खाटसहित दम्पत्ति अपहरण प्रकरणः चार शंकास्पद पक्राउ, अपहरितको अवस्था अज्ञात

डिसी नेपाल
८ चैत २०७७ १८:५१

काठमाडौं। फागुन १० मा मोहत्तरीको पिपरा गाउँपालिका ५ का मुसाफिर झा र उनकी पत्नी गितादेवी झा सुतेको खाटसहित बेपत्ता भए। प्रहरीले उनीहरुको अपहरण भएको हुन सक्ने अनुमानमा खोजी कार्य शुरु गर्यो। तर, घटनाको करिब एक महिना बितिसक्दा पनि उनीहरुको अवस्थाबारे प्रहरीले कुनै संकेतसम्म पाउन सकेको छैन।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)समेतको अगुवाईमा घटनाको अनुसन्धान भइरहेको छ। यहीबीचमा प्रहरीले महत्वपूर्ण सफलता हाहत पारेको छ। सो घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको छ।

मोहत्तरी प्रहरी प्रमुख एसपी दिनेश आचार्यका अनुसार महोत्तरीको पिपरा गाउँपालिका ५ का ५२ वर्षीय रामबाबु यादव, उनका छोराद्वय २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई सार्वजनिक गरेको छ।

एसपी आचार्यले डिसी नेपालसँग भने, ‘घटनाका मुख्य योजनाकार ठाकुर रहेको हाम्रो अनुसन्धानको निष्कर्ष छ।’ उनले जग्गा किचलो प्रकरणमा यो अपराधिक घटना भएको प्रहरी निष्कर्षमा पुगेको बताए। तर, आइतबार सार्वजनिक गरिएका चारै आरोपीले आरोप भने अस्वीकार गरेका छन्।

एसपी आचार्यले भने, ‘उनीहरुले आरोप स्वीकार गरेको अवस्था छैन। तर, हामीले फेला पारेको प्रमाणले उनीहरुलाई घटनामा संलग्न रहेको पुष्टि हुन्छ। पोलीग्राफ परीक्षणमा पनि चारै जनाको रिपोर्ट नेगेटिभ आएको छ।’

आरोपीहरु पक्राउ परे पनि अपहरित झा दम्पत्तिबारे भने कुनै जानकारी नभएको उनले जानकारी दिए। प्रहरी उनीहरुको खोजीका केन्द्रित रहेको उनको भनाइ छ। घटनास्थलमा रगतसमेत देखिएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *