैसला आएपछि दुबै अध्यक्षले एकअर्का गुटका नेताहरुलाइ कारवाही गरेर फुटलाई अझ प्रोत्साहन गरेका छन्।

एउटै दलका नेताहरुले प्रतिस्पर्धात्मक शैलीमा नेताहरु माथि निस्काशन निलम्बन जस्ता कारवाही गरेर तत्काल सार्बजनिक समेत गरेको अबस्थामा एउटै दलमा यस्ता रमाइला रोचक र मतदाताको मनमा घोचक खालका निर्णयहरु भएको संसारकै पहिलो र नौलो घटना हुनुपर्छ। यसमा दुबै अध्यक्षले गिनिज बुकमा नाम लेखाउने र दल सञ्चालनमा नयाँ प्रयोग गरेर संसारलाइ देखाउने काममा बिलम्ब नगरेको ज्यादै राम्रो भयो।

आफ्नो दलभित्रको गुट र आफ्नो दल राम्ररी चलाउन नसकेपनि देशको बागडोर चाहीँ ज्यादै राम्रोसित चलाउन सक्ने हामी नै हौँ भनेर सँसारको अगाडि बक्ने अद्भुत क्षमता भएका हजारौँ नेता पाउनु नै जनताको अहोभाग्य हो। आँफूसित भएको सम्पूर्ण शक्ति लगाएर र जानेसम्मका भूतप्रेत जगाएर भएपनि एकअर्कालाई सिध्याउन ज्यान फालेर लागिपर्दा पनि दललाई टुक्रिन नदिइ बाध्यता र स्वार्थको रसायनले जोडेर राख्नुले नैतिकताहिनको अहिलेसम्मको रेकर्ड तोडेर अगाडि बढ्न सक्नु भनेको यसलाई फोडेर जाने ताकत नभएर हो भन्ने कसैले बुझ्छ भने त्यो गल्ती हुनसक्छ।

एकअर्कालाई नैतिकताको शिक्षा दिने नेताहरुबाट रातभरी पढायो पाठ सोह्र दुने आठ जस्तो कार्य त हुँदैन होला भन्नेमा जनता ढुक्क छन्। दल बिभाजन भएको छैन भनेर जतिसुकै फलाकेपनि बास्तविकता सबैका सामु छर्लँग नै छ। मुखले एउटै दल भनेपनि परिस्थितीले जुट्नपनि नसकिने र जेसुकै होस् भनेर फुट्नपनि नसकिने अचम्मको चेपुवामा परेका दल र नेताहरुले सारा संसारलाइ अद्भुत मनोरञ्जन दिलाएर हँसाएकोमा जनताले देख्न नपरोस् भन्दै आँखा सिलाएर बस्न पर्ने अबस्था छ।

यो त लाज सरम घिन र अरु यी जस्तै सबै सद्गुणहरु पचेपछि प्राप्त हुने अद्भुत क्षमताको बिकासको पराकाष्टा भएको हुनाले यसको निकास कतैबाट हुनसक्ने देखिँदैन। सबैकहाँ खटिएका सुरक्षा कर्मिहरुको ब्यापक कटौती गरी आफ्नो सुरक्षामा निकै थप गरेका सरकार प्रधानलाई सुरक्षाको ज्यादै खतरा छ भनेर उनि आफैंले आमसभामा जनतालाई जानकारी गराए।

सुरक्षामा खटिने र खटाउने कसैले पनि सो अनुसारको सूचना पाएको वा उनीहरुलाई त्यस्तो खतराको सूचना आएको भएपनि गोप्य राखेर खतरा अनुसारको सुरक्षा योजना लागू गर्ने बिषयमा बोलेर र आफ्नो ज्युज्यानमा खतरा छ भन्ने गोप्य सूचना आमसभामा खोलेर सुरक्षा जस्तो संवेदनशील बिषयमा पनि राजनीति गरेर जनताको भावना सित खेलबाड गरेको भन्दै बिरोध भएको सुनियो।

प्रत्येक सुरक्षा चुनौतीलाई सामना गरी सरकार प्रधान र सुरक्षा दिन पर्ने अरुलाई हरेक खतराबाट सुरक्षित राख्न सक्षम सुरक्षाकर्मीहरुलाई लान्छना लगाउँदै र उनिहरुको क्षमतामा शंकाको धारा बगाउँदै अन्य सबै बिषयहरुमा जस्तै सुरक्षा बिषयमा पनि आफैं विज्ञ वा विशेषज्ञ हुँ भनेको सुरक्षाकर्मी र जनताले राम्ररी पत्याए।

झोले पत्रकारबाट पत्रकार, माननीय, मन्त्री हुँदै दलको केन्द्रीय सदस्य रहेका एकजना वरिष्ठ नेताले आफ्नै दलकी महिला माननीयले सरकार प्रधान समेत रहेका अध्यक्षलाई पोइल जान पाम भन्दै सेता पिँडुला देखाएर माननीय पद पड्काएकी र अन्यले भन्दा बढी सुबिधा र अवसर छड्काएकी भनेर सार्वजनिक सभामा घोषणा गरेछन्।

उनी वैवाहिक पोइल गएको अहिलेसम्म कसैलाई थाहा नभएपनि दल परिवर्तन गर्दै राजनैतिक पोइल जाँदै हालको दलमा आएको चाँही सबैलाई थाहा छ। माननीय हुनुभन्दा अघिदेखि नै कलाकारिता र अन्य सामाजिक क्षेत्रमा ती केन्द्रीय सदस्यभन्दा निकै उच्च र सम्मानित स्थानमा रहेकी अत्यन्त क्रियाशिल महिलालाई त्यस्तो तुच्छ शब्द प्रयोग गर्ने एउटै दलका वरिष्ठ नेताको मानसिक र दिमागी स्तर हेरेर जनताले उनको दलका माथिदेखि तलसम्मका सबै नेताहरुको क्षमता र योग्यता बारेमा प्रष्ट जानकारी पाएको देखियो।

आफूलाई पहिलो कोटीको अध्यक्ष भनेर आफैले घोषणा गरेपनि दोस्रो जस्तो देखिने महान नेताले अदालतको फैसला आउनासाथ सरकार गठन सम्बन्धि ज्यादै महत्वपूर्ण धारणा ब्यक्त गरेछन् र आफूले भनेजस्तो भएमा त्यो सरकार दक्षिणी छिमेकीको लागि सुविधाजनक हुनेमा ढुक्क परेछन्।

बोलीसकेपछि झल्याँस्स भएर त्यस्तो सरकार उत्तर दक्षिण दुबैका लागि सुविधाजनक हुने भनेर सच्याउन खोजेपनि बुझ्नेले कुरा बुझिहाले। मान्छेको भित्री मनमा जे हुन्छ मुखमा पनि त्यही आउने हुनाले कसैलेपनि यसलाई अन्यथा लिइदिन हुँदैन। सबैको आ–आफ्नो बाध्यता हुन्छ भनेर बुझिदिन पर्छ।

जसले अहिलेसम्मको जीवन उतैको हितमा बितायो र अहिले पनि यताको भन्दा उतैको हित चितायो भने यसमा के गल्ती भयो र? उताका मालिकहरुको ताल इशारा तालिम र संगीत अनुसारको कला देखाइ यताका सोझासिधा जनताको गला रेटेर उताकालाई रिझाउने अनि यताकालाई सबैतिरबाट बिझाउने नगरी राजनैतिक भविष्य अन्धकार देख्नेले उताकै सुविधालाई मध्यनजर राखेर कदम नचाली नहुने बाध्यतालाई जनताले बुझिदिन पर्छ।

हाड नभएको जिब्रो चिप्लेको कारणले उनले फ्याट्ट खुस्काएको भएपनि यो तहका सबै नेताहरुको समान बाध्यता यही हो भनेर जनताले राम्रैसित थाहा पाएका छन्। पिपलको जरा काँशी पुगेको हुन्छ भन्ने भनाइ त्यसै प्रयोग भएको होला भन्ने सोच्नु मुर्खता नै ठहरिन्छ।

पुन:स्थापित संसदमा साँसदहरुको अंक गणितीय संख्याले निकै ठूलो महत्व राख्ने हुनाले संसदहरुको किनबेचमा भित्रभित्र लिलाम बढाबढको साथै धम्की, बिभिन्न पदहरुको प्रलोभन, सुरा सुन्दरीसहितको भ्रमण र एकान्त बासको जोडदार ब्यबस्था, नमानेमा अपहरणसहितका डर त्रास देखाउने कार्यहरुको सुरुवात भइसक्यो रे भन्ने हल्ला चलिसकेको भएपनि जनताले पत्याएका छैनन्।

एकअर्कालाई नैतिकताको शिक्षा दिने नेताहरुबाट रातभरी पढायो पाठ सोह्र दुने आठ जस्तो कार्य त हुँदैन होला भन्नेमा जनता ढुक्क छन्। दल बिभाजन भएको छैन भनेर जतिसुकै फलाकेपनि बास्तविकता सबैका सामु छर्लँग नै छ। मुखले एउटै दल भनेपनि परिस्थितीले जुट्नपनि नसकिने र जेसुकै होस् भनेर फुट्नपनि नसकिने अचम्मको चेपुवामा परेका दल र नेताहरुले सारा संसारलाइ अद्भुत मनोरञ्जन दिलाएर हँसाएकोमा जनताले देख्न नपरोस् भन्दै आँखा सिलाएर बस्न पर्ने अबस्था छ।

अहिलेसम्म संसदमा टेबुल ठटाएर इज्जत बचाउने बाहेक अरु काम नगरेका सांसदहरुले भेडाबाख्रा जस्तो बिक्री भएर ठूलै रकम पचाउने गरी आइलागेको अवसरलाई कुनैपनि हालतमा खेर जान दिन नहुने जनताको सल्लाह छ। आपूmले चुनेका नेतारुपी सांसद मोटा भए जनता बलिया हुन्छन् भन्ने वर्तमान समयको महावाणीलाई सबैले मनन गर्नैपर्छ र मौकामा नोटको बिटोमाथि चर्नैपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *