उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न मुख्यमन्त्री गुरुङको आग्रह

रासस
२९ फागुन २०७७ १९:४९

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी चैत २ गते हुन लागेको ‘एन्फा प्रेसिडेन्ट कप’मा उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न आग्रह गरे ।

गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै लमजुङस्थित त्रिवेणी क्लबले सो खेलका लागि सहभागिता जनाउनका त्रिवेणी क्लबले आयोजना गरेको ‘एन्फा प्रेसिडेन्ट कप–२०७७’ को पत्रकार सम्मेलन तथा खेलाडीलाई शुभकामना तथा बिदाइ कार्यक्रममा आज खेलाडीलाई विजयको शुभकामना दिदैँ लक्ष्य भनेको सधैँ ठूलो लिनुपर्ने र लक्ष्यमा पुग्न नसके पनि निराश भने बन्न नहुने बताए ।

त्रिवेणी क्लबले प्रदेशकै प्रतिनिधित्व गरेर प्रतियोगितामा भाग लिन लागेकाले यो लमजुङ र प्रदेशकै गौरवको कुरा रहेकाले सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री गुरुङले जोड दिए । उनले सो खेलका लागि पैसाका कारण खेलाडीको मनोबल घट्दै हार्ने स्थिति नबनाउनलाई आग्रह गरे । प्रतियोगितामा सहभागी हुन रु २९ लाख १० हजारको बजेट खर्च अनुमानित गरेको क्लबले सहयोग रकम सङ्कलन गरिरहेकाप्रति इङ्गित गर्दै मुख्यमन्त्री गुरुङले ढुक्कसाथ अघि बढन भने । खेलाडीलाई आर्थिक अभाव हुन नदिने भन्दै गण्डकी प्रदेश सरकारले खेलाडीको भत्तास्वरुप रु १५ लाख सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

क्लबले कूल खर्चमध्ये खेलाडीको पारिश्रमिकस्वरुप रु १५ लाख बजेट प्रस्ताव गरेको छ । कार्यक्रममा मुख्यमन्त्री गुरुङले त्रिवेणी क्लबको जर्सी सार्वजनिक गर्दै खेलाडीलाई प्रदान गरेका थिए । मुख्यमन्त्री गुरुङले क्लबका टोली क्याप्टेन सोमराज गुरुङ र सहायक प्रशिक्षक इन्द्र रानालाई जर्सी प्रदान गरेका थिए । क्लबले मुख्यन्त्री गुरुङलाई मायाको चिनोस्वरुप ट्रयाक दिएको थियो ।

एन्फा प्रेसिडेन्ट कपको चौथोसम्ममा पर्न सकेमा मात्र उक्त अवसर प्राप्त हुने क्लबले जनाएको छ । गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडी, संविधानसभा सदस्य जमिन्द्रमान घले, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेलगायत पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, क्लबका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका सभापति भेषबहादुर पौडेललगायतले विजयको शुभकामनासहित खेलाडीको बिदाइ गरेका थिए ।

तेस्रो लीलबहादुर स्मृति कपको उपाधि सरातेपोखरीलाई

बेँसीशहर नगरपालिका–३ चिसापानीमा सञ्चालित तेस्रो लीलबहादुर स्मति कपको उपाधि सरातेपोखरी युवा क्लब बेँसीशहरले जितेको छ । सुन्दरबजार फुटबल क्लब र सरातेपोखरी युवा क्लबबीच आज भएको फाइनल खेलमा (ट्राइबेकर) मा चारका विरुद्ध पाँच गोल गर्र्र्दै सरातेपोखरी युवा क्लबले उपाधि जितेको हो ।

सेमिफाइनल खेलमा च्यानपाटा युवा क्लब सुन्दरबजारलाई पराजित गर्दै सरातेपोखरी युवा क्लब फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै उपविजेता सुन्दरबजार फुटबल क्लबले उदीपुरलाई हराएर फाइनलमा प्रवेश गरेको थियो । विजयी सरातेपोखरी युवा क्लबले रु एक लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सुन्दरबजारले रु ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । स्थानीय ओम सिद्धार्थ युवा क्लबले महाशिवरात्रिका अवसरमा फुटबल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा ३० टोली सहभागी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *