वैज्ञानिकलाई आविष्कार र अनुसन्धानतर्फ लाग्न प्रधानमन्त्रीको आग्रह

डिसी नेपाल
२४ चैत २०७७ ६:२०
64
Shares

काठमाडौं। प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका (नास्ट)का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकलाई आविष्कार र अनुसन्धानतर्फ लाग्न आग्रह गरेका छन्।

नास्टको ४४औँ प्राज्ञसभालाई प्रधानमन्त्री निवास वालुवाटारमा सम्बोधन गर्दै उनले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत ध्यानमा राख्दै विज्ञान प्रविधिमा विकास गरिनुपर्ने विचार व्यक्त गरे।

अहिलेसम्म हाम्रो गति उत्साहहीन, सङ्कल्पहीन, गन्तव्य नतोकिएको र अठोट नगरिएको र जे छ त्यसैमा सन्तोष लिने खालको रहेको पनि प्रधानमन्त्रीको भनाइ रहेको छ। “सरकारमा रहनेलाई सरकारमा रहन पाए हुने भयो । पहिले सरकारमा कसरी पुग्ने र पुगे पछि कसरी टिक्ने नीति लिने मात्र काम जस्तो भयो”, उनको भनाइ थियो।

करिब १११ वर्षअघि दक्षिण एसियामा पहिलो पटक जलविद्युत् गृह बनाउने देश अहिले पछाडि परेको भन्दै उनले वैज्ञानिकलाई आफू आविष्कारक पुर्खाको सन्तान भएको नबिर्सन पनि आग्रह गरे।

सभालाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं नास्टका सहकुलपति कृष्णगोपाल श्रेष्ठले नास्टले आगामी दिनमा वैज्ञानिकहरुको वृत्ति विकासमा ध्यान दिने र देशमा वैज्ञानिक अनुसन्धानका लागि सहज वातावरण निर्माण गर्नेतर्फ अघि बढनुपर्ने बताए।

कार्यक्रममा बोल्दै नास्टका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले समृद्धिका लागि नेपाली समाजको दैनिकीसँग जोडिएका प्रविधिको विकास र विस्तारमा नास्ट क्रियाशील रहेको बताए। यस पटक नेपालको पहिलो भू उपग्रह ‘नेपाली स्याट–१’ सँग सम्पर्क स्थापना गर्न प्रतिष्ठानमा नियन्त्रण केन्द्र स्थापना गरिएको जानकारी पनि उनले दिए।

निकट भविष्यमा भवन अनुसन्धान केन्द्र, अन्तरिक्ष अनुसन्धान केन्द्र तथा परम्परागत प्रविधि केन्द्र स्थापना गर्न गृहकार्य अघि बढाइएको जानकारी पनि उनले दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *