पर्यटकीय स्थललाई ब्राण्डिङ गर्दै बोर्ड

डिसी नेपाल
१ चैत २०७७ १३:१९

काठमाडौं। नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकीय गन्तव्यलाई ब्राण्डिङ गर्न शुरु गरेको छ। बोर्डले यसको शुरुवात गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको छ।

लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर ‘ब्रान्डिङ’ गर्ने काम थालेको बोर्डले क्रमशः अन्य गन्तव्यहरुलाई पनि ब्राण्डिङ गर्दै लैजाने योजना बनाएको छ।

गन्तव्यलाई सरल र स्पष्ट रूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्राण्डिङ आवश्यक्ता महशुस गरी ब्राण्डिङको शुरुवात गरिएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले जानकारी दिए।

‘कुनै पनि पर्यटकीय गन्तव्यहरुको आफ्नै पहिचान हुन्छ, त्यसको आफ्नै विशेषता हुन्छ। ती विशेषतालाई समेट्दै ब्राण्डिङ गर्दा लुम्बिनीलाई आकर्षक गन्तव्य बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा चिनाउन थप बल सहयोग पुग्ने छ। हामीले यो प्रयास गरेका छौं। विस्तारै अन्य गन्तव्यको पनि ब्राण्डिङ गर्दै लगिने छ।’ उनले भने। लुम्बिनीको सबै पक्षलाई समेटेर पहिलो पटक ब्रान्डिङ गरिएको यसले अन्य गन्तव्यलाई पनि सोही अनुरुप विकास गर्न नयाँ सोच अगाडि आउने उनले बताए।

यसरी गरिदैँछ ब्राण्डिङ

जापानी वास्तुकलाविद् केञ्जो टाँगेको अर्किटेक्ट, ब्राह्मी लिपि, बर्मिज फन्ट र पवित्र बगैंचालाई सुन्दर ढंगले प्रस्तुत गरी संयोजन लुम्बिनीको ब्राण्डिङ गरिएको छ। जसमा लुम्बिनीको प्राकृतिक सुन्दरता सहित ‘ॐ माने पद्मे हुँ’को गुन्जायमान वातावरण, राजकुमार सिद्धार्थको घुम्रिएको कपाल, सुन्दर प्राचीन सहर र बोधिवृक्षलाई ब्रान्डिङमा संयोजन गरिएको छ ।

यस्तै, लुम्बिनीको टोपीग्राफी नक्सा, प्राकृतिक सुन्दरता, पुष्करणी पोखरी, अशोक स्तम्भ र चराहरू प्राचीन आर्किटेक्ट, वन, वनस्पति, परम्परा र मनोरम वातावरणलाई ‘ब्रान्डिङ’ मा स्थान दिइएको बोर्डले जनाएको छ। बोर्डका अनुसार ब्रान्डिङका काममा भिक्षुणीले लगाउने चिबरका विभिन्न कलरहरू प्रयोग गरिएको छ। ब्रान्डिङपछि त्यहाँबाट प्रकाशन हुने पुस्तक, ब्रोसर, झोला तथा श्रव्य दृष्यका सामग्रीबाट एउटैखाले सन्देश प्रवाह हुने छ।

त्यस्तै कार्ड, पोस्टकार्ड, पोस्टर र ब्यानरका लागि ब्रान्डिङ गरिएको छ । कस्तो रङको लिपि र लोगो प्रयोग गर्ने भनेर पनि उल्लेख गरिनेछ । यहाँ हुने पर्यटन प्रवर्धनका हरेक गतिविधिमा त्यसलाई उपयुक्त हुने गरी ब्रान्डिङका प्रकार तयार गरिएको छ । अद्धि नेचुरल्ली नेपाल भन्ने ब्रान्ड बनाएर समग्र देशको ब्राण्डिङ गरेको थियो। नेपाल जस्तै थाइल्यान्डले एमाइजिङ थाइल्यान्ड, भारतले अतुल्य भारत, मलेसियाले मलेसिया इज टुुर्ली एसिया जस्ता थिमबाट आफ्नो देशको ब्राण्डिङ गर्दै आएइका थिए।

यो पटक नेपालको पर्यटकीय गन्तव्य मध्ये एक लुम्बिनीलाई पनि अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन रङ, नाम, लोगोमा ब्रान्डिङ गरिएको र यसले लुम्बिनीको महत्व प्रचारलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा उजागर गर्न थप मद्धत पुग्ने लुम्बिनी प्रदेश आन्तरिक पर्यटन पुनरोत्थान समिति संयोजक सागर अधिकारीले बताए।

बोर्डका अनुसार काठमाडौंको आर्ट एन्ड डिजाइन कम्पनी कर्प्स एन्ड कलर्सले बुद्धस्थल लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राम पुगेर अध्ययन अनुसन्धान गरी त्यहाँको अवस्था, सुन्दरता, पुरातात्विक एवं ऐतिहासिक वैभवलाई सिर्जनामार्फत उतारेर तयार पारेको ब्रान्डिङलाई बोर्डले त्यसक्षेत्रका सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा सार्वजनिक गरेको हो। बोर्डले कीतिपुर र पोखराको पनि ब्राण्डिङको काम गरिरहको छ। लुम्बिनी नेपालको प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक हो। यहाँ बार्षिक १६ लाखभन्दा बढी स्वदेशी, करिब दुई लाख तेस्रो मुलक र करिब दुई लाख भारतीय पर्यटक आउने गर्दछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *