भेट्रान्स फुटबलको उपाधि मिया सान मिया काठमाडौँलाई

डिसी नेपाल
२९ फागुन २०७७ २०:३१

कास्की । पोखरामा सञ्चालन भएको ‘चौथो रञ्जित गुरुङ स्मृति तथा १०औँ बगर भाइ खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि काठमाडौँको ‘आई बोस मिया सान मिया’ले जितेको छ ।

बगर भाइ खलक पोखराको आयोजनामा यही फागुन २४ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा साविक विजेता टी वर्गर ललितपुरलाई ४–१ गोलअन्तरले पराजित गर्दै मिया सान मियाले उपाधिसहित रनिङ शिल्ड र नगद रु एक लाख ११ हजार १११ पुरस्कार प्राप्त गर्न सफल भयो ।

उपविजेता बनेको टी वर्गरले नगद रु ५५ हजार ५५५ सहित मेडल र प्रमाणपत्रमा चित्त बुझायो । दुवै टोलीमा पूर्व राष्ट्रिय खेलाडीको सहभागिता रहेकाले खेल रोचक रहे पनि सान मियाले प्राप्त अवसरको सदुपयोग गर्दै च्याम्पियन बन्न सफल भयो ।

उपाधि विजेता टोलीका लागि नवीन न्यौपानेले र नवीन पाण्डेले समान दुई÷दुई गोल गरे । टी वर्गरका नरेन्द्र लिम्बूले दोस्रो हाफमा एक गोल फर्काएका थिए । प्रतियोगितामा टी वर्गरका नरेन्द्र लिम्बू सर्वोत्कृष्ट खेलाडी हुँदै नगद रु १० हजार र ट्रफी पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर मिया सान मियाका राजेश खड्की, उत्कृष्ट गोलरक्षकमा मिया सान मियाका सञ्जीव खड्की, उत्कृष्ट फरवार्डमा मिया सान मियाका नवीन न्यौपाने, उत्कृष्ट डिफेण्डरमा टी वर्गरका नरेश थापा घोषित हुँदै जनही रु पाँच हजारका दरले पुरस्कार प्राप्त गरे ।

विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव विनोदबहादुर कुँवर, संस्थाका अध्यक्ष दिलबहादुर गुरङ, तमुधिं युकेका अध्यक्ष कमल गुरुङ, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

पुरस्कार रकम सामाजिक काममा

उपाधि विजेता मिया सान मिया र उपविजेता टी वर्गरले पुरस्कारवापत प्राप्त रकम सामाजिककार्यमा हस्तान्तरण गरेका छन् । मिया सान मियाले आफ्ना टोलीका खेलाडी तथा पूर्व राष्ट्रिय खेलाडी नवीन न्यौपानेकी क्यान्सर पीडित आमाको उपचारका लागि हस्तान्तरण गरेको हो । यसैगरी उपविजेता टोलीले पोखरामा महिला र बालबालिकाको क्षेत्रमा कार्यरत सञ्जिवनी समूहलाई हस्तान्तरण गरेको छ ।

माछापुच्छ«ेमा खुला सेभेन ए साइड फुटबल हुने

माछापुच्छ«े गाउँपालिकामा गाउँपालिकास्तरीय खुला सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । वडा नं ४ लाहाचोकमा अवस्थित जोगीचौर युवा क्लबको आयोजनामा फागु पूर्णिमाका अवसरमा आगामी चैत १३ देखि १५ गतेसम्म गाउँपालिकाभित्र रहेका क्लबका बीच फुटबल प्रतियोगिता हुने क्लबका अध्यक्ष किरण भण्डारीले जानकारी दिए ।

आज क्लबले एक कार्यक्रम आयोजना गरी प्रतियोगिताको मिति घोषणा गरेको हो । महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रु ३३ हजार ३३३ तथा उपविजेताले रु २२ हजार २२२ सहित ट्रफी र प्रमाणपत्र पुुरस्कार प्राप्त गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *