जो बाइडेनलाई किम जोंग उनकी बहिनीको कडा चेतावनी

डिसी नेपाल
३ चैत २०७७ १७:३६
812
Shares

काठमाडौं। उत्तर कोरियाका शासक किम जोंग उनकी बहिनी किम यो जोंगले अमेरिकाको जो बाइडेन प्रशासनका लागि निकै कडा चेतावनी जारी गरेकी छिन् । किम यो जोंगले अमेरिकाको तर्फबाट दक्षिण कोरियामा भइरहेको सैन्य अभ्यासको आलोचना गर्दै अमेरिकालाई शान्ति चाहेको भए हिंसात्मक व्यवहार नगर्न चेतावनी दिएकी हुन् ।

उत्तर कोरियाको सरकारी मिडिया केसीएनएलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार किम यो जोंगले भनेकी छिन् ‘हामी अमेरिकी प्रशासनलाई चेतावनी दिन चाहन्छौं कि उनीहरु हाम्रो जमिनमा बारुदको गन्ध फैलाउने कोसिस गरिरहेका छन् । यदि उनीहरु ४ वर्षसम्म शान्तिसँग सुत्न चाहन्छन् भने उनीहरुले अस्थिरता फैलाउने कामबाट बच्नुपर्छ ।’ अमेरिकी रक्षामन्त्री र विदेशमन्त्री दक्षिण कोरिया भ्रमणमा आउने बेलामा किम यो जोंगको यस्तो बयान आएको हो ।

किम यो जोंगले दक्षिण कोरियामा भइरहेको संयुक्त सैन्य अभ्यासलाई आक्रमणको तयारी भइरहेको बताएकी छिन् । किम यो जोंग किम जोंग उनकी एक्ली बहिनी हुन् । उनी किम जोंग उनपछि दोस्रो स्थानमा छिन् र उनलाई किम जोंग उनकी उत्तराधिकारी मानिएको छ । यसअघि बाइडेन प्रशासनले उत्तर कोरियासँग छलफल गरेर तनाव कम गर्न पटक पटक सम्पर्क गर्ने प्रयास गरेको भए पनि सफल नभएको बताएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *