राष्ट्रपतिको सन्देश बोकेर महिला आयोगकी अध्यक्ष पुगिन् निर्मला पन्तको घर

डिसी नेपाल
८ चैत २०७७ २१:५८

काठमाडौं। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे २ वर्ष भइसकेको छ। तर, अपराधीले सजाय पाएका छैनन्। देश नै हल्लाउने गरी आन्दोलन हुँदा पनि सो अमानवीय घटनाका दोषी अझै पत्ता लागेका छैनन्।

निर्मलाकी आमा दुर्गादेवीको आँखाबाट अहिले आँसु पनि बग्न छाडिसकेको छ। र उनले न्यायको आश भने अझै पनि गरेकी छन्। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश बोकेर राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली कञ्चनपुरस्थित निर्मलाको घर पुगेकी छन्।

महिला आयोगकी अध्यक्ष पराजुलीले राष्ट्रपति भण्डारीको सन्देश दुर्गादेवीलाई सुनाइन्। अध्यक्ष पराजुलीले राष्ट्रपतिको सन्देश भन्दै ‘राष्ट्रपति ज्यूले निर्मलाकी अन्य दुई बहिनीको चिन्ता लिनु भएको छ। निर्मलाका हत्याराले सजाय पाउने छन्, राज्य संयन्त्रले जसरी पनि दोषीलाई कारबाही गर्नेछ’ सुनाएकी थिइन्।

राष्ट्रपतिको सन्देश बोकेर महिला आयोगकी अध्यक्ष नै घरमा पुगेपछि दुर्गादेवीले छोरीका अपराधीले सजाय पाउने आशा पलाएको बताएकी छन्। उनले घटनापछि विभिन्न रुपमा खोल ओढेकाहरुले आफ्नो अभिष्ट पूरा गर्न आफूलाई प्रयोग गरेकोमा समेत पश्चताप गरेको सो क्रममा साथमै रहेकी कमला बोहोराले डिसी नेपाललाई जानकारी दिइन्।

पछिल्ला वर्षहरुमा महिला तथा बालिकामाथि सुदूरपश्चिममा हत्याहिंसाका घटना बढेका छन्। अध्यक्ष पराजुलीले आफ्नो कार्यकालको पहिलो अनुगम भ्रमणका लागि त्यसैले सुदूरपश्चिमलाई रोजेकी छन्। र त्यसको शुरुआत निर्मलाको घरबाट गरेकी छन्।

१३ वर्षीया निर्मलाको २०१८ जुलाई २७ मा बलात्कारपछि हत्या भएको थियो। तर, हालसम्म सो घटनाका दोषी पत्ता लाग्न सकेका छैनन्।

(तस्वीरहरु कमला बोहोराको फेसबुकबाट)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *