रियालिटी शोमा दाह्रा देखाउने जज

डिसी नेपाल
६ चैत २०७७ ७:५९

लेखेको कुरा पढ्न पनि ठ्याक्कै मिलाएर सकिन्न। पढेको कुरा बुझ्न पनि ध्यान दिएर सुन्न पर्छ। बुझेको कुरा लागू गर्न त झन् जिब्रोले नाक छुनु जस्तै हो, मतलव कसैकसैले मात्र लागू गर्लान्। अनि गीत गाएर दर्शक स्रोताको मन जितेर भाइरल साइरल हुन कहाँ सजिलो छ र जज महाशय। दर्शक स्रोताले आफ्नो इच्छा र स्वादअनुसारका गीत सुन्लान्।

कसैले आँसु आउने आधुनिक गीत मन पराउलान्, कसैले लोसे खाल्का लोकगीत मन पराउलान्। कसैले सास नै जाने खालका शास्त्रीय गीत सुन्लान, कसैले दोहोलो काड्ने खाले दोहोरी गाउलान्। पप गीत भनेर पुङ न पुछारका गीत पनि सुनिएकै हुन्। यी सबैका आ–आफ्ना बजार र ग्राहक छन्।

नेपालमा हरेक खालका च्याम्पियन हुने क्रममा अहिले दोहोरी च्याम्पियनको नयाँ पसल थापिएको छ। यसले दिने मनोरञ्जन त एकातिर छँदैछ भने अर्कोतिर सृजना गर्न अब्बल पनि हुन जरुरी हुन्छ। गएको इपिसोडलाई हेर्दा जजको सिटमा चार जना अग्रज बसेका होलान, सही बाटो देखाउन बसेका होलान भनेर सहभागीले सोचेका रहेछन्। तर, जज त एकाएक जंगली भएर दाह्रा पो देखाउन थाले।

गीत गाउनु, गीतकै भाकामा ठाउँको ठाउँ उत्तर फर्काउनुको चुनौतीभन्दा पनि यी जज भनौदाका हालत हेर्ने चुनौती पो कडा भएर आयो त।

कुर्सीमा यता हल्लिँदै उता हल्लिँदै कसैको सुरुवाल त कसैको कपाल, कसैको नङ त कसैको अरू तीर हेर्न थाले। बोल्न पाएँ भनेर प्याच्च नबोल्नु, बस्न पाएँ भनेर थ्याच्च नबस्नु भन्ने बुढापाकाको भनाइ नसुनेका उनीहरू (जज पदवी बोकेका जोकरहरु) अचम्मसँग भाइरल साइरल भएका देखेर दंग छु।

सहभागीमध्ये कसैकसैको पहिलोपटक काठमाडौं प्रबेश थियो होला, कसैले पहिलोपटक स्टेज देखेका होलान्, कसैले पहिलोपटक जजको सामु गाएका होलान्। तर शायद सबैले पहिलोपटक त्यस्ता जज देखेका होलान्। उनीहरू (जजहरू) होच्याउनका लागि होड्बाजी गर्छन् , पारा कोच्याउनका लागि बल्जफ्ती गर्छन् ।

जति सहभागीलाई शव्दबाट बारम्वार लात्ती प्रहार गरिन्थ्यो त्यति नै टेलिभिजनमा हेर्ने दर्शक हुन वा अन्य माध्यामबाट हेर्ने दर्शक, जजलाई एकैतालमा तीनताल हुने गरी निस्कासन गर्न मन गर्दथे। सहभागी बरु हाँसेर गाइरहेका तर सुझाव दिन बसेकाहरु रिसले मुर्मुरिएर काला, राता, पिरा भएका थिए र भन्दै थिए— तिम्रो कपालको चुल्ठो बान्ने धागोको रङ मिलेन।

दोहोरी गायन क्षेत्रले सम्मान पाउन नसक्नुको कारण यस्तै जतिपटक धोए पनि दिमागमा भएको मैलो फाल्न नसक्ने बुज्रुकले गर्दा भनेर अनुमान लागाउँन गाह्रो भएन। गीत गाउनु, गीतकै भाकामा ठाउँको ठाउँ उत्तर फर्काउनुको चुनौतीभन्दा पनि यी जज भनौदाका हालत हेर्ने चुनौती पो कडा भएर आयो त । लौ अब भाइरल साइरल भइन्छ कि !




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *