विदेश जाने श्रमिकको हातमा नक्कली प्रमाणपत्र थम्याइँदै, नौ संस्था कारवाहीमा

रिता बस्नेत
११ चैत २०७७ ११:५९

काठमाडौं। वैदेशिक रोजगार विभागले पछिल्लो सयम दुई वटा तालिम प्रदायक संस्थालाई कारवाहीको दायरामा ल्याएको छ।

वैदेशिक रोजगारमा जानुभन्दा पहिला अनिवार्य अभिमुखीकरण तालिम लिनैपर्ने व्यवस्थाको उल्लंघन गर्दै श्रमिकको हातमा तालिम बिनाकै प्रमाणपत्र थम्याउने गरेकाले ग्लोबल केरियर्स प्रालि (दर्ता नं.२२) र निशान मल्टिपल ट्रेनिङ (८८) संस्थालाई विभागले कारवाहीको दायरमा ल्याएको हो।

विभागका शाखा अधिकृत मातृका सापकोटाका अनुसार विभागले मंगलबार बिहान थापागाउँस्थित ग्लोबलमा अनुगमन गर्दा अध्ययन कक्षा कोठामा २६ जना प्रशिक्षार्थी हुनुपर्नेमा चार जना मात्र फेला पारेको थियो। उक्त संस्थाले २२ जनाको भने सेटिङमै प्रमाणपत्र दिने देखियो। त्यस्तै, नयाँ बानेश्वरस्थित निशानमा २५ जना प्रशिक्षार्थी हुनुपर्नेमा सात जना अनुपस्थित थिए। थप अनुसन्धानपछि यि दुई संस्थालाई कारवाही गरिने उनले जानकारी गराए।

यसअघि एक्सेस केरियर सोलुसन प्रालि (७२), एलजी मल्टिपल ट्रेनिङ सेन्टर प्रालि (९४), इन्द्रेणी ल्याङग्वेज सेन्टर प्रालि (१०९), ट्रिपल एस ओरेन्टेशन एण्ड ल्याङग्वेज ट्रेनिङ सेन्टर (५८), एमएस ट्रेनिङ नेपाल(९७), टास्क ट्रेनिङ एशोसिएसन प्रालि (४८), साइनिङ मून ट्रेनिङ सेन्टर प्रालि (३५) गरी सातवटा संस्थामा विभागले छापा मारेको थियो। कारवाहीमा परेका यी सातवटै संस्थाको कारोबारलाई विभागले बन्द गरिदिइसकेको छ।

शाखा अधिकृत सापकोटाले भने, ‘दुई दिनभित्रमा नौ वटामा अनुगमन गर्दा सात वटा अवैधानिक क्रियाकलाप गरेको भेटिएको हो। विभागले तिब्र पारेको अनुगमनको डरले अहिले सबैले अर्थात् बदमासी गर्नेहरुसमेतले सजक भएर व्यवसाय गरिएको भेटिएको छ।’

वैदेशिक रोजगारी बोर्डले बनाएको नयाँ पाठ्यक्रम अनुसार कतिपय संस्थाहरुले प्रशिक्षकहरुलाई ‘पुनःताजगी’ तालिम नदिइएको पाइएको छ। त्यस्तै, वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई पूर्व प्रस्थान तालिम दिन बोर्डबाट स्वीकृति लिएका संस्थाहरुले काठमाडौंमा अनुगमन कार्य तिब्र भएपछि उपत्यका बाहिरबाट तालिम लिएको नक्कली प्रमाणपत्र दिन थालेको बुझिएको छ।

विभागले लकडाउनयता तालिम प्रदायक संस्थाहरुप्रति गरेको अनुगमनका क्रममा नौ वटा संस्थामा भने छापा मारिसकेको छ। पछिल्लो समय म्यानपावर कम्पनीको अनुगमनलाई तिब्र पारेको विभागले तालिम प्रदायक संस्थाको अनुगमनलाई पनि तिब्र पारेको हो।

तालिम प्रदायक संस्थाले वैदेशिक रोजगार बोर्डले तोकेको मापदण्डभन्दा बाहिर गएर कक्षा संचालन गर्ने, कक्षा नै संचालन नगरी तालिम लिनेको नाम मात्रै अनलाइनमा इन्ट्री गर्ने जस्ता कार्य गर्दै आएको अनुगमनका क्रममा भेटिएको विभागका शाखा अधिकृत सापकोटाले बताए।

उनका अनुसार अनुगमनको क्रममा कतिपय संस्थाले कार्यालय नै झोलामा राखेर अर्को संस्थाबाट काम गर्दै आएको पनि खुलेको छ।
उनले अनुगमनका क्रममा तालिम दिनका लागि विभागको अनलाइन प्रणालीमा नाम उल्लेख गरेका आधारमा तालिम दिने संस्थामा पुग्दा कुनै कार्यालय बन्द थिए भने कुनै संस्थामा तोकिएको भन्दा कम अर्थात् एकजना पनि अध्ययन कक्षा कोठामा फेला नपरेको बताए।

हालै मात्र वैदेशिक रोजगार बोर्डले पूर्व प्रस्थान अभिमुखिकरणको नयाँ पाठ्यक्रम तयार गरी लागू गरेको छ। तालिम प्रदायक संस्थाले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई दुई दिन अर्थात् १२ घन्टाको तालिम अनिवार्य दिनुपर्ने नियम छ। तर ती संस्थाहरु भने तालिम नै नदिई श्रमिकबाट पैसा असुल्ने र विभागको अनलाइन प्रणालीमा नाम मात्रै उल्लेख गर्ने गरेका छन्।

यसले के देखाउछ भने वैदेशिक रोजागारी जानु अगाडि लिइने पूर्व प्रस्थान अभिमुखीकरण तालिमको नयाँ पाठ्यक्रम आए पनि प्रभावकारी हुन सकेको छैन। म्यानपावर व्यावसायी र तालिम प्रदायक संस्था कै मिलेमतोमा तालिम नलिइ श्रमिकको हातमा तालिमप्राप्त प्रमाणपत्र पुग्ने गरेको छ।

तालिम प्रदायक संगठनभित्रकै आधिकारिक व्यक्तिहरुले नै केही संस्थाहरुले प्रभावकारी रुपमा तालिम नदिएको, संस्थामा अलि बढी व्यथित भएको, कानुनको पालना नगरेको आदि गुनासो गरेपछि विभागले तालिमप्रदायक संस्थाहरुप्रति पनि अनुगमन गरेको विभागका महानिर्देशक कुमार दाहालले जानकारी गराए।

उनले कतिपय संस्थाहरुको तालिम दिने कक्षासमेत नभएको जानकारी गराएका छन्। साथै, उनले विभागले अनुगमन र छापा मार्ने क्रम तिब्र बनाउने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *