बिहान १० बजेसम्म ३ लाखले गरे पशुपतिको दर्शन, यो वर्ष साधुसन्तको संख्या तीन हजार मात्रै

उपेन्द्र शाही
२७ फागुन २०७७ १०:४६

काठमाडौं । शिवरात्रिको दिन विहान १० बजेसम्म करिव ३ लाखले पशुपति मन्दिरको दर्शन गरेका छन्। पशुपति क्षेत्र विकास कोषको मूल्याङ्कन तथा तथ्याङ्कक संकलन उपसमितिका संयोजक घनशयाम खतिवाडाले विहान १० बजेसम्म ३ लाख भक्तजनले पवित्र पाशुपत क्षेत्रको दर्शन गरेका छन्।

हिन्दु धर्मालम्बीहरुको महत्वपूर्ण पर्व महाशिवरात्रि बिहीबार देशभर धुमधामका साथ मनाइँदै छ। सोही अवसरमा यो वर्षको महाशिवरात्रि पर्व मनाउन आज विहानैभरि देशभरका शिवालयहरुमा चहलपहल बढेको छ। खासगरि काठमाडौंको पशुपत क्षेत्रमा भक्तजनको ठूलो संख्यामा घुइचो लागेको छ।

कोषले ११ वटा उपसमितिहरू बनाएर शिवरात्रि पर्व व्यवस्थापनको काम गरेको छ। भक्तजनको व्यवस्थापन र सुरक्षाका लागि नेपाल प्रहरीबाट ७ हजार र सशस्त्र प्रहरी बलबाट ३ हजार सुरक्षाकर्मी खटाइएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिएका छन्। चार हजार भन्दा धेरै स्वंसेवक र स्वास्थ्य शिविरहरु सञ्चालनमा छन्। यस्तै दर्शनका लागि सवारी साधनमा आउनेहरूका लागि ५ ठाउँमा पार्किङको व्यवस्था समेत गरिएको छ।

पशुपति क्षेत्रविकास कोषले यस वर्ष १० लाख भक्तजन आउने अनुमान गरेरे सोही अनुसारको तयारी गरेको हो। सदा झै यस वर्ष पनि शिवरात्रिको अवसरमा देशका विभिन्न ठाउँलगाएत भारतका विभिन्न स्थानका तीर्थयात्रीहरु पशुपतिनाथ क्षेत्रमा भेला भएका छन्।

यस्तै साधुसन्तको विशेष रौनक थप्ने शिवरात्रिमा यस वर्ष भने कम संख्यामा उपस्थिति देखिएको छ। कोषले दिएको तथ्यांकअनुसार यो वर्ष करिव तीन हजारको संख्यामा साधुसन्तको उपस्थिति रहेको छ।

विगतका वर्षहरुमा शिवरात्रिको अवसरमा खासगरि छिमेकी मुलुक भारतबाट ठूलो संख्यामा साधुसन्तको उपस्थिति रहने गर्दथ्यो। तर, महामारीका रुपमा फैलिएको कोरोना भाइरसका संक्रमण त्रास र नाकाहरु पूर्णरुपमा खुला नभएकोले यसपाली साधुसन्तको थोरै संख्यामा उपस्थिति रहेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *