वन डेमा ४३४ रनको विशाल स्कोर बनाएको अस्ट्रेलिया हार्छ भन्ने कसैले सोचेको थिएन तर…

डिसी नेपाल
२८ फागुन २०७७ १०:१०

काठमाडौं। एकदिवसीय क्रिकेटमा आज अर्थात मार्च १२ को दिन अत्यन्तै विशेष दिन हो । १५ वर्ष पहिले २००६ मा यसै दिन दक्षिण अफ्रिकाले जोहान्सबर्गको वन्डरर्स मैदानमा इतिहास बनाएको थियो । दक्षिण अफ्रिकाले एकदिवसीय इतिहासमै सबैभन्दा विशाल लक्ष्य हासिल गरेर विश्वरेकर्ड बनाएको थियो । यो रेकर्ड १५ वर्षपछि पनि कायमै छ ।

यो खेलमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ४३४ रन बनाएको थियो । यो त्यो समयसम्म एकदिवसीय क्रिकेटको सबैभन्दा ठूलो स्कोरको रेकर्ड थियो । जवाफमा दक्षिण अफ्रिकाले १ बल बाँकी रहँदै ९ विकेटको क्षतिमा ४३८ रन बनाएर अस्ट्रेलियालाई एक विकेटले पराजित गरेको थियो । यो जीतका हिरो हर्सल गिब्स थिए । उनले १११ बलमा १७५ रनको इनिङ खेलेका थिए ।

पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाका ओपनर एडम गिलक्रिस्ट (५५) र साइमन क्याटिच (७९) ले पहिलो विकेटको लागि ९७ रन जोडे । गिलक्रिस्ट आउट भएपछि कप्तान रिकी पोन्टिङले तुफानी ब्याटिङ गर्दै १०५ बलमा १६४ रनको इनिङ खेले । पोन्टिङले आफ्नो इनिङमा १३ चौका र ९ छक्का हानेका थिए । माइक हसीले ५१ बलमा ८१ रन बनाए ।

दक्षिण अफ्रिकाको इनिङमा सुरुमै कप्तान ग्रिम स्मिथले ५० बलमा ९० रनको तुफानी इनिङ खेले । सबैभन्दा उल्लेखनीय इनिङ हर्सल गिब्सको रह्यो । उनले १११ बलमा १७५ रन बनाए । उनले कूल २१ चौका र ७ छक्का हाने । यो खेलमा रिकी पोन्टिङ र हर्सल गिब्स दुवैलाई संयुत्तः रुपमा म्यान अफ द म्याच घोषित गरिएको थियो ।

यो खेलमा कूल ८७ चौका र २६ छक्का प्रहार भएका थिए । यो खेलमा कूल ८७२ रन बनेका थिए जो एक खेलमा सबैभन्दा धेरै रनको रेकर्डको रुपमा आजसम्म पनि कायमै छ । अस्ट्रेलियाका बलर मिक लुइसको १० ओभरमा दक्षिण अफ्रिकाले ११३ रन बनाएको थियो जुन एक बलरले एकदिवसीयमा सबैभन्दा धेरै रन दिएको रेकर्ड हो र आजसम्म कायमै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *