सुष्मा विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट

डिसी नेपाल
३ चैत २०७७ २२:०३

काठमाडौं । पोल्याण्डमा आयोजना हुने आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसिपका लागि नेपालबाट सुष्मा तामाङ छनोट भएकी छन् । सातदोबाटोमा आज भएको महिला ४८ किलो तौल समूहको छनोट खेलमा नक्सालकी तामाङले आरडिएसकी रमिसा श्रेष्ठलाई दुईका विरुद्ध तीन अङ्कले पराजित गर्दै विश्व च्याम्पियनसिपका लागि छनोट भएकी हुन् ।

यस्तै महिला ६० किलो तौल समूहमा बक्समाडौँकी डेचेन शेर्पा फाइनलमा प्रवेश गरेकी छन् । उनले सेमिफाइनलमा झापाकी सुस्मिता राईलाई शुन्यका विरुद्ध पाँच अङ्कले पराजित गरेकी छन् । उनले फाइनलमा बुधबार आरडिएस क्लबकी सुमिना खड्कासित प्रतिस्पर्धा गर्ने बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरले जानकारी दिए । खड्का वाई पाएर फाइनलमा प्रवेश गरेकी हुन् ।

छनोट प्रतियोगिता कार्यक्रममा राखेप तालीम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विक, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवाले, सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, ओलम्पियन एवं बक्सिङ प्रशिक्षक डम्मरदत्त भट्ट र दीपक महर्जनलगायतको उपस्थिति रहेको थियो । विश्व बक्सिङ च्याम्पियनसित पोल्याण्डमा आगामी अप्रिल ११ देखि २३ तारिखसम्म सञ्चालन हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *