खाडी मुलक जाने श्रमिकसँग अवैधानिक तरिकाले पैसा असुल्दै व्यवसायी

रिता बस्नेत
१ चैत २०७७ १३:००

काठमाडौं। सरकारले मलेसियालगायत खाडी मुलुकमा श्रमिक पठाउँदा म्यानपावरले फ्रि भिसा फ्रि टिकटअन्तर्गत १० हजार रुपैयाँ मात्र लिन पाउने नियम लागू गरेको छ। तर, व्यवसायीहरु भने अवैधानिक तरिकाले श्रमिकहरुसँग पैसा असुल्दै आएका छन्।

पछिल्लो सयम वैदेशिक रोजगार विभागबाट खटिएको हरिकृष्ण बुढाथोकी, हेमराज पाण्डे, बाबुराम पौडेल, सुवर्ण शाक्य, नरेश रोकायालगायतको अनुगमन टोलीले भिमसेनगोलास्थित टारगेट कन्सलटेन्ट हुमन रिसर्च प्रालि(८३३/०६६/०६७)मा छापा मारेको थियो। टारगेट म्यानपावरले रामेछापका पासाङ तामाङलाई साउदी पठाउनको लागि डेढ लाख रुपैयाँ मागेको रहेछ।

पीडित तामाङ भन्छन्, ‘यो म्यानपावरका साहुले डेढ लाख भन्नु भएको थियो। मैले एक लाख १५ हजार दिन्छु, हुन्छ कि हुँदैन भनेको, उहाँले हुँदैन भन्नु भयो। डेढ लाखमा गत फागुन १६ गते उडाउछु भन्नु भएको थियो, त्यसपछि १९ गते भन्नुभयो, फेरि त्यो दिन पनि नउडाउने हुनु भयो। नउड्ने भएपछि उनीहरुले फेरि फोन गरेर नरिसाउनु होला २९ गतेको फ्लाइट हुन्छ भन्नुभयो। हुन्छ, अब ठिकै छ, विश्वास मान्छु भने मैले पनि।’

तामाङ भनेबमोजिम १६ गते विदेश उड्नको लागि आगाडी नै पैसा बोकेर उक्त म्यानपावर गएका रहेछन्। तर, उनीहरुले भनेको समयमा नउडाउने भनेपछि उनी पैसा नदिइकन फर्किएका रहेछन्।

उनी भन्छन्, ‘भिसा आइसक्यो १६ गते नै उडाउछु ल छिटो पैसा लिएर आउ भन्नुभयो। अनि १६ गते उड्छु भनेर मैले क्यासै लगेर म्यानपावर गए। उहाँले त्यो दिन उड्दैनौं भाई १९ गते चाहीँ उड्छौ भन्नु भयो। पछि मलाई १७ गते बोलाएर प्लेन टिकटको एक लाखभन्दा बढी लाग्छ, पैसा चाहियो भन्नु भयो। मैले हुन्छ भने र दाइ, भिनाजुलाई सुनाएको त उहाँहरुले विभागमा बुझ्नु भयो। विभागले त्यत्रो पैसा टिकटको लाग्दैन भन्नु भयो। भिनाजु, दाईहरु पढेलेखेको हुनुहुन्छ, पहिला विभागमा जानु भएकाले फोन गर्नु भएको हो।’

यसअघि मलेसियामा तीन वर्ष र साउदी अरब दुई वर्ष काम गरेर आएका तामाङ अहिले फेरि साउदी ड्राइभिङ्गका लागि जान लागेका रहेछन्। उनले भने, ‘राम्रो डिमाण्ड छ भनेर उहाँहरुले होटल लाइनको गाडी चलाउनको लागि मलाई छान्नु भयो। गाडी चलाउने, त्यही होटलमै खानेबस्ने र १४ सय ५० तलब पाउने भनेपछि मैले चित्त बुझाएको थिए तर श्रममा हेर्दाखेरी एक हजार रुपैयाँ मात्रै तलब रहेछ। पहिला मलाई सेलेक्ट गरेपछि केही भन्नु भएन तर पछि उहाँहरुले रिस गर्ने, एक हप्तामा उडाउछु भनेको २०÷२२ दिन वित्दा पनि उडाउनु भएन।’

गाउँबाट आएर भक्तपुरमा दाईको कोठामा बसेको बताउने उनले भने, ‘उड्ने दिनमा पूरै क्यास नै गनेर जान्छु भन्दाखेरी उहाँले हुँदैन, तिमी जाने मान्छे नै होइनौ, तिमी लफडा गर्ने मान्छे हौं, भनेर भन्नु भयो। नपठाए त्यत्रो २५ हजार रुपैयाँ मैले ब्याजमा ल्याएर दिएको हो फिर्ता दिनु भन्दा उहाँले डकुमेन्ट बनाएको पैसा काट्छु भन्नु भयो। एक लाख २५ हजार रुपैयाँ क्यास नै चाहिन्छ भन्नुभयो अब क्यास त कसरी दिनसक्छु, यत्रो दिन काठमाडौं आएर बसिसके, बिरामी पनि भए। २० हजार जति त खादा, यताउती हिड्दा, बिरामी हुँदा खर्च भयो, मसँग त्यति पैसा छैन् पनि भनेको।’

उनले भने ‘खाडी मुलुकमा १० हजारमै जान सकिन्छ भन्ने कुरा मलाई केही नै थाहा थिएन, म त गाउँमा बस्ने सोझो मान्छे। जान त म दुई चोटी विदेश गएको हो। अब पैसा तिरेर जानै पर्छ। तिरेन भने तिमी आफन्तको म्यानपावरमा जाउ भन्छन्। मेरो आफन्तको म्यानपावर छैन्।’

तामाङले विभागले भनेअनुसार २५ हजार म्यानपावरलाई आइएमईबाट हालिदिएका रहेछन्। तर, म्यानपावरले उक्त पैसा अर्कै मान्छेको नाममा पठाउन भने छ। उता विभागले भने वैदेशिक रोजगारीको लागि ट्रान्सफर गरेको भनेर आइएमईमार्फत हालिदिनु भनेको रहेछ। यता आइएमईले श्रोत खोलेर हाल्न मिल्दैन भन्दै पैसा ट्रान्सर्फर गरिदिएछ। स्रोत नखुलेपछि विभागले फेरि अर्को २५ हजार रुपैयाँ म्यानपावरमै गएर दिन भनेबमोजिम उनले पैसा बुझाएका रहेछन्। सोही अनुसार संचालकले पैसा लिइराखेको अवस्थामा विभागले फेला पारेको थियो।

साउदीको लागि श्रम स्वीकृति लिइसकेका तामाङलाई विभागले भनेकै समयमा उडाइदिन भनेको छ। तामाङको डकुमेन्ट सो म्यानपावरमा नभएर सामाखुसीस्थित मेमोरियल ओभरसिजमा भएको पाइएपछि विभागले डकुमेन्टको जिम्मा लिई भनेबमोजिम उडाउन र विदेश गएपछि पनि दुःख नदिन भनेको छ। विभागका एक कर्मचारीले भने, ‘पीडितकै कमजोरीले दुःख पाउनु भयो भने उहाँको जिम्मा हो। तर तपाईहरुबाट उहाँलाई दुःख नहोस्। तपाईकै जिम्मामा डकुमेन्ट छोडियो। वैद्यानिक लागत सेवा शुल्क मात्रै लिएर उहाँलाई पठादिनु होला।’

सोही क्रममा टारगेट म्यानपावरमा भिजिट भिसाको समेत डकुमेन्ट फेला परेको थियो। त्यसैले विभागले थप अनुसन्धानका लागि भन्दै सो म्यानपावरबाट एउटा सिपीयू, दुई वटा पासपोर्ट, दुई वटा डायरीलगायतका केही शंकास्पद डकुमेन्टहरु लगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *